MENU

फोनकल प्रतिमिनेट ३०१ रुपैयाँ !

रञ्जनहरि कोइराला शुक्रवार, मंसिर १५, २०७४ 11784 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं :  अहिले पनि फोन कल प्रतिमिनेट ३०१ रुपैयाँभन्दा अच्चम्म लाग्न सक्छ। तर यो यर्थाथ हो। नेपालबाट विदेशमा फोन गर्दा प्रतिमिनेट ३०१.०३ पैयाँसम्म लाग्ने गरेको छ। स्मार्ट सेलले सार्वजनिक गरेको ‘इन्टरनेसनल कल ट्यारिफ‍' मा उल्लेख भएअनुसार ‘पिटक्रेन आइल्यान्ड‍' मा नेपालबाट फोन गर्दा ३०१.०३ रुपैयाँ लाग्नेगरेको छ। यो नेपालमा कुनै पनि टेलिफोन सेवा प्रदायक कम्पनीले तोकेमध्ये सबैभन्दा महँगो हो।

स्मार्टसेलमार्फत यस दरमा पिटक्रेन आइल्यान्डका साथै स्याटलाइट नम्बरमा कल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। त्यस्तै नेपाल टेलिकमले (एनटीसी) स्याटलाइट नम्बरमा कल गर्न कल दर दुई सय ४० रुपैयाँर एनसेलले ६१.४५ रुपैयाँ तोकेको छ। तर, देशको हिसाबमा भने स्मार्टसेलमार्फत पिटक्रेन आइल्यान्डमा गरिने कल नै सबैभन्दा महँगो हो। टेलिफोन सेवा प्रदायक कम्पनीले उल्लेख गरेको दरको आधारमा टेलिकमले सबैभन्दा बढी ८० रुपैयाँ प्रतिमिनेटका दरले सेवा दिइरहेको छ। एनटीसीबाट सोमालिया, फल्कल्यान्ड, क्युवा, नर्थ कोरिया, पपुवा न्युगिनी, सोलोमोन आइसल्यान्ड र इस्ट टिमोरमा कल गर्दा ८० रुपैयाँ लाग्छ। त्यस्तै एनसेलको कल दर सबैभन्दा बढी ६१.४५ रुपैयाँ प्रतिमिनेट छ। एनसेलको यो दर भारत, क्यानडा, यूएसए गरी ५७ वटा देशबाहेकका अन्य देशमा लागू हुने जनाइएको छ।

यस्तै नेपालबाट दोस्रो महँगो शुल्क रहेको देशमा स्मार्टसेलको फल्कल्यान्ड, नर्थ कोरिया, पपुवा न्युगिनी, सोलोमोन आइसल्यान्ड, सोमालिया छन्। स्मार्टसेलबाट कल गर्दा ती देशमा प्रतिमिनेट १००.३४ रुपैयाँलाग्ने गरेको छ। एनसेलबाट कल गर्दा दोस्रो महँगो देशमा माल्दिभ्स र अफगानिस्तान छन्। एनसेलबाट कल गर्दा यी देशमा प्रतिमिनेट २६.३३ रुपैयाँ लाग्ने गरेको छ। यस्तै एनटीसीबाट कल गर्दा दोस्रो महँगो देशमा अफ्रिकी मुलुकका देश छन्। अफ्रिकी देशमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ। विदेशी कलमा सबैभन्दा सस्तोमा एनटीसीको यूएसए र क्यानडा छन्। एनटीसीले प्रतिमिनेट १.७५ रूपैयाँमा यी दुई देशमा कल सुविधा उपलब्ध गराउँदै आएको छ। एनसेलको पनि सबैभन्दा सस्तो शुल्क भएको देशमा यूएसए र क्यानडा छन्।

एनसेलबाट यी दुई देशमा प्रतिमिनेट २.५० रूपैयाँका दरले कल गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै स्मार्टसेलबाट सबैभन्दा सस्तोमा भारत र दक्षिण कोरियामा प्रतिमिनेट ३.७६ रूपैयाँका दरले कल गर्न सकिन्छ।

विश्व इन्टरनेटको दुनियाँमा अघि बढिरहेको अवस्थामा कल रेट अस्वाभाविक भएको बताउँछन् नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का वरिष्ठ निर्देशक आनन्दराज खनाल। उनका अनुसार यसमा अहिलेसम्म कुनै नियमन भएको छैन। एनटीएले पनि इन्टरनेसनल कलमा कुनै निगरानी गरिरहेको छैन। त्यसमा पनि कलको दर निर्धारण टर्मिनेटिङ अपरेटर (देशका टेलिफोन सेवा प्रदायक कम्पनी) मा भर पर्ने भएकाले कलको दर फरक भएको हो।

‘कलको दर निर्धारण पहिले यहाँका सेवा प्रदायक कम्पनी (अपरेटर), दोस्रो इन्टरनेसनल क्यारियर र तेस्रो टर्मिनेटिङ अपरेटरबीच हुने हो‍', उनले भने, ‘यहाँका अपरेटरले कति रकम कमिसन राख्ने, क्यारियरले कति राख्ने र टर्मिनेटिङ अपरेटरले कतिमा उपलब्ध गराउने विषयले टेलिफोन शुल्कको दर निर्धारण हुन्छ। सबैभन्दा ठूलो हिस्सा टर्मिनेटिङ अपरेटरको हुन्छ, उसले प्रतिमिनेट कति चार्ज गर्छ भन्ने कुरा हुन्छ।‍' निर्देशक खनालका अनुसार विशेष गरी यहाँबाट गरिब मुलुकमा गरिने फोनकलको दर उच्च हुन्छ। साना तथा गरिब देशमा यो नै एकमात्र डलर आम्दानी गर्ने प्रमुख स्रोत हो। ‘भारतबाट नेपाल कल गर्न महँगो पर्छ। तर नेपालबाट भारत कल गर्दा सस्तो हुनाको कारण भारतको टर्मिनेटिङ कल सस्तो छ भने नेपालको महँगो।

डलर आम्दानी गर्ने स्रोत भएकाले नेपालका टेलिफोन सेवाप्रदायक कम्पनीले पनि यो दर घटाउन नचाएका हुन्‍', उनले थपे। नेपालको टर्मिनेटिङ कलको दर घटाउने कोसिस भए पनि सेवा प्रदायककै कारण सम्भव भएको छैन। यसका लागि अझै पनि गृहकार्य भइरहेको उनले बताए। खनालका अनुसार विदेशमा गरिने कलका दरमा कम्पनीबीच हुने फरक प्रतिस्पर्धात्मक बजारले बनाएको हो। कम्पनीले गर्ने मार्केटिङ, कल भोल्युम र कति मार्जिनमा काम गर्ने भन्ने कुराले नेपालका सेवा प्रदायक कम्पनीको कलको दर फरक भएको उनले बताए।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2