MENU

सिर्जनामा रमाएकी पुष्पा

अन्नपूर्ण शुक्रवार, मंसिर १५, २०७४ 172 पटक पढिएको

Share This

635-X-85_1

दुई दशकदेखि गीत, कविता र कथामार्फत साहित्यको सेवा गरिरहेकी छिन् स्रष्टा पुष्पा खनालले । इलाम, एकतप्पाकी उनको साहित्यमा सानैदेखि रुचि थियो । यही रुचिले उनलाई सफल कार्यक्रम सञ्चालक पनि बनाएको छ ।इलामको महेन्द्ररत्न क्याम्पसमा आईए सकेर उनी राजधानी छिरिन् । एउटा ट्राभल एजेन्सीमा काम सुरु गरिन् । बिहान क्याम्पस र दिनभर कार्यालय जानु उनको दिनचर्या बन्यो । त्यही समय उनले धेरै रचनाहरू सिर्जना गरिन् ।

उनी काम गर्ने ठाउँ नजिकै गोरखापत्र संस्थानको कार्यालय थियो । त्यसबेला विभिन्न कार्यालयमा पुग्ने पत्रिका भनेकै गोरखापत्र थियो । पत्रिकामा साहित्यिक रचनाहरू छापिएको देखेपछि उनले पनि खाममा हालेर हुलाकमार्फत रचना पठाउन थालिन् । तर अहँ कहिल्यै छापिएन । नछापिएपछि निराश बनेकी पुष्पाले केही समय आफ्नो लेखनलाई नै बन्द गरिदिइन् ।

जागिर खाँदाखाँदै उनलाई पत्रकार बन्न मन लाग्यो । पत्रकारिताको प्रशिक्षणकै क्रममा रेडियो नेपाल, नेपाल टेलिभिजनबाट अतिथि प्रशिक्षकहरू जाने गर्थे प्रशिक्षणका लागि । त्यस क्रममा पुगेका रेडियोका रमेश पौडेलले एकदिन आफ्नो कार्यक्रममा रचना सुनाउने भए लिएर आउन सबै प्रशिक्षार्थीलाई अह्राए । रचना छान्न नसकेर पुष्पाले डायरी नै लगिन् । डायरी हेरिसकेर पौडेलले यीमध्ये जुन पढे पनि हुन्छ, सबै राम्रा छन् भनेपछि उनी निकै हौसिइन् । उनले रमेश पौडेललाई प्रेरणाको स्रोत मान्छिन् ।

दीपा गौतममार्फत नेपाल टेलिभिजन छिरेर आधा घन्टाको सञ्जीवनी कार्यक्रम उत्पादक भइन् । साप्ताहिक रूपमा प्रसारण हुने त्यो कार्यक्रम उनले एक वर्ष चलाइन् । त्यही समय नेपाल टेलिभिजनले मेट्रो टीभी सञ्चालनमा ल्यायो । त्यहाँ उनले संवाददाताको रूपमा पनि काम गरिन् । तर करार जागिर थमौती भएन । जागिर खोज्ने क्रममा रेडक्रस छिरेकी उनको त्यहाँ पनि १३ वर्ष भइसक्यो । रेडक्रसमा पनि रेडियो कार्यक्रम उत्पादनको जिम्मा दिइयो उनलाई ।

उनले २०६९ सालमा एउटा गीत र कविताको संग्रह पनि निकालिन् । उनका केही गीत अञ्जु पन्त, नरेन्द्र प्यासी, स्वरूपराज आचार्य, सरोज कोइरालालगायत गायकगायिकाको आवाजमा रेकर्ड भइसकेको छ । उनले गत पुसमा दोस्रो गीति एल्बम ‘अभिनव’को पनि लोकार्पण गरिन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2