MENU

नेताले भुलेको मर्चवार

लक्ष्मण पोखरेल मंगलवार, कात्तिक २८, २०७४ 506 पटक पढिएको

Share This

635-X-85_1

बुटवल: हरेक निर्वाचनमा दलहरूको नारामा समेटिने मुख्य क्षेत्र हो, रूपन्देहीको मर्चवार । यो बीचमा मर्चवारवासीले भोट हाल्ने निर्वाचन चिह्न अनेकौं फेरिए तर मर्चवार फेरिएन । स्थानीयलाई अभावले उस्तै गरी सताएकै छ ।

मर्चवारका गाउँमा अहिले पनि औषधिको नाममा सिटामोलसम्म पाइँदैन । बिरामी भई छटपटिँदा भैरहवा आउनुको विकल्प छैन । गाउँका स्वास्थ्य चौकीमा चिकित्सक छैनन् न छ औषधि नै । ‘जेसुकै बिरामी भए पनि सिटामोल खानुको विकल्पय छैन', ७३ वर्षीय दहित मुराउले भने', सिटामोल पाउन पनि चार–पाँच किलोमिटर टाढा पुग्नुपर्छ ।'

अहिले निर्वाचन लागेसँगै मर्चवारमा पार्टीका झन्डा फरफराउन थालेका छन् । विद्युत्का पोल, रूखका हाँगाहरूमा उम्मेदवारका बोर्ड झुन्डिएका छन् । नेताहरू गाडीमा झन्डा फरफराउँदै ओहोरदोहोर गर्छन् । तर, नेताहरूसँग स्थानीयवासी सरोकार राख्दैनन् । चिन्ता छ त औषधि, खानेपानी, खेती, मल र बीउको ।

‘खेती गर्न पाए, औषधि गर्न सके त मरिँदैन नि !', मायादेवी गाउँपालिका गुड्वाका ७० वर्षीय सुदामा धवलले आक्रोशित मुद्रामा भने, ‘नेतालाई जिताएर के गर्ने ? , सधैं उनीहरू नै खान्छन्, गरिबलाई केही छैन ।'

मर्चवार क्षेत्रका ‘चिफ साब' अर्थात् पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ल पाँचौं पटक चुनावी मैदानमा छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनलाई ०५१ र ०७० मा मतदाताले जिताएर पठाएका थिए । पटक–पटक निर्वाचन चिह्न परिवर्तन गरेर चुनावी मैदानमा आएका शुक्ल अहिले छाता चिह्नमा भोट मागिरहेका छन् । उनले ०४८ र ०५१ मा हलो, ०६४ र ०७० मा जोडी बयलमा भोट मागेका थिए । ‘मर्चवारको विकास नै मेरो मुख्य एजेन्डा हो', उनले भने ।

सोही क्षेत्रमा राजपा छाडेका ओमप्रकाश यादव ‘गुल्जारी' एमालेबाट चुनावी मैदानमा छन् । ‘मधेसवादी दलहरूले मर्चवारको विकासमा काम गर्न सकेनन्, मैले यस क्षेत्रका आमूल परिवर्तन गर्नेछु', उनको दाबी छ । ०६४ सालमा भैरहवा क्षेत्रबाट निर्वाचित उनी राज्यमन्त्री बनेका थिए । कांग्रेसका प्रमोद यादव पनि चुनावी मैदानमा छन् । उनी नयाँ उम्मेदवार हुन् ।

तीनै उम्मेदवारको एजेन्डा मर्चवारको विकास गर्ने रहे पनि मतदाता विश्वस्त छैनन् । मायादेवी हर्नापुरका ६६ वर्षीय टिर्रे हरिजनले भने, ‘नेता मिलेर खाए, गरिब जनतालाई केही दिएनन् ।'

झन्डै ४० वर्षअघि भैरहवा–लुम्बिनी सडक बनाउँदा मजदुरी गरेका हरिजनको परिवार मजदुरीले नै पालिएको छ । ‘चार कट्ठा खेत त छ, मल बीउ भए तरकारी फल्थ्यो, हामी गरिबले कहाँ पाउनु ? ', उनले निराश हँुदै भने ।

सीमा क्षेत्रका बासिन्दा भारतबाट सामान ल्याएर बिक्री गर्दै गुजारा चलाउँछन् । अन्नभण्डार भए पनि मर्चवारले कहिल्यै सरकारी सुविधाको प्रविधि, मल, बीउ पाएन । परम्परागत खेतीबाट उब्जनी बढ्न सकेको छैन । पछिल्लो समय सिँचाइको अभावमा छ, मर्चवार । कहिले सीके राउतको झन्डा, कहिले मधेस आन्दोलनका नाममा मधेसी दलको झन्डा बोक्नु सिवाय उनीहरूले नयाँ अवसर पाएकै छैनन् ।

युवामा पनि नेताप्रति भरोसा देखिएको छैन । भैरहवामा स्नातक तह पढ्दै गरेका सेमरीका २२ वर्षीय रमेश भुजले भने, ‘भोट दिएर के हुन्छ ? पढेकालाई कसैले जागिर दिन सक्दैनन् ।' पहिलो पटक भोट दिने अवसर पाएका उनी निर्वाचनप्रति उत्साहित छैन् ।

अन्योलबीच मधेसमा स्थानीय तह निर्वाचन भएको थियो । धेरै मतदाताले भोट नै खसालेनन् । ‘भोट माग्नेले कम्तीमा धुलो नउड्ने सडक, स्वास्थ्य चौकी र विद्यालय बनाइदिए हुन्थ्यो', मझगावाकी उर्मिला लोधले भनिन् । उनलाई छोराछोरीले राम्रो शिक्षा नपाएकोमा चिन्ता रहेछ । उनका अनुसार मर्चवारका सरकारी विद्यालयको अवस्था नाजुक छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2