MENU

सार्क आर्थिक शिखर सम्मेलन : व्यापार सहजीकरणमा सहकार्य आवश्यक

अन्नपूर्ण बुधवार, कात्तिक २९, २०७४ 405 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्क मुलुकबीच व्यापार सहजीकरणमा अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताएका छन्। दक्षिण एसियाली मुलुकको आर्थिक सम्बन्धमा पारवाहन र गैरभन्सार अवरोध मुख्य समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्। सार्क मुलुकबीच अन्तरदेशीय व्यापार प्रवद्र्धनमा सबैले सहजीकरण गर्नुपर्ने उनको जोड छ।

राजधानीमा मंगलबारदेखि सुरु भएको दसौं एसियाली आर्थिक शिखर सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री कार्कीले सार्क मुलुकमा विकासको प्रशस्त सम्भवना रहेको बताएका छन्। ‘सार्क मुलुकको गरिवी न्यूनीकरण र आर्थिक विकासमा आपसी सहकार्य आवश्यक छ', उनले भने, ‘सार्क मुलुकमा जल, स्थल र हवाई पारवाहन सम्बन्ध तथा गैरभन्सार अवरोधले आर्थिक सम्बन्ध फलदायी हुन सकेको छैन।' आगामी दिनमा सार्क मुलुक विश्वकै आर्थिक शक्तिकेन्द्र बनाउनुपर्ने उनको जोड छ।

वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले दक्षिण एसियाली मुलुकलाई गरिबीको चक्रबाट बाहिर ल्याउन अन्तरदेशीय साझेदारी आवश्यक रहेको बताए। सार्क मुलुकबीच क्रस बोर्डर पारवाहन समस्या समाधान गरेर अन्तरदेशीय व्यापारमा सहजीकरण गर्नुपर्ने उनको जोड छ। सार्क मुलुकमा प्रचुर सम्भवना रहेका कृषि, व्यापार, पर्यटन, हाइड्रो, सूचना प्रविधि लगायतबाट फाइदा उठाउनुपर्ने उनले बताए।

भुटानका अर्थमन्त्री ल्योन्पो लिकी दोर्जेले नेपाल र भुटानमा जलविद्युत्को प्रचुर सम्भवना रहेको औंल्याउँदै सहकार्य गरेर उर्जा विकासमा लाग्नुपर्ने बताए। उनले पनि सार्क मुलुकमा गैरभन्सार अवरोध मुख्य समस्याका रुपमा रहेको बताउँदै सबै मुलुक जिम्मेवार बनेर विकासको ढोका खोल्नुपर्नेमा जोड दिए। दक्षिण एसियाली मुलुकको कमजोर पूर्वाधारकै कारण विकासमा पछाडि परेको उनले बताए। ‘सहज कनेक्टीभिटी, पूर्वाधार विकास, ऊर्जाको विकास, पर्यटन विकास गर्न सकेमा सार्क मुलुक समृद्धिको खुड्किला चढ्छन्', उनले भने।

माल्दिभ्सका आर्थिक विकासमन्त्री अब्दुल लथिप महामदले सार्क मुलुकले पर्यटन प्रवद्र्धन गरेर ठूलो आर्थिक लाभ लिनुपर्नेमा जोड दिए। दक्षिण एसियालाई विश्वकै पर्यटकीय हब बनाउन सबै मुलुक जुट्नुपर्ने उनको भनाइ छ। उनले सार्क मुलुकमा विदेशी लगानी भित्र्याउनु पर्नेमा पनि जोड दिएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले सार्क मुलुकबीचकै समस्याका कारण अन्तरदेशीय व्यापार घटेको बताए। ‘सार्क मुलुकको समृद्धिका लागि लगानीमैत्री वातावरण बनाएर ठूलो लगानी परिचालन गर्नुपर्छ', उनले भने। साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) नेपालका अध्यक्ष डा.पोषराज पाण्डेले दक्षिण एसियाली मुलुकबीच व्यापारमा देखिएका समस्या पहिल्याएर व्यापार प्रवद्र्धनमा लाग्नुपर्ने बताए।

राजधानीको हायात होटलमा सुरु भएको सम्मेलन कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनको मुल उद्देश्य दक्षिण एसियामा समावेशी तथा दिगो विकासका निम्ती आर्थिक एकीकरणलाई बलियो बनाउने रहेको छ। राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र साउथ एसिया वाच एन्ड टे«ड, इकोनोमी एन्ड इन्भाइरोमेन्ट (सावती)ले संयुक्त रूपमा सम्मेलन आयोजना गरेका हुन्।

सम्मेलनमा सर्क राष्ट्रका वाणिज्य मन्त्री, योजनाविद्, आर्थिक क्षेत्रसँग सम्बद्ध विज्ञ, थिंक ट्यांक, सार्क राष्ट्रका उच्च पदस्थ सरकारी अधिकारीसहित दुई सयभन्दा बढीको सहभागिता छ। सम्मेलनमा सार्क राष्ट्रका स्थापित खोजकर्ता, विद्धान वर्ग विज्ञको समानान्तर रूपमा १८ वटा सत्र सञ्चालन हुनेछन्।
सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दक्षिण एसियामा दिगो विकास लक्ष्य र समावेशी विकास, विद्युतीय व्यापार तत्परताको आंकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, ऊर्जा सहकार्यका मुद्दा, आर्थिक साधनको सुधार, क्षेत्रीय एकीकरणमा सार्क पर्यवेक्षकको भूमिकालगायत विषयमा व्यापाक छलफल हुनेछ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2