MENU

दुई शिशु साटिएको भन्दै खैलाबैला

क्रान्ति शाह मंगलवार, कात्तिक २८, २०७४ 2353 पटक पढिएको

Share This

635-X-85_1

वीरगन्ज: २५ कात्तिाकमा सर्लाहीको बलरा नगरपालिका –११ का राममनोजप्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहा नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भइन् । बिहान साढे नौ बजेतिर कामीनी देवीले शिशु जन्माइन। नर्सले छोरा जन्मिएको खबर सुनाए ।

खुशीले रमाएका राममनोजले मिठाइ किनेर आफन्त र नर्सहरुलाई बाँडे । तर, मिठाइ बाँडेको केहि क्षण बित्न नपाउदै नर्सले जन्मिएको शिशु छोरा नभइ छोरी भएको जानकारी दिएपछि उनको खुशी पलभरमै गायब भयो ।

उनले भने ,‘ पत्नी र शिशुलाइ प्रसुती वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सहरुले छोरी जन्मिएको बताएपछि मेरो त होसहवास नै उड्यो । बच्चा साटियो भनेर मैले त्यहि बेला मैले होहल्ला पनि गरे तर मेरो कुरा कसैले सुनेनन् ।'

अघिल्लो दिन शिशु साटिएको चर्चा सेलाउन नपाउँदै २६ कात्तिाकमा सोही अस्पतालमा वीरगन्ज –१ बजार छपकैया निवासी अनिल पासवानकी पत्नी उषादेवी बाराको जितपुरस्थित माइतीघरबाट नारायणी अस्पतालमा पुर्‍याउने क्रममा घण्टाघर चोकबाट ई–रिक्सामै शीशुलाइ जन्म दिइन् । उषाकी आमा जयगनीया देवीले भनिन्, ‘अस्पतालको गेटमा पुग्ने बित्तिाकै नर्सहरुले बच्चालाई लिएर वार्डतिर गए । म पुर्जी काट्न गए । ई–रिक्सामा सघाउन आएका चार पाँच जना महिलाले छोरा जन्मिएको बताएका थिए । नर्सले भने छोरी जन्मेको बताए ।'

यो अस्पतालमा दुई दिनमा दुई वटा शिशु साटिएको भन्दै आफन्तले खैलाबैला मचाए। शिशु साटिएको बताउने राममनोजले त आइतवार नै जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी नै दिए। उनले शिशुको डिएनए परीक्षण माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन गर्न आइतवार नै नारायणी अस्पताललाई पत्राचार गरेको छ। अस्पतालका मेसु डा. इमामुल भने शिशु नसाटिएको दाबी गरिरहेका छन् । उनले भने ‘डाक्टर र नर्ससँग कुरा गर्दा शिशु साटिएको भन्ने कुरा पुष्टि भएन। मंगलवार शिशुकी बाआमा दुबैसँग कुरा गर्छु।'

जयगनीया देवीले भने आइतवार बेलुकी प्रसूती वार्डमै अस्पतालका मेसु डाक्टर इमामुल, प्रहरी र शीशुका अभिभावकबीच भएको छलफलमा शिशु छोरा नभइ छोरी भएको कुरामा सहमति जनाएकी थिइन् । तर, अन्नपूर्ण पोस्ट्सँगको भेटमा भने बच्चा साटिएको नै दाबी गर्दै भनिन्, ‘अब जे हुनु भइ गयो । तर मेरो मन भने मानिरहेको छैन्।'

शिशु साटेको आरोप लागेपछि अस्पतालका नर्स, डाक्टर लगायतका स्वास्थ्यकर्मीहरु तनावमा काम गर्न बाध्य भएको अस्पतालले जनाएको छ । मेसु डा. इमामुल भन्छन्, ‘अरु महिला सुत्केरीका लागि आउदा पनि फेरि त्यस्तै आरोप लाग्छ किन भनेर कोहि पनि नर्स अगाडि सर्न मानिरहेका छैनन् । तै पनि मैले सम्झाइ बुझाइ गरेर काममा खटाइरहेको छु ।'

नारायणी उपक्षेत्रीय अस्पतालबाटै गत माघ २१ गते एक नवजात शीशु चोरी भएको थियो । चोरी भएको उक्त शीशुलाइ तीन दिनपछि प्रहरीले पर्साको बेल्वा मिलनटोलबाट फेला परेको थियो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2