MENU

महाकाली तटबन्ध निर्माणमा भारतीय अवरोध

635x90_3

सुन्दरसिंह धामी बुधवार, कात्तिक २९, २०७४ 2272 पटक पढिएको

Share This

635-X-85_1

 

दार्चुला : महाकाली नदीमा निर्माणाधीन तटबन्ध भारतीय पक्षका कारण प्रभावित भएको छ । २०७० को विनासकारी बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगा खुम्च्याएपछि महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माण गर्न लागिएको महाकाली तटबन्धको करिब ६५ प्रतिशत काम सम्पन्न भएको छ । तटबन्धको काम तीव्र रूपमा गर्ने भनिए पनि भारतले खोतिला पहिरो हटाउन आनाकानी गर्दा आयोजना निर्माणको काम सुस्त भएको छ ।

विभिन्न प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको ९ र १२ नम्बर प्याकेज आव २०७३/०७४ मा सम्पन्न भएको आयोजना प्रमुख सुशीलचन्द देवकोटाले बताए । वर्षात्को समयमा सुस्ताएको महाकाली तटबन्धको काम हाल प्याकेज नम्बर ८ बाहेक अन्य प्याकेजमा भइरहेको छ । १२ वटा प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको काम चालू आवमा तीन प्याकेजमा काम गर्ने गरी थप गरिएको छ । जौलजीविको तल एउटा प्याकेज र जौलजीविमाथि अर्को प्याकेज र रिङनतालमा एउटा प्याकेज गरी तीन वटा प्याकेज थप गरिएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।

प्याकेज नम्बर १ देखि ६ सम्म चालू आर्थिक वर्षको पुस मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । यस्तै प्याकेज नम्बर ७ र ८ को केही काम बाँकी रहेकाले चालू आर्थिक वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए । प्याकेज नम्बर १० मा भने बिभिन्न समस्याले गर्दा निर्माण कार्य प्रभावकारी हुन नसकेको आयोजना प्रमुख देवकोटाले बताए । भारतको खोतिला पहिरोको कारण प्याकेज नम्बर १० मा निर्माण गरिएको तटबन्धको स्टर्ड (नदीको बेग छेक्ने ब्लक) समेत निर्माण गर्न नसकिएको उनको भनाइ छ ।

 

तटबन्धको काम तीव्र रूपमा गर्ने भनिए पनि भारतले खोतिला पहिरो हटाउन आनाकानी गर्दा काम सुस्त भएको छ ।

स्थानीयले भित्तो काट्न नदिएपछि ८ मिटर चौडाईमा निर्माण गर्नुपर्ने पर्खाल जग ५ मिटर मात्रै उठाइएको छ । खोतिला पहिरो हटाउन भारतसँग पटकपटक आग्रह गरे पनि वास्ता नगरिएको जिल्लाका सरोकारवाला निकायसँग पनि गुहार गर्दा केही सुनवाइ नभई अहिलेसम्म पहिरो नहटाउँदा समस्या भएको नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटाले जानकारी दिए ।

प्रथम चौमासिकमै सात करोड खर्च महकाली नदी नियन्त्रण आयोजनाले तटबन्ध निर्माणका लागि चालू आर्थिक वर्षको पहिलो चौमासिकमै करिब सात करोड रुपैयाँ खर्च गरेको छ । साथै, असार महिनादेखि वर्षात्को बेला ढलान गर्न नसकिने भन्दै सुपरभाइजर हटाएका थियो भने तटबन्ध निर्माणको काम पनि सुस्ताएको थियो । दसैंतिहारपछि तटबन्ध निर्माण कार्यले गति लिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा धेरै काम नभए पनि सात करोड जति खर्च भएको आयोजना प्रमुख देवकोटाले बताए । आर्थिक वर्ष २०७१/७२ बाट नदी नियन्त्रण आयोजनाले सञ्चालन गरेको तटबन्ध निर्माण गर्दा हालसम्म झन्डै एक अर्ब ३५ करोड खर्च गरिएको छ ।

आर्थिक वर्ष २०७३/०७४ सम्म एक अर्ब २८ करोड र चालू आर्थिक वर्षको हालसम्म झण्डै सात करोड खर्च गरिएको नदी नियन्त्रण आयोजना प्रमुख देवकोटाले जानकारी दिए । आयोजनाले झन्डै तीन अर्ब पाँच करोड लागतमा महाकाली तटबन्ध निर्माण गर्ने सम्झौता गरेको पनि नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटाले जानकारी दिए ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2