MENU

महाकाली तटबन्धको काममा भारतीय पक्ष बाधक

सुन्दरसिंह धामी मंगलवार, कात्तिक २८, २०७४ 286 पटक पढिएको

Share This

635-X-85_1

दार्चुला : महाकाली नदीमा निर्माणाधीन तटबन्ध भारतीय पक्षका कारण प्रभावित भएको छ । २०७० को विनासकारी बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगा खुम्च्याएपछि महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माण गर्न लागिएको महाकाली तटबन्धको करिब ६५ प्रतिशत काम सम्पन्न भएको छ । तटबन्धको काम तिब्र रुपमा गर्ने भनिएता पनि भारतले खोतिला पहिरो हटाउन आनाकानी गर्दा आयोजना निर्माणको काम सुस्त भएको छ ।

विभिन्न प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको ९ र १२ नम्बर प्याकेज आव ०७३–०७४ मा सम्पन्न भएको आयोजना प्रमुख सुशीलचन्द देवकोटाले बताए । वर्षातको समयमा सुस्ताएको महाकाली तटबन्धको काम हाल प्याकेज नम्बर ८ वाहेक अन्य प्याकेजमा काम भइरहेको छ। १२ वटा प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको काम चालु आवमा ३ प्याकेजमा काम गर्ने गरी थप गरिएको छ । जौलजीविको तल एउटा प्याकेज र जौलजीविमाथि अर्को प्याकेज र रिङनतालमा एउटा प्याकेज गरी ३ वटा प्याकेज थप गरिएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।

प्याकेज नम्बर १ देखि ६ सम्म चालु आर्थिक वर्षको पुस मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । त्यस्तै प्याकेज नम्बर ७ र ८ को केही काम बाँकी रहेकाले चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो ।

प्याकेज नम्बर १० मा भने बिभिन्न समस्याले गर्दा निर्माण कार्य प्रभावकारी हुन नसकेको आयोजना प्रमुख देवकोटाले बताए । भारतको खोतिला पहिरोको कारण प्याकेज नम्बर १० मा निर्माण गरिएको तटबन्धको स्टर्ड (नदीको बेग छेक्ने ब्लक) समेत निर्माण गर्न नसकिएको उनको भनाइ छ । स्थानीयहरुले भित्तो काट्न नदिएपछि ८ मिटर चौडाईमा निर्माण गर्नुपर्ने पर्खाल जग ५ मिटर मात्रै उठाइएको छ । खोतिला पहिरो हटाउन भारतसँग पटक पटक आग्रह गरे पनि वास्ता गरेन, जिल्लाका सरोकारवाला निकायहरु सित पनि गुहार गर्दा केहि सुनवाई नभई अहिलेसम्म पहिरो नहटाउँदा समस्या भएको नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देबकोटाले जानकारी दिए ।
प्रथम चौमासिकमै ७ करोड खर्च

महकाली नदी नियन्त्रण आयोजनाले तटबन्ध निर्माणका लागि चालु आर्थिक वर्षको पहिलो चौमासिकमै करिब ७ करोड रुपैयाँ खर्च गरेको छ । साथै असार महिनादेखि वर्षातको बेला ढलान गर्न नसकिने भन्दै सुपरभाइजरहरु हटाएका थियो भने तटबन्ध निर्माणको काम पनि सुस्ताएको थियो । दशंैतिहार पछि तटबन्ध निर्माण कार्यले गति लिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा धेरै काम नभए पनि ७ करोड जति खर्च भएको आयोजना प्रमुख देवकोटाले बताए । आर्थिक वर्ष ०७१ र ७२ बाट नदी नियन्त्रण आयोजनाले सञ्चालन गरेको तटबन्ध निर्माण गर्दा हालसम्म झन्डै १ अर्ब ३५ करोड खर्च गरिएको छ ।

आर्थिक वर्ष २०७३ र ०७४ सम्म १ अर्ब २८ करोड र चालु आर्थिक वर्षको हालसम्म झण्डै ७ करोड खर्च गरिएको नदी नियन्त्रण आयोजना प्रमुख देवकोटाले जानकारी दिए । आयोजनाले झन्डै ३ अर्ब ५ करोड लागतमा महाकाली तटबन्ध निर्माण गर्ने सम्झौता गरेको पनि नदिनियन्त्रण आयोजनाका प्रमुख सुशील चन्द्र देवकोटाले जानकारी दिनु भयो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2