MENU

स्लिम युवतीका सपना

गोपाल दाहाल शुक्रवार, मंसिर १५, २०७४ 1495 पटक पढिएको

Share This

635-X-85_1

शीरमा झपक्क शिरफूल, निधारमा सुनौलो चन्द्रमा, कानमा र्‍यार्लिङ, कलामा कन्ठ अनि जिउमा ढाकाको मेख्ली ।लिम्बू सांस्कृतिक पहिरनमा सजिएकी अबिसा फुदोङ लिम्बू हात हल्लाउँदै राष्ट्रिय नाचघर जमलको मञ्चमा अघि बढिन् । एकैछिनमा उनको शिरमा थपियो ‘मिस लिम्बू ५’को ताज । उनका हात बुके र उपहारले भरिए । अर्थात् उनी लिम्बू समुदायकी सुन्दरी घोषित भईन् ।

काठमाडौंको छाउनीस्थित नेपाली सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको मेडिकल कलेजमा अध्ययनरत अबिसाले सुनाईन्, ‘मिस लिम्बूमा भाग लिएपछि आफ्नो भाषा, गहनाको बारेमा धेरै कुरा सिकें, आफ्नो संस्कृतिबारे अझै अध्ययन गर्ने मन छ ।’

बलिउड प्रभावित परम्परागत नेपाली सौन्दर्यविद्हरूका नजरमा चिम्सा आँखा, थेप्चो नाक र मंगोलियन अनुहारकी अबिसा सुन्दरीमा नदरिन सक्छिन् तर लिम्बू समुदायले उनलाई सुन्दरी मान्यो । सुन्दरताको पुरानो मान्यतालाई चुनौती दिन पाँच वर्षयता लिम्बू युवाहरूको संस्था याक्थुङ युथ एसोसिएसनले मिस लिम्बू आयोजना गर्दै आएको छ । एसोसिएसनका अध्यक्ष विश्व साम्याङ्खाम लिम्बू भन्छन्, ‘झट्ट हेर्दा यो अरुजस्तै व्युटीप्याजेन्ट भएपनि भित्री रुपमा सांस्कृतिक सौन्दर्यको खोजी हो यो।’

सहरमा अहिले मिस लिम्बूजस्तै विभिन्न जाति, संस्कृतिका नाममा सौन्दर्य प्रतियोगिता गर्ने लहर चलेको छ । मिस तामाङ, नेवा, ज्यापु, राई, मंगोल, तमुस्यो, विश्वकर्मा, थारु, किराँतदेखि मिस आर्यन लगायतका प्रतियोगिता भईरहेका छन् । यस्ता प्रतियोगिता आयोजना गर्ने सबैको भनाई एउटै रहँदै आएको छ, ‘हामी सांस्कृतिक सौन्दर्यको खोजी गरिरहेका छौं ।’

अहिले सौन्दर्यजगतमा स्लिम युवतीलाई सुन्दर भनिन्छ । तर, सधैँ अन्नको अभाव हुने दक्षिण अफ्रिकी देश मउरिटेनियामा जति मोटी युवती, उति नै सुन्दरी मानिन्छ ।

सन् २००६ देखि मिस तामाङ आयोजना गर्दै आएका मिलन मोक्तान सांस्कृतिक सौन्दर्य प्रतियोगिताहरूले नयाँ पुस्तालाई भाषा, संस्कृति सिकाउन ठूलो मद्दत गरेको बताउँछन् । मिस तामाङका सहभागीले आफ्नै भाषामा परिचय दिनुपर्छ । ‘युवाहरूले भाषा संस्कृति बिर्सिन थालिसके, त्यसैले यस्ता कार्यक्रम गर्नु परेको हो ।’ उनी भन्छन्, ‘त्यसैको प्रभाव हो, अहिले चाडपर्वमा आफ्नो पहिरन लगाएर जाने युवापुस्ता धेरै भेटिन्छन्।’

पूँजीवादले सौन्दर्यलाई व्यापारको विषय बनायो । हलिउड र बलिउडले स्थापित गरेको मापनअनुसार आर्यन अनुहार, गोरो छाला, चुच्चो नाक, ठूला आँखा, अग्लो र पातलो ज्यान जस्ता गुण सुन्दरताका मानक हुन् । त्यसैमा प्रभावित मल्टिनेसनल कम्पनीहरूले आफ्नो व्यापार प्रवद्र्धनका लागि मिस वल्र्ड, मिस युनिभर्सजस्ता सौन्दर्य प्रतियोगिता गराउन थाले । तर, त्यसको असर फरक संस्कृति र शारीरिक बनोट भएका समुदायमा पर्‍यो । ती समुदायले आफूलाई असुन्दर ठान्न थाले र उनीहरूजस्तै बन्ने प्रयत्न गर्न थाले । तर, पछिल्लो समय सुन्दरताका मानक ठाउँ, परिवेश र संस्कृतिअनुसार फरक हुन सक्छ भन्ने बुझ्दै गएपछि नेपालमा पनि सांस्कृतिक सौन्दर्यको खोजी हुन थालेको हो ।

सन् २००५ मा मिस टिन शेर्पा र मिस टिन गुरुङजस्ता जातीय नामका सौन्दर्य प्रतिष्पर्धा भयो । यसपछि मिस तामाङ, नेवा, मंगोल हुँदै अहिले नेवार समुदायभित्रकै ज्यापू समुदायका भाषा संस्कृति युवामाझ चिनाउने भन्दै मिस ज्यापु हुन थालेको छ । पाँच वर्ष यता भइरहेको मिस ज्यापुमा सहभागीहरूले ९० प्रतिशत आफ्नै भाषा नै बोल्नुपर्ने आयोजक समितिका महेन्द्रराज डंगोल बताउँछन् । उनका अनुसार, मिस ज्यापुमा नेवारी परिकारहरू योमरी, चटामरी, बारा पकाउनदेखि जाँड रक्सी बनाउन सिकाईन्छ ।

त्यस्तै पूजाविधिदेखि कृषिका काम, तानमा हाकुपटासी कसरी बुनिन्छ भन्ने बुझाईन्छ । उनीहरूलाई त्यही हाकुपटासी लगाई धिमे लगायतका नेवारी बाजाको धुनमा र्‍याम्पमा हिडाईन्छ । डंगोल भन्छन्,‘युवाले मौलिकता गुमाउँदै गएपछि युवापुस्ता छिटो आकर्षित हुने व्युटिप्याजेन्टको माध्यमबाट संस्कृति सिकाउन थालेका हौं । यहाँ सिकेको कुरा घरमा उलागु गर्दा आमाबुवा खुसी भएर हामीलाई फोन गर्छन् ।’

दुई वर्षदेखि मिस्टर एण्ड मिस विश्वकर्मा नामको सौन्दर्य प्रतिष्पर्धा पनि भईरहेको छ । सो आयोजना गर्दै आएको परिवर्तन इभेन्ट हाउसका सञ्चालक राज बराईली भन्छन्, ‘दलितहरू छुवाछुतका कारणले हीनताबोधले ग्रस्त छन् । व्युटिप्याजेन्टबाट ग्रुमिङ गराएर युवाहरूलाई हाम्रो संस्कार र पहिचान बुझाउँछौं । यहीभित्र हाम्रो सौन्दर्य खोज्नुपर्छ भन्ने सिकाउँछौं।’

खासमा सुन्दरता के हो ? सौन्दर्यको परिभाषामा विश्वमै एकरुपता छैन । अफ्रिकी मुलुकमा बाक्लो ओठ, कालो छाला भएका युवती सुन्दरी मानिन्छन् । इथोपियामा आदिवासी समुदायका महिलाले सुन्दरताका लागि ओठमा प्वाल बनाएर काठ वा माटोको लिप प्लेट लगाउँछन् । कुनै समय जापानमा सुन्दरी देखिन महिलाहरू दाँत कालो बनाउँथे । अमेरिकामा नीला आँखा र लामो कपाल एक समय सुन्दर मानिन्थ्यो । त्यही समय चीनमा भने साना आँखा र थेप्चो नाक भएका युवती सुन्दरी कहलाउँथे । चीनमा महिलाको जति छोटो नाक र छोटा खुट्टा छन्, ती युवती सबैभन्दा राम्रा मानिन्छन् ।

त्यसैले त्यहाँ केटीका खुट्टा छोटा बनाउन ४ वर्षसम्म खुट्टामा जुत्ता बाँध्ने परम्परा थियो । अहिले सौन्दर्यजगतमा स्लिम युवतीलाई सुन्दर भनिन्छ । तर सँधै अन्नको अभाव हुने दक्षिण अफ्रिकी देश मउरिटेनियामा जति मोटी युवती, उति नै सुन्दरी मानिन्छ । लामो समयदेखि यस्ता प्रतियोगिताका तालिम दिईरहेकी कोरियोग्राफर जयन सुब्बा मानन्धर सुन्दरताको परिभाषा बद्लिंदै गएको बताउँछिन् । भन्छिन्, ‘अहिले सुन्दर होईन । भाग लिनेले भनेका कुरा अहिले सुन्दर हो भन्न थालिएको छ । सुन्दरता परिवेश, संस्कृति र समयअनुसार फरक हुन्छ ।’

भनिन्छ, सुन्दरता कसैको शरीरमा होईन, हेर्नेको दृष्टिमा हुन्छ । पशुपंक्षीमा सुन्दरताको मापन पुरुषवर्गमा गरिन्छ भने मानिसमा महिलामा सौन्दर्यको बढी मापन हुन्छ । त्यसैले पनि सौन्दर्य प्रतियोगिता महिलाकै बढी हुन्छन् । यी प्रतियोगिताहरूले समाजको सौन्दर्यको नयाँ मान्यता बनाउने र पुरानो मान्यता भत्काउने काम गर्छन् । जातीय र सांस्कृतिक सौन्दर्य प्रतियोगिता बढ्दै गएपछि नेपालको ठूलो सौन्दर्य प्रतिष्पर्धा मिस नेपालमा पनि जेनिसा मोक्तान, सुविन लिम्बू जस्ता चिम्सा आँखा भएका मंगोलियन अनुहारहरू विजेता बन्न थालिसकेका छन् ।

मिस इन्डिजिनियस लगायतका कार्यक्रममा कोरियोग्राफी गरिसकेका रोजिन शाक्य यस्ता प्रतियोगिता युवा पुस्ताका लागि संस्कार संस्कृति सिक्ने तालिम केन्द्र जस्तो भएको बताउँछन् । कल्चरल व्युटिप्याजेन्टबाट युवापुस्ताले धेरै सिकेको बताउँदै उनी भन्छन्, ‘पहिला ब्युटिप्याजेन्टलाई सौन्दर्यसहितको बौद्धिकता भनिन्थ्यो, अहिले हुने यस्ता प्रतियोगिता सांस्कृतिक चेतनासहितको सौन्दर्य र बौद्धिकता सिकाउने थलो हुन् ।’

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2