MENU

इरान भूकम्प : मृतक संख्या ५ सयभन्दा धेरै, घाइतेको बिजोग

एजेन्सी बुधवार, कात्तिक २९, २०७४ 1529 पटक पढिएको

Share This

635-X-85_1

तेहरान : इरानमा आइतबार राति गएको भूकम्पको मृतक संख्या ५ सय ५२ पुगेको छ भने करिब ७ हजार घाइते भएका छन् ।भूकम्पपछि करिब शून्य डिग्रीको चिसोमा घरबाहिर बसिरहेका इरानीले खाद्यान्न, पाल, खानेपानी र पाललगायत आधारभूत आवश्यकताको अभावमा निकै कष्ट भोगिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले मानवीय सहयोगको याचना गरेका छन् ।

भूकम्पबाट सर्वाधिक प्रभावित प्रान्त करमनसाहमा सयौं घर भत्केका छन् । सरकार त्यहाँ आवश्यक सहायता उपलब्ध गराउन प्रयासरत छ ।सरकारले भग्नावशेषबाट जीवित फेला पर्ने सम्भावना न्यून भएको भन्दै घाइतेको खोजी बन्द गरेको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । भूकम्पबाट इरानका १४ प्रान्त नराम्ररी प्रभावित भएका छन् भने दुइटा गाउँ ध्वस्त हुनुका साथै ३० हजारभन्दा बढी घर भत्केका छन् ।

हजारौं इरानी घरेलु सामग्रीबाट अस्थायी शिविर बनाएर खुला ठाउँमा बसिरहेका छन् । भूकम्पपछि १ सय ९३ वटा परकम्प गइसकेकाले त्रसित उनीहरू कठ्यांग्रिने चिसोमा दोस्रो रात पनि घरबाहिर बसेको सरकारी टेलिभिजनले जनाएको छ ।

राष्ट्रपति हसन रुहानीले भूकम्प प्रभावित भूभागको मंगलबार भ्रमण गरे । सरकारले निर्माण गरेका घर सबैभन्दा बढी भत्केकाले यसको छानबिन गरी दोषीमाथि कारबाही गरिने उनले बताए ।करमनसाहको कसर-ए-सिरिनका बासिन्दा ४२ बर्से अली गुलानीले त्यहाँका बासिन्दाले जाडोमा आफूलाई न्यानो राख्न क्रेटलगायत विभिन्न सामग्री बालेको बताए ।

‘हामी एउटा टेन्टमा बसिरहेका छौं । तर हामीसँग खानेकुरा वा पानी छैन’, उनले भने, ‘तपाईं जाडोले बालबालिका रोइरहेको सुन्न सक्नुहुन्छ । उनीहरू आफूलाई न्यानो पार्न आमाबाबुसँग टाँस्सिएर बसेको देख्दा टीठ लाग्छ ।’ भूकम्पपछि घन्टैपिच्छेजस्तो औसतमा ३ शक्तिशाली परकम्प गइरहेको उनले बताए ।

सरकारले भूकम्पप्रभावित भूभागका लागि राहत सामग्री पठाए पनि सर्वसाधारणले पाएका छैनन् । भूकम्पपीडितले खानेपानी लिन समेत सहरको अर्को छेउस्थित धारामा पुग्नुपर्ने बाध्यता छ ।

सरपोल-ए-जहाबका एक जना महिलाले कठ्यांग्रिने चिसोमा रात काट्नुपरेको, खानेकुरा, टेन्ट, पानी र औषधिजस्ता सामग्री तत्काल चाहिएको बताएको सरकारी टेलिभिजनले जनाएको छ । भूकम्पमा सबैभन्दा धेरैको मृत्यु त्यहाँ भएको थियो ।

त्यहाँ ७० हजार इरानीलाई टेन्टको आवश्यकता रहेको बताइएको छ । संयुक्त राष्ट्र संघले आवश्यक परे सहयोगका लागि तम्तयार रहेको जनाएको छ ।इरानको रेड क्रिसेन्ट सोसाइटीका अधिकारी मन्सुर बाघेरीले सञ्चारमाध्यमसँग भूकम्पमा १२ हजार घर ध्वस्त भएको बताएकी छन् । उनले उद्धारकार्य सकिएको र अब जीवितलाई शिविरमा व्यवस्थापन गरी आवश्यक सहायता उपलब्ध गराउनु पहिलो प्राथमिकता भएको बताइन् ।

इस्लामिक रिभोल्युसनरी गार्ड्स कप्र्स (आईआरजीसी)का प्रमुख मेजर जनरल मोहम्मद अली जाफरीले भूकम्पप्रभावितलाई तत्काल पाल, खानेपानी र भोजन आवश्यक रहेको बताए । उनले अधिकांश वनिर्मित घरहरू नढले पनि माटोका घरहरू भने ध्वस्त भएको बताए ।

रेड क्रिसेन्टले भूकम्पप्रभावित अधिकांश भूभागमा पानी तथा बिजुली नभएको र पहिरोले सडक भत्काएकाले राहत पुर्‍याउन कठिन भएको बताएको छ । राहत सामग्री पुर्‍याउन सैनिक हेलिकप्टरको उपयोग गरिएको छ । रेड क्रिसेन्टका ३० वटा टोली उद्धार र राहत पुर्‍याउन जुटेका छन् ।

इरानको सीमासँग जोडिएको इराकी भूभागमा १० जनाको मृत्यु भएको र सयौं घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु इराकको कुर्दिस्तान स्वायत्त क्षेत्रमा पर्ने सुलेमानिया प्रान्तको पेन्जविन रहेको थियो । भूकम्पबाट इराकमा ६ जनाको मृत्यु भएको र ६८ जना घाइते भएको बताइएको छ । उत्तरी इराकको कुर्दिस जिल्लामा ३ सय २५ जना घाइते भएका छन् ।

इरानको जाग्रोस पर्वत शृंखला युरेसियन प्लेट र अरेबियन प्लेट आपसमा ठक्कर खाँदा उत्पन्न भएको मानिन्छ । दुवै प्लेट बारम्बार आपसमा ठोक्किँदा इरानमा भूकम्प आउँछ । यसैगरी पेट्रोलियम पदार्थ निकाल्न त्यहाँका पहाडमा ‘फ्रेकिङ’ गरिन्छ, जसमा तरल पदार्थ पहाडमा इन्जेक्ट गरेर तेल निकालिन्छ । यसो गर्दा पहाडमा चिरा पर्ने र पहाडको सन्तुलन बिग्रने कारणले भूकम्प जाने गरेको भूकम्पविद् बताउँछन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2