MENU

निर्वाचनले बढायो माछामासुको खपत

राजेश बर्मा बुधवार, कात्तिक २९, २०७४ 703 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिएपछि माछामासुको व्यापार बढेको छ। निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले मतदाता र कार्यकर्ता रिझाउन टोलैपिच्छे भोज आयोजना गर्ने क्रम बढेकाले माछामासुको खपत बढेको हो। यस्ता भोजको खाना र खाजामा माछामासुका परिकार अनिवार्यजस्तै बनेका छन्। भोजका कारण अहिले कुखुरा र माछाको खपत अत्यधिक बढेको छ। केही परिमाणमा खसीको खपतमा पनि वृद्धि भएको छ।

अन्य समयको तुलनामा यसै पनि जाडोयाममा माछामासुको खपत बढ्छ। जाडोयामको माग धानेर पनि अहिले थप करिब २० प्रतिशतले माछामासुको कारोबार बढेको छ। निर्वाचनका कारण अहिले मतदातालाई आफ्नो पक्षमा पार्न र कार्यकर्ता रिझाउन उम्मेदवारले माछामासुमा बढी खर्च गर्न थालेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताए।

‘उम्मेदवारहरूले प्रत्यक्ष रूपमा आफू नदेखिने गरी टोलटोल एवं गाउँगाउँमा आफ्ना कार्यकर्ता परिचालन गरी भोज दिने गरेका छन्', उनले भने, ‘यस्ता भोजमा माछामासु अनिवार्य गरिन्छ। उम्मेदवारहरूले तराईमा बढी मात्रामा माछा, कुखुरा र केही कम मात्रामा खसीको मासु प्रयोग गरेका छन्। राजधानीलगायत ठूला सहरमा भने कुखुरा र खसीको मासु प्रयोग हुने गरेको छ।

सामान्य समयको तुलनामा कुखुराका मासु १० प्रतिशतले बढेको छ। अहिले देशभर दैनिक ३५ हजार किलो थप कुखुराको मासुको कारोबार भइरहेको अध्यक्ष बीसीले जानकारी दिए। निर्वाचनको समयमा सामान्य समयभन्दा अहिले दैनिक अतिरिक्त एक करोड पाँच लाख मूल्यबराबरको कुखुराको कारोबार भइरहेको उनको भनाइ छ।


जाडोयाममा माछामासुको खपत बढ्छ। जाडोयामको माग धानेर पनि अहिले थप करिब २० प्रतिशतले माछामासुको कारोबार बढेको छ।

सामान्य समयमा देशभर दैनिक साढे तीन लाख किलोको हाराहारीमा कुखुराको मासु खपत हुन्छ। यसमध्ये उपत्यकाबाहिर दैनिक ५० हजार किलो खपत हुने संघले जानकारी दिएको छ। मत्स्य विकास निर्देशनालयका अनुसार सामान्य समयभन्दा अहिले दुई कारणले माछाको उपभोग बढेको छ। माछाको सबैभन्दा बढी उपभोग जाडोमा हुने निर्देशनालयका वरिष्ठ अधिकृत युगलकिशोर तिवारीले बताए। ‘अहिले गाउँगाउँका पोखरीबाट ल्याइएका माछा भोजमा प्रयोग भइरहेको छ', उनले भने, ‘तराईमधेसका जिल्लामा माछाको खपत वृद्धि भएको छ।'

निर्वाचनका कारण अहिले दैनिक २० प्रतिशतका दरले ३३ टनको हाराहारीमा माछाको माग बढेको छ। यो माग पनि बारा, पर्सा, चितवन, सर्लाही, रूपन्देही, महोत्तरी, धनुषा, नवलपरासी, सिराहा, सप्तरी, रौतहठ, मोरङ, सुनसरीलगायत जिल्लामा बढेको निर्देशनालयको निष्कर्ष छ। नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र महतोले पनि निर्वाचनका कारण माछाको व्यापार बढेको जानकारी दिए।

‘पहिले बारा र रूपन्देहीमा सस/सय क्विन्टलको हाराहारीमा माछा खपत हुन्थ्यो', उनले भने, ‘अहिले ती दुवै जिल्लामा दुई—दुई सय क्विन्टल माछा खपत हुन थालेको छ।' विभिन्न पार्टीका कार्यकर्ता पोखरीमै आएर माछाको मूल्य र परिमाण तोक्ने गरेको उनको भनाइ छ। उपत्यकाबाहिर सामान्य समयमा दैनिक एक सय ६४ टन माछाको खपत हुने गरेको निर्देशनालयले जानकारी दिएको छ।

निर्वाचन र जाडोका कारण जिउँदो माछाको बिक्री पनि बढेको माछा व्यवसायी जंगबहादुर साहले बताए। अहिले जिउँदो माछाको खपत पनि बढेको छ। देशभर दैनिक ८४ हजार दुई सय २० टन माछाको खपत हुन्छ। यसमध्ये ११ हजार दुर्ए सय २० टन भारतबाट आयात हुन्छ। ८३ हजार टन भने स्वदेशकै उत्पादनले धानेको छ।

अहिले उपत्यकामा खसीको कारोबार पनि चम्किएको चौपाया खरिदबिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाले बताए। अन्य समयमा दैनिक एक हजार गोटा बिक्री हुने खसी अहिले दुई हजार ६ सयको संख्यामा बिक्री हुन थालेको उनको भनाइ छ। सामान्य समयभन्दा जाडोमा थप एक हजारको संख्यामा गतवर्ष पनि खसीबोकाको बिक्री भएको थियो। ‘तर यसपटक निर्वाचनको भोजका लागि दैनिक थप ६ सयको संख्यामा खसीबोकाको बिक्री हुन थालेको छ,' थापाले भने।

माग बढ्दा सल्यान, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट र सिन्धुपाल्चोकबाट अहिले खसीबोका ल्याउन थालिएको छ। यसबाहेक भारतकोे लखनऊ, बहराइच, काल्पी, जसवीरनगर, कानपुर, हरियाणालगायत स्थानबाट लाम्काने र जमुनापारी जातको खसीबोका आइरहेका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2