MENU

प्रेक्षालयमा प्याजी ‘झ्यालिन्चा'

635x90_3

दीपक सापकोटा मंगलवार, कात्तिक २८, २०७४ 2426 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं: ‘केही दिनदेखि प्रत्येक सूर्यास्तको बेला पानी पर्न थालेको थियो । कहिले सिमसिम । सिमसिम । कहिले रिमझिम । रिमझिम ।' कात्तिकको अन्तिमतिर नाटकघरमा हरेक दिन ‘मंसिर' महिना र ‘सिल्भर क्लाउड्स' को चर्चा भइरहेको छ । मंसिरको पूर्वसन्ध्यामा नाट्यघरमा साधनारत नाट्यशिल्पीहरू मंसिरकै सेटिङबारे चर्चा गर्छन् ।

मंसिरमा हरेक दिन साँझपख पानी दर्कन्छ र सूर्यास्तको छेको पारी काठमान्डुमा करिब पौने घन्टा बर्सात् हुन्छ । ‘ठन्डी महिनासित सिल्भर क्लाउड्सको कस्तो खालको दुस्मनी थियो यसै केही भन्न सकिन्नथियो', न्यारेटर भन्छ, ‘सहरका प्रमुख आर्ट-अड्डाहरूमा एकसरो इन्द्रेणी सर्लक्क झुल्किन्थ्यो । नाट्यगृह, कला संग्रहालय तथा संगीत आ श्रमका मूलगेटमा सजिएका मिनियचर-इन्द्रेणी स्वागतद्वारझैं लाग्थे, जसलाई कला पारखीहरू आफ्नै घाँटीमा झुन्डिएको वरमालाझैं ठान्थे ।'

काठमान्डुबाट झ्यालिन्चा लोप भइसक्न लागे पनि राजधानीको प्रेक्षालयमा एक घन्टासम्म ‘झ्यालिन्चा' उडिरहन्छ । एउटा इन्द्रेणी साँझ ‘झ्यालिन्चा' उपन्यासको रचनाबारे बोल्न किताबका लेखक हासबिरा (हामी सबैका बिलभ्ड राइटर) स्टेजमा उपस्थित छन् । नाटक हेरिरहेका दर्शकलाई के अनुभूत हुन्छ, भने उनीहरू लेखकको सम्बोधन- श्रवण गर्न त्यसरी उत्साहका साथ मण्डला थिएटरमा भेला भएका छन् । मौसमको चर्चा र कथाअनुसार, नाटक हेरिरहेका दर्शकले बर्सादी ओढेर हासबिराको प्रवचन सुनिरहेका छन् । र, दर्शकले शरीरबाट बर्सादी नखोलीकनै आसनग्रहण गरेका छन् ।

हासबिराको नयाँ उपन्यास ‘झ्यालिन्चा' सहरका किताब-पसलमा भर्खरैमात्र आइपुगेको छ । हासबिरा भन्छन्, ‘तर, उपन्यास पढिहाल्ने तपाईंको तात्कालिक मूड भने कतै घुम्न गएको थियो । तसर्थ उक्त भर्जिन किताब तपाईंको सिरानीछेवैको कफी टेबलमा प्रियसीको फ्रेस डेडबडीझैं लम्पसार ढलेको थियो ।...सग्लो किताब सङ्लो मनले पढ्नुपर्छ । तपाईं यस्तै ठान्नुहुन्थ्यो ।'

कुनै पनि कुर्सी खाली नरहेको प्रवचन-कक्षमा हासबिरा सिग्रेट सल्काएर एस्ट्रेमा धुलो खसाल्दै कालो ड्रेसमा ‘झ्यालिन्चा' रचनाबारे लामो प्रवचन दिन्छन् । लगत्तै चुरोटलाई एस्ट्रेमा किचिमिची पार्छन् । कसैलाई पनि औपचारिक अभिवादन नगरी उनी एकनासले, आफ्नै अन्दाजमा बोल्न थाल्छन् । मानौं, उनी अभिनय होइन, मात्र व्याख्या गरिरहेका छन् । उनको आवाजमा नमीठो बिरानोपन हुन्छ ।

उनी किताब लेखनताका कस्तोखाले मनोदशाबाट गुज्रिएका थिए ? किताब लेखिरहेका बखत कस्ताकस्ता घटना उनले देखिरहेका थिए ? कथावाचनको प्लट उनको मस्तिष्कभित्र कसरी जन्मियो र उनको मानसिक अवस्था कस्तो रह्यो भन्नेबारे हासबिराले प्रवचन दिइरहेका छन् । उनको किताब-रचनामाथिको प्रवचन नै नाटकको मूल-कन्टेन्ट हो ।

हासबिरा बेलाबेला सुस्केरा हाल्छन्, उत्तेजित हुन्छन्, केही सम्झेझैं गर्छन्, दुःखी बन्छन्, चर्को आवाजमा हा“स्छन्, कुनैबेला निन्याउरो बन्छन् र कुनैबेला मौन भएर ध्यान-मुद्रामा बस्छन् । अन्त्यमा नाटकले राजनीतिक मोड लिन्छ । नाटक सकिएपछि ‘जनयुद्ध'का बेला मानिसले भोगेका दुःख, उनीहरूका विभिन्न मुद्रा, उनीहरूका आश्चर्य पढ्न सकिन्छ- प्रेक्षालयमा । लाग्छ, नाटकले तीव्र रूपले विभिन्न बिम्बहरूको खोजी गरेको छ ।

अन्नपूर्ण पोस्ट्को शनिबारीय परिशिष्टांक ‘फुर्सद'मा प्रकाशित कुमार नगरकोटीको कथा ‘झ्यालिन्चा'मा आधारित नाटकलाई दयाहाङ राईले निर्देशन गरेका हुन् । कात्तिक २१ देखि मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकले कुनै दुर्गमकी ग्राम-बाला कसरी लालसेना र नेपाल सेनाको दोहोरो चेपुवामा परिन् र उनको इहलीला समाप्त भयो भन्ने कथा भन्छ । कथावाचन शैलीमा मञ्चन भएको नाटकमा ‘झ्यालिन्चा'का लेखक हासबिरा जीवन्त-भावमा सरकारी सेनाको बलात्कारबाट मृत्यु भएकी युवती (जो बेपत्ताको राष्ट्रिय—सूचीमा पनि छैन) को ‘मृत-आत्मा' कसरी ‘झ्यालिन्चा' बनेर सहरभरि उडिरहेको छ भन्नेबारे व्याख्या गर्छन् ।

‘झ्यालिन्चा' भन्छे, ‘चञ्चल केटी थिएँ । हेर्दाहेर्दै मञ्चल युवती भएँ । फ्रक लगाएर डुलिहिँड्थेँ, फर्‍याकफुरुक गर्थें । तर बैंसले गुन्यू, चोलो मागेपछि जवान भएँ । र, यहीबेला देशमा युद्ध सुरु भयो । साथी-संगिनीहरू बन्दुक बोकी जंगल पसे । चक र डस्टर बोकी मचाहिँ पाठशाला पसेँ ।'
‘जनयुद्ध'मा लालसेनाहरूलाई भात खुवाएको आरोपमा ‘झ्यालिन्चा'लाई सरकारी सेनाले ‘अपराधी' भन्दै अपहरण गर्छ । तर, झ्यालिन्चाकी आमालाई विश्वास छ- उनकी छोरी झ्यालिन्चा बनी उडेर कतै सुदूरमा पुगेकी छे र एकदिन पक्कै फर्केर आउने छे ।

झ्यालिन्चा भन्छे, ‘युद्धले मजस्ता कति झ्यालिन्चाहरू नष्ट गर्‍यो, मलाई थाहा छैन । म त माटोमुनि गाडिएकी छु । पुरिएकी छु । र, ऐँसेलुको झ्याङमा मेरो हंश अल्झिएको छ । त्यही झ्याङ्छेवै कसैले खनेर, खोतलेर हेरेको खण्डमा मेरो नलीहाड, खप्पर र कंकाल अझै भेटिइने छ ।'

उपन्यासको अन्त्यतिर आफ्नै बगैंचामा हासबिराले पालेको छेपारोले प्याजी झ्यालिन्चालाई खाइदिन्छ । लेखक हासबिराले त्यस छेपारो ठमेलको कुनै व्यस्त ट्याटु हाउसबाट किनेर ल्याएका थिए । र, हासबिरा भन्छन्, ‘बगैंचामा छेपारो पाल्नु मेरो सोख हो ।' छेपारोले आफूलाई उहिल्यै खाइसकेको बताउँदा ‘झ्यालिन्चा'को आत्मा उडेर कतै पुगिसकेको हुन्छ ।

लभभग ५० मिनेटको नाटकमा विजय बराल (हासबिरा) र रञ्जना ओली (झ्यालिन्चा)ले अभिनय गरेका छन् । नाटकमा अनुपम शर्माले प्रत्यक्ष संगीत दिएका छन् । किरण चाम्लिङले गीत संयोजन गरेका छन् । नाटकको मञ्च निर्माण र प्रकाश व्यवस्थापन भने रोहित पौडेल र अनुप न्यौपानेले गरेका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2