MENU

युवा कार्यकर्ता मात्रै

मनिका झा शुक्रवार, मंसिर ८, २०७४ 1590 पटक पढिएको

Share This

635-X-85_1

२० वर्षीय राजकुमार झा यसै साता भारतको राजस्थान रोजगारीका लागि जाँदैछन् । महोत्तरी, बथनाहाका उनी चार वर्षदेखि आफ्ना ठूल्दाइसँगै त्यहाँ एक कारखानामा काम गर्दै आएका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आँगनमा आएको बेला उनका अधिकांश साथीहरू कुनै न कुनै दलको प्रचारप्रसारमा जुटेका छन् ।

गाउँमा भएको बेला उनी पनि साथीहरूसँग रमाइलो गर्न चुनावी प्रचारमा गएकै हुन् । तर, उनलाई कुनै पनि दलका उम्मेदवारसँग खासै लगाव भएन । परिवारसँग दसैं र छठ मनाउन गाउँ आएका राजकुमारले स्थानीय निकायको चुनावमा पनि भोट खसाएनन् । यो पालि पनि उनलाई भोट खसाउन जाँगर छैन ।

जनकपुर उपमहानगरपालिका कुर्था निवासी २४ वर्षीय मनोज साहलाई पनि आसन्न चुनावले खासै छोएको छैन । उनी भन्छन्, ‘युवाहरूलाई मात्र लठैतको रूपमा प्रयोग गर्ने र पछि जितेर सत्तामा पुग्दा उनीहरूको लागि कुनै योजना नल्याउने नेताहरूलाई जिताएर कुनै फाइदा लाग्दैन ।’ उनी अहिलेसम्म कसलाई भोट दिने भन्नेबारे केही सोचेको छैनन् । भन्छन्, ‘भोट हाल्ने मन छैन ।’ उनी चुनावमा नो भोटको प्रावधान हुनुपर्ने जिकिर गर्छन्।

राजकुमार तिक्तता पोख्छन्, ‘चुनाव त नेता र उनीहरूको आसेपासेको लागि हो ।’ भोट दिएर उनीहरूलाई ठाउँमा पुर्‍याए पनि पछि उनीहरूले फर्केर पनि नहेर्ने हुनाले उनलाई भोट खसाउनै मन छैन । आफूले गरिबीको कारण राम्रो शिक्षादीक्षासमेत पाउन नसकेर बिदेसिनु परेको अवस्थामा चुनाव भएर पनि खासै ध्यान तानेको छैन । राजकुमारको गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन । न त उच्च शिक्षाको लागि अहिलेसम्म उच्च माध्यमिक विद्यालय नै छ । उनी भन्छन्, ‘चुनाव आउँछ, जितेका नेताहरूको जीवन नै फेरिन्छ तर जनताको जीवनशैलीमा कुनै परिवर्तन आउँदैन ।

पुस्तौंदेखि चुनावी हारजितको समीकरण गर्दै पटकपटक सत्तामा रहेका विभिन्न दलका पुराना नेताहरू नै यस चुनावमा पनि उम्मेदवार भएर आए । यसले युवाहरूलाई आकर्षित गर्न सकेको छैन ।

२२ वर्षीया रचना कर्ण पनि निर्वाचनप्रति खासै उत्साहित छैनन् । झन् निर्वाचनको मिति नजिकिँदै जाँदा अन्य जिल्लाहरूमा भइरहेको विभिन्न हिंसात्मक गतिविधिले उनलाई अझ त्रसित बनाएको छ । उनको प्रश्न छ, ‘निर्वाचन शान्ति स्थायित्वको लागि हुन्छ । तर, दलहरू आपराधिक क्रियाकलापमा समेत मुछिएकाहरूलाई उम्मेदवार बनाउँदा यस्तो निर्वाचनले हामी युवाहरूको भविष्य कसरी सुनौलो हुन्छ ? ’

उम्मेदवारहरूको पछिपछि होहल्ला गर्दै हिँड्ने युवाहरूको एउटा जमात छ भने राजनीतिभन्दा टाढा रहेका युवा समूहहरूलाई यो चुनावले खासै प्रभावित गर्न सकेको छैन । विशेषगरी अधिकांश राजनीतिक दलहरूको चुनावी एजेन्डा पुरानै र युवामैत्री नभएको हुनाले नयाँ पिँढीलाई आकर्षित गर्न नसकेको हो । पुस्तौंदेखि चुनावी हारजितको समीकरण गर्दै पटकपटक सत्तामा रहेका विभिन्न दलका पुराना नेताहरू नै यस चुनावमा पनि उम्मेदवार भएर आएपछि युवाहरूलाई आकर्षित गर्न सकेको छैन।

स्थानीय युवा प्रशान्त झा भन्छन्, राजनीतिमा युवाहरूलाई मात्र कार्यकर्ताको रूपमा प्रयोग गर्ने र चुनावमा जहिले पनि शीर्ष नेताहरू नै टिकट पाएर उम्मेदवार बन्ने परिपाटीले युवामा उत्साह देखिएको छैन । बेरोजगारीका कारण तराई मधेसबाट लाखौंको संख्यामा युवाहरू बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्न कुनै ठोस योजना ल्याउन नसकेको जनकपुर क्षेत्रका युवाको आरोप छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2