MENU

स्वास्थ्य सूचकमा सुधार: बाल स्वास्थ्यमा फड्को

635x90_3

दीपा दाहाल मंगलवार, कात्तिक २८, २०७४ 383 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: नेपालले पछिल्लो दुई दशकमा मानव विकासमा प्रभाव पार्ने स्वास्थ्यका महतवपूर्ण सूचकमा उल्लेखनीय सफलता प्राप्त गरेको छ।
विशेषगरी स्थानीय समुदायको सहयोग र सक्रियतामा बाल तथा मातृ मृत्युदरमा कमी आएको छ भने प्रजननदर र परिवार नियोजनका साधनको प्रयोगदरमा उल्लेखनीय सुधार आएको छ ।

स्वास्थ्य मन्त्रालयले पाँचवर्षे नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ सोमबार सार्वजनिक गर्दै प्राप्त उपलब्धिलाई संरक्षण गर्न भने चुनौती रहेको बताएको छ । मन्त्रालयका नीति तथा कार्यक्रमले एचआईभी÷एड्स र अन्य यौनसम्पर्कबाट सर्ने रोगको रोकथाम, महिला सशक्तीकरण, घरेलु हिंसामा न्यूनीकरण भएको देखाएको छ । नेपालमा पहिलो पटक उच्च रक्तचापसम्बन्धी तथ्यांकसमेत संकलन गरिएको छ ।

बालस्वास्थ्यमा फड्को
सर्वेक्षणअनुसार पाँच वर्षमुनिका बालबालिकाको जीवन लम्बिएको छ । मन्त्रालयका अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहका अनुसार बाल मृत्युदर घट्नु नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हो । तथ्यांकअनुसार सन् १९९६ मा पाँच वर्षमुनिको बाल मृत्युदरप्रति एक हजार जीवित जन्म ११८ रहेकोमा हाल त्यो संख्या तीन गुणाले घटेर ३९ मा पुगेको छ । त्यो बेलाको प्रति एक हजार जीवित जन्ममा ७८ जना शिशुको मृत्यु हुने गरेकामा हाल आधाभन्दा बढी घटेर ३२ मा पुगेको छ ।

खोप सेवा विस्तार, झाडापखाला, निमोनियाको रोकथामलगायत कारण बालमृत्युदर घटेको सर्वेक्षणले देखाएको छ । सरकारी संस्थाबाट निःशुल्क उपलब्ध हुने आठ प्रकारका खोप (पूर्ण खोप) को पहुँचमा १२ देखि २३ महिनासम्मका तीन चौथाइभन्दा बढी ७८ प्रतिशत बालबालिका पुगेका छन् ।

मातृ मृत्युदर
गर्भवती सेवाको विस्तार, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिनेको संख्यामा आएको वृद्धिलगायत कारण मुलुकमा मातृ मृत्युदर घट्दै गएको तथ्यांक छ । ७ वर्षको अवधिमा नेपालमा प्रति एक लाख जीवित जन्ममा २३९ मातृमृत्यु भएको पाइएको छ । ५८ प्रतिशत बच्चा चिकित्सकको सहयोगमा दक्ष प्रसूतिकर्मीबाट जन्मिने गरेका छन् । सन् १९९६ मा स्वास्थ्य संस्थामा बच्चा जन्माउने ८ प्रतिशत मात्रै थिए भने हाल त्यो संख्या बढेर ५७ प्रतिशत पुगेको छ ।

प्रजननदर
सन् १९९६ देखि मुलुकमा प्रजननदर पनि घट्दै गएको छ । हाल एउटा महिलाले औसतमा दुई दशमलव तीन बच्चा जन्माउँछन् । त्यतिबेला प्रतिमहिलाले ४ दशमलव ६ बच्चा जन्माउने गरेका थिए । बसोवास गर्ने ठाउँ र प्रदेशअनुसार प्रजननदरमा भिन्नता छ । ग्रामीण क्षेत्रमा एउटा महिलाले औसत २ दशमलव ९ बच्चा जन्माउँछन् भने सहरी क्षेत्रका महिलाले २ दशमलव शून्य बच्चा जन्माउँछन् ।

परिवार नियोजन
तथ्यांकअनुसार १५ प्रतिशत विवाहित महिलाले कम्तीमा २ वर्ष ढिलो गरी बच्चा जन्माउन चाहन्छन् वा २ वर्षको अन्तरालमा अर्को बच्चा जन्माउन चाहन्छन् । त्यसका अतिरिक्त ६१ प्रतिशत महिला हाल भएका बच्चाबाहेक अरू बच्च जन्माउन चाहन्नन् । विवाहित महिलामध्ये परिवार नियोजनको साधनको माग ७६ प्रतिशत छ भने ५६ प्रतिशत विवाहित महिला परिवार नियोजनको कुनै न कुनै साधन प्रयोग गर्छन् ।

पोषण
दुई दशकअघि आधाभन्दा धेरै (५७ प्र्रतिशत) बालबालिका ख्याउटे थिए भने हाल आएर ख्याउटे हुनेको प्रतिशत ३६ मा झरेको छ । ख्याउटेपनलाई चिकित्सकले दीर्घकालीन कुपोषणको लक्षण भएको बताउने गरेका छन् । पाँच वर्षमुनिका एकतिहाइभन्दा बढी ३६ प्रतिशत बालबालिकामा पुड्कोपन वा उमेरअनुसार उचाइ नपुगी पुड्को भएको पाइएको छ । सहरी क्षेत्रमा ३२ प्रतिशत पुड्कोपन छ भने ग्रामीण क्षेत्रमा ४० प्रतिशत रहेको छ ।

गर्भपतन
नेपालमा गर्भपतनलाई कानुनी रूपमा मान्यता छ भन्नेबारे १० मा चार महिलाई मात्र थाहा छ । तीमध्ये २९ प्रतिशत महिलाले बलात्कार वा सामाजिक मान्यताभन्दा फरक तरिकाले गर्भधारण भएको १८ हप्तासम्मको गर्भलाई गर्भपतन गर्ने मान्यता छ भन्ने जानकारी भएको बताएका छन् । सर्वेक्षणभन्दा अघिको पाँच वर्षभित्र गर्भवती भएका सबै महिलामध्ये ८१ ले जीवित जन्म दिएको, ९ प्रतिशतको गर्भ खेर गएको, ९ प्रतिशतले गर्भपतन गराएको र १ प्रतिशतले मृत बच्चा जन्माएका थिए।

उच्च रक्तचाप
नेपालमा पहिलो पटक १५ वर्ष र सोभन्दा बढी उमेरका पुरुष तथा महिला दुवैको रक्तचाप मापन गरिएको थियो । मापनका क्रममा १७ प्रतिशत महिला र २३ पुरुषमा उच्च रक्तचाप भएको पाइएको छ । उच्च रक्तचापले स्ट्रोक तथा मुटुरोगको समस्या निम्त्याउने गर्छ । यस्तै, एचआईभी÷एड्स रोकथामसम्बन्धी ज्ञान विस्तार हुनुका साथै यसबाट संक्रमित हुनेको संख्या पनि घट्दै गएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2