MENU

एटीएमबाट डाटा चोर्ने बुल्गेरियाली पक्राउ

अन्नपूर्ण मंगलवार, कात्तिक २८, २०७४ 1774 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: प्रहरीले काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट डाटा चोरी गरेको अभियोगमा बुल्गेरियाली नागरिक भिटालिय भासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । नेकिटले नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आएएमई बैंक, सानिमा बैंक र नबिल बैंकका एटीएम बुथबाट एटीएम कार्डको डाटा चोरी गरेको दाबी प्रहरीको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेकिटले स्किमर मेसिनमार्फत एटीएम कार्डको डाटा चोरी गर्दै आएका थिए । बैंकले सीआईबीलाई केही डाटा चोरी भएको विषयमा उजुरी दिएपछि प्रहरीले नेकिटको खोजी गरेको थियो । सीआईबीको टोलीले न्युरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटीलगायत क्षेत्रमा राखिएका एटीएम बुथमा निगरानी राख्दा उनी ठमेलस्थित होटल डिस्कभरीमा बसेको जानकारी पाएपछि पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार नेकिटले हाल रकम निकालेका केही स्लिप फेला परे पनि उनले बुथबाट एटीएमको डाटा चोरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले नेकिटबाट विभिन्न बैंकका १८ वटा एटिएम कार्ड, विद्युतीय उपकरण खोल्न प्रयोग हुने पाँच वटा औजारलगायत सामग्री बरामद गरेको छ । नेकिट कात्तिक १४ गते नेपाल आएको उनको पासपोर्टबाट देखिन्छ ।

सीआईबीले हालसम्म ४ जना रोमानियाली, टर्कीका ४ जना, ४ जना बुल्गेरियाली, ४ जना मोल्दोभियाली र २ जना भारतीय गरी १८ जना विदेशी नागरिक पक्राउ गरेको छ । उनीहरूबाट ८८ लाख ६८ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७३ हजार ५ सय ८० अमेरिकी डलर, ६४ हजार १ सय ७५ युरो र विभिन्न बैंकका १ हजार ३ सय २६ वटा एटीएम कार्डका साथै उपकरण बरामद गरेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2