MENU

लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’

635x90_3

अन्नपूर्ण बुधवार, कात्तिक २९, २०७४ 4976 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : पहिलोपटक मन्त्री भएपछि आफ्ना अडान र कामले चर्चित बनेका एमाले नेता लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ पाठकमाझ आएको छ । नेपालयले तयार पारेको उनको आत्मकथा सोमबारबाट बजारमा आएको हो ।

पण्डित भूमिगतकालदेखि नै एमालेसँग आबद्ध छन् । केही वर्षअघि पहिलोपटक मन्त्री हुनासाथ उनी दुई कुराले चर्चामा आए । पहिलो थियो, ग्रिनकार्ड वा पीआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेषगरी डीभीलगायत माध्यमबाट विकसित मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहीले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे ।

दोस्रो, मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री पण्डितका दृष्टिकोण । पूर्वी तराईको अल्पसंख्यक समुदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र व्यक्त गरेका विचार मधेसकै अर्को घेराले उठाइरहेको आवाजसँग बाझियो । विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समुदायलाई जोड्ने सेतु बन्ने प्रयास गरे ।

साइकल वा ट्याम्पुमा यात्रा गर्ने यी हंसमुख व्यक्तिबारे थप जिज्ञासा जनसाधारणमा पैदा भयो । लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगतकालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइ कथाजस्तै भेटिए । यी सबैले लालबाबुमा सम्झौताहीन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको व्यक्तित्व अगाडि ल्याएको रहेछ । लालबाबुका तिनै रोचक भोगाइ आत्मकथामा समेटिएको छ ।

‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरू धेरैका निम्ति पठनीय हुन सक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन् । पण्डितले सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।

‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्ट्याउने जिम्मा अब पाठककै हातमा छोड्छु ।’
पुस्तकको मूल्य तीन सय २५ रुपैयाँ राखिएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2