MENU

यस्ता छन् साइकल यात्रीका सास्ती

विनीता मरहट्टा शुक्रवार, मंसिर ८, २०७४ 2240 पटक पढिएको

Share This

635-X-85_1

 

मोटरसाइकल र साना गाडीले छपक्कै छोपेको काठमाडौंको सडकमा कहीँ कतै साइकल पनि भेटिन्छन्। टाउकोमा हेलमेट लगाएर माउन्टेन बाइक चढ्नेहरू शनिबार अलि बढी नै देखिन्छन्। चुइँचुइँ कराउने थोत्रा साइकल चढ्नेहरूको बाध्यता बेग्लै छ।

रहरले चढ्नेको संख्या राम्रै देखिन्छ। तिनैमध्येका एक हुन्, रञ्जन राजभण्डारी। १२ वर्षदेखि काठमाडौंको सडकमा नियमित साइकल चलाइरहेका छन् उनी। तर, निवास महाराजगन्जदेखि ठमेलस्थित कार्यालयसम्म साइकलमा जाँदा छोटो बाटोमै उनले धेरै चुनौती सामना गर्नुपर्छ।

राजधानीको बाटो साइकल यात्रीका लागि कत्ति पनि उपयुक्त नभएको उनको गुनासो छ। भन्छन्, ‘सबैभन्दा ठूलो समस्या हाम्रो सोचमा छ, साइकल चढ्नेलाई सानो दर्जाको सोचिन्छ।’ बाटोमा सानादेखि ठूला गाडीले साइकललाई गन्दै गन्दैनन्। उनीहरूले हेप्नुसम्म हेप्छन्। छेउ च्याप्दै ल्याउँछन्। त्यति बेला कहाँ जाने भनेर कम्ता समस्या हुँदैन।

cycling-dimond-thapaबेग्लै साइकल लेनको व्यवस्था त छैन नै, ट्राफिक नियम पनि पालना नहुँदा यस्तो समस्या आएको हो। उनलाई ट्राफिक जाम र चोकहरूमा समस्या पर्ने गरेको छ। कहाँ रोक्ने, कति बेला जाने भनेर बुझ्नै सक्दैनन्। घरबाट निस्केदेखि असुरक्षा मसहुस गर्दै कार्यालयसम्म पुग्नुपर्ने अवस्था छ। भन्छन्, ‘कम्तीमा बेग्लै लेन भइदिए सुरक्षित भइन्थ्यो।’ जमल, केशर महल र लैनचौर क्षेत्र उनलाई सबैभन्दा असुरक्षित लाग्छ।

राजधानीको सडकमा मुस्किलले १० किलोमिटर जति साइकल लेन भेटिएलान्। माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडकमा र त्रिभुवन विमानस्थलदेखि गौशालासम्म साइकल लेन बनेका छन्। अरू सबै ठाउँमा साँघुरो र खाल्डाखुल्डी बाटोमा यात्रा गर्नुपर्दा साइकल यात्री दिक्क भएका छन्।

आफू स्वस्थ रहन र वातावरण स्वच्छ राख्न साइकल चढेर हिँड्ने गरेका रूपक खड्का योगीलाई झनै रोग बढ्ला भन्ने चिन्ता लागेको छ। पुल्चोकस्थित निवासबाट कार्यस्थल ठमेलसम्म पुग्दा मकै पिँधेर घट्टबाट निस्केको मान्छेजस्तो हुन्छन्। साइकल चलाउँदा श्वासप्रश्वास बढी गरिन्छ। काठमाडौंका धुलाम्मे सडकमा सामान्य श्वासप्रश्वास पनि रोगी बनाउन काफी हुन्छ। साइकल चलाउनेको श्वासमा त झन् कति धूलो भित्रिन्छ होला, अनुमान गर्न सकिन्छ। गाडीले फ्याँक्ने धूवाँको गन्ती नै भएन।

रूपकले सार्कका सबै देशमा साइकल यात्रा गरेका छन्। उनले काठमाडौंका साइकल यात्री सबैभन्दा असुरक्षित देखे। छिमेकी राष्ट्र भारतकै सडक हेरेमात्र पनि धेरै सिक्न सकिन्छ। फराकिला सडकमा साइकल लेन बनाइएको हुन्छ। काठमाडौंको सडक र यहाँका सवारीसाधनको व्यवहारले नयाँ साइकल यात्रीलाई हीनताबोध मात्र गराउँछ।

काठमाडौंका उकाली ओराली, खाल्डाखुल्डी सडक अनि गाडी चालकहरूको हेपाइ देखेर नयाँ साइकल यात्री दिक्क छन्। माउन्टेन बाइक चलाउनेकै हालत खराब छ, अरू साइकल चलाउन त झनै सास्ती छ। सबै नेपालीले माउन्टेन बाइक किन्न सक्दैनन्। रूपक भन्छन्, ‘सडक निर्माणसँगै सर्वसाधारणमा ट्राफिक चेतना भए साइकल यात्री सुरक्षित हुने थिए।’

नयाँ बानेश्वर निवासी डायमन्ड थापा साइकल चढ्न मन पराउँछन्। कार्यालयबाट बाहिर जानुपर्ने काम भए मोटरसाइकल चढ्छन्, नभए साइकल नै उनको रोजाइको सवारी साधन हो। शनिबार एक दिन भने ५० देखि सय किलोमिटरसम्म साइकल चलाउँछन्। काठमाडौं भित्रका सबै ठाउँमा साइकलमै पुग्ने चाहना भए पनि सम्भव हुँदैन। यसको मुख्य कारण नै सडक भएको उनी बताउँछन्। भन्छन्, ‘बाटो त खत्तम छ, गाडी पनि त्यस्तै, सकेजति पेल्छन्।’ ट्राफिक नियम पालना नगर्ने गाडीहरू साइकल यात्रीलाई ठक्कर दिँदै भाग्दै गर्छन्। यस्तै असुरक्षित सडकसँग चुनौती गर्दै हिँडिरहेका छन्।

साइकललाई अरू सवारी साधनले हेप्ने विषयलाई समाजशास्त्री सुरेश ढकाल शक्तिसँग जोडिएको गडेको मानसिकता भन्छन्। हाम्रो समाजमा सबैलाई ‘हाइरारकी’मा राखेर हेरिन्छ। शक्तिशालीले कमजोरलाई हेप्नुपर्छ भन्ने अनौठो मनेविज्ञान छ। साइकललाई मात्र नभई ट्रकले माइक्रोलाई हेप्छ, माइक्रोले टेम्पोलाई हेप्छ, टेम्पोले मोटरसाइकल स्कुटरलाई हेप्छ, मोटरसाइकलले साइकललाई हेप्छ। यो हेपाइ सवारी साधनमा मात्र लागू हुँदैन। परिवार, गाउँ, टोल, कार्यालय सबैतिर हुन्छ। समाजशास्त्री ढकाल यसलाई अहम् पुष्टि गर्ने विषयका रूपमा हेर्छन्। हाम्रो सामाजिक संरचनामा धेरैले अरूलाई पेलेर आनन्द लिने मानसिकता बोकेका छन्। सबैलाई समान नहेर्ने, कोभन्दा को माथि भनेर हेर्ने मानिकता सडकमा पनि लागू भएको उनी बताउँछन्।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2