MENU

कम्युन होटेल : नेवा लहना

कृष्णराज सर्वहारी शुक्रवार, मंसिर १५, २०७४ 910 पटक पढिएको

Share This

635-X-85_1

एक घरले अर्कोलाई नछेक्ने । तह तह मिलेर बनेको उपत्यकाको एक सुन्दर सहर कीर्तिपुर । ऐतिहासिक विरासतसमेत बोकेको कीर्तिपुरले दार्जिलिङ सहरलाई सम्झाउँछ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस यहाँ स्थापना हुनुले विद्याको खानीका रूपमा पनि लिइन्छ यो सहरलाई । पृथ्वीनारायण शाहलाई कडा टक्कर दिने सहरको चिनारी पनि बोकेको छ कीर्तिपुरले ।

यसरी कीर्तिपुरलाई विभिन्न कोणबाट पारिभाषित गर्न सकिन्छ । कीर्तिपुर, थाम्बहाल टोलका बासिन्दा भने आफ्नो टोलको परिचय फेर्ने अभियानमा छन् । यस टोलमा तीन सय २७ जनाको परिवार छ, जसका एक सय ९० सदस्य रोजगारमा छन् । यही टोलका ७१ जना त कम्युनको रूपमा संयुक्त रूपमा चलाइएको नेवा लहना रेस्टुरेन्टमा कार्यरत छन् । नेपालको प्रतिव्यक्ति आय ११ सय डलर छ । तर यो टोलका सदस्यको प्रतिव्यक्ति आय औसत दुई हजार सात सय डलर पुगेको छ । टोलका अगुवा राजमान महर्जन ‘मानव’ भन्छन्, ‘थाम्बहाल टोललाई आम्दानीको दृष्टिले युरोपको स्टेन्डरमा पुर्‍याउने योजना छ ।’

लहनाको छलाङ

कीर्तिपुरमा महर्जनहरूको बाक्लो बस्ती छ । उनीहरूको परम्परागत पेसा खेतीपाती हो । धान रोप्ने, काट्ने बेला अझै पर्म प्रथा छ यहाँ । पर्मकै बेला एक दिन एक हूल युवाले यहाँका अगुवा राजमान महर्जनलाई घेर्दै भनेछन्, ‘दाज्यू यो खेतीपातीले मात्रै पार लाएन । पैसा कमाउने केही उपाय बताउनु पर्‍यो ।’

राजमानले कीर्तिपुरको बजारलाई नजिकबाट नियालिरहेका थिए । उपत्यका बाहिरका बासिन्दा यहाँ आएर व्यापारमा जमिरहका थिए । तर, यहीँका रैथाने या खाडी मुलुक या खेतीपातीमा या त घर भाडामा लाएर सानो आम्दानीमै मक्ख थिए । उनले युवाहरूलाई भने, ‘मेरो कुरा मान्छौ भने मसँग एउटा गज्जबको आइडिया छ ।’

उनले आइडिया बताए । ‘नेवारी खाजा सेट बेच्ने । टोलका एक घरका एकजनाले कम्तीमा पाँच हजार रुपैयाँ जम्मा गर्ने र संयुक्त रूपमा रेस्टुरेन्ट चलाउने ।’ यही आइडियाले अहिले चलेको छ नेवा लहना रेस्टुरेन्ट । यसलाई उनीहरूले नेवारी संग्रहालय नाम दिएका छन् । खानेकुरामा हाल्ने मसला उनीहरू किन्दैनन् ।

आफ्नै ढिकी, खलमा कुट्छन् । प्रशासनको इजजात लिएर आफ्नो रेस्टुरेन्टको प्रयोगको लागि मात्र लोकल रक्सी र छ्याङ तयार पार्छन् ।सुकुलमा पलेँटी कसेर कीर्तिपुर दक्षिण भेगको नगाउँ बाहिरको दृश्यावलोकन गर्दै खाजा खानुको बेग्लै मजा रहेको भैंसेपाटीका विक्रम शेरचनले बताए ।

AKD_8247

लहना भनेको सभ्यता हो । २२ भदौ २०६३ मा खोलिएको नेवा लहना रेस्टुरेन्ट स्थापना कालको ११ वर्ष पार गरी १२ वर्ष लागेको छ । एकताका रोल्पा, रुकुमतिर कम्युन अभ्यासमा थियो । तर, समयान्तरमा त्यो असफल भयो । कीर्तिपुर थाम्बहाल पुग्दा नयाँ शैलीमा कम्युन अभ्यास जीवित रहेको आभास हुन्छ । छोराछोरी काममा व्यस्त हुन्छन् । वृद्धवृद्धा आफैं खाना पकाएर खान सक्दैनन् । तर, यस टोलमा कुनै वृद्धवृद्धाले छोराछोरीको आगमन कुरेर भोकै बस्नु पर्दैन ।

नेपाल संवत् ११३८ बाट रेस्टुरेन्ट सञ्चालकहरूकै पहलमा ‘वृद्ध सेवा केन्द्र’ खोलिएको छ । यहाँ पारिलो घाम ताप्दै लहरै बसेर वृद्धावृद्धाहरू निःशुल्क खाजा खान्छन् । उबेलाका कुरा गर्दै गफिन्छन्।अहिले नेवा लहनाले वार्षिक नौ करोड रुपियाँको कारोबार गर्छ । उनीहरू पैसा मात्रै कमाइरहेका छैनन् । समाजसेवामा पनि सक्रिय छन् । यही समूहले आफ्नो टोल मात्रै होइन, बेलाबेलामा पूरै कीर्तिपुर नै सरसफाइ गर्ने गरेको छ ।

विदेशी ग्राहक

नेवा संग्रहालय नाम दिइएको रेस्टुरेन्टको एक शाखामा ५० प्रतिशत ग्राहक विदेशी हुन्छन् । आफ्नै घरको भान्सामा बसेझैं आफ्नैअगाडि तयार भएका पकवान खान पाउनु यहाँको विशेषता हो । बेलायती पर्यटक जेम्सले भने, ‘यो रेस्टुरेन्टको बारेमा साथीबाट थाहा पाएँ । यहाँ आउँदा धेरै रमाइलो लाग्यो ।’

लहना भनेको सभ्यता हो । कीर्तिपुरको नेवा लहना रेस्टुरेन्ट स्थापना कालको ११ वर्ष पार गरी १२ वर्षमा पाइला टेकेको छ । रोल्पा, रुकुममा कम्युन अभ्यास असफल भए पनि कीर्तिपुर थाम्बहाल पुग्दा भने कम्युन अभ्यास जीवित भएको आभास हुन्छ । यस टोलका कुनै वृद्धवृद्धाले घरमा खाजा कुर्नु पर्दैन । लहनाले निःशुल्क ख्वाउँछ ।

रेस्टुरेन्टकी कञ्चन महर्जन विदेशी पाहुनालाई आफ्नो समुदायको परिकार खुवाउन पाउँदा खुसी लागेको बताउँछिन् । क्यासियर यमुना महर्जनले विदेशी र नेपालीलाई खानाको एउटै सेट भएको जनाइन् । यद्यपि कीर्तिपुरका आमहोटलका नेवारी खाजाभन्दा यहाँ थोरै महँगो छ । नेवारी परिकारको सम्पूर्ण खाजा सेट पाइने भए पनि ग्राहक थरीथरी आउने हुँदा अब चाइनिज, इन्डियन, कन्टिनेन्टल खाना पनि थप्दै जाने उनीहरूको योजना छ ।

नेवारी परिकार प्रायः पिरो हुन्छ । क्यासियर महर्जनका अनुसार ग्राहकको अर्डरअनुसार पिरो, मसलाको मात्रा पनि कम गरिन्छ । विदेशी ग्राहकले प्रायः टिप्स पनि दिने गरेका छन् । कर्मचारी मनिता गोपाली भन्छिन्, ‘म्हपूजाका दिन सबै कर्मचारीले बराबर भाग लगाएर टिप्स बाँड्छौं ।’ अहिले थाम्बहाल टोलका ७१ र अन्य टोलका ११ जना गरी ८२ जना कर्मचारी कार्यरत छन् । तिनको तलबका लागि मात्रै मासिक ५० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

रेस्टुरेन्टसँगै नेवा लहनाका सञ्चालकले अन्य व्यवसाय पनि बढाउन थालेका छन् । आफैंलाई धेरै चाहिने भएपछि ग्यासको डिपो नै खोलिएको छ, जहाँबाट अन्यले पनि ग्यास सिलिन्डर किन्न सक्छन् । बेकरी बनाउनेदेखि सिलाइ कटाइ पनि खोलिएको छ । प्लास्टिकलाई विस्थापित गर्न सस्तो खालको कपडाको झोला यहाँबाट उत्पादन हुने गरेको छ । सञ्चालक राजमान महर्जन रेस्टुरेन्ट हातामै खोलिएको किराना पसल नेपालकै सबैभन्दा सस्तो भएको दाबी गर्छन् ।

कीर्तिपुरको बाघभैरब मन्दिर परिसरबाट दुई सय मिटर पश्चिमपट्टि छ, नेवा लहना रेस्टुरेन्ट । मन्दिरको दर्शन गर्दै काठमाडौं उपत्यकाको दृश्यावलोकनपछि प्रायः सपरिवार लहनाको परिकार चाख्न पुग्छन् । छोराछोरी र श्रीमतीसहित रेस्टुरेन्टमा आएका स्थानीय माइला महर्जन भन्छन्, ‘यहाँ आइयो भने आफ्नै घरमा खाएजस्तो लाग्छ ।’

नेवा लहनामार्फत सिंगो कीर्तिपुरलाई उपत्यकाको फुड प्वाइन्ट बनाउन चाहन्छन् सञ्चालक राजमान । तिनको समूहले गरेको एक सर्भेअनुसार २०६७ साल अघिसम्म औसत ६ सय उपत्यका बाहिरका ग्राहक कीर्तिपुरका विभिन्न रेस्टुरेन्ट आउँथे । २०७४ सालमा आइपुग्दा बाहिरका ग्राहक संख्या औसत १८ सय पुगेको छ । राजमानका अनुसार कीर्तिपुर बाहिरका ग्राहकलाई तान्न सक्नुमा लहना ब्रान्डको पनि योगदान छ ।

उनी त आफ्नो टोलको प्रत्येक घरमा होमस्टेझैं रेस्टुरेन्ट होस् भन्ने चाहन्छन् । केहीले क्षमताअनुसार आफ्नो घरमा सुरु पनि गरिसके । पहिले थाम्बहाल टोलका मात्रै ३९ जना खाडी मुलुकमा थिए । अहिले खाडी मुलुकमा यस टोलका दुईजना मात्रै छन् । युवालाई स्वेदेशमै विभिन्न काममा संलग्न गराएर मुलुककै धनी टोल बनाउन उद्यत छन् महर्जन ।

रेस्टुरेन्टको आम्दानीको मासिक दुई लाख रुपियाँ थाम्बहाल टोलको पुनःनिर्माण, सरसफाइ, बाटोघाटो आदिमा खर्च गर्ने गरिएको छ । यसमा संलग्न परिवारहरूको पानी, बत्तीको बिल पनि यसै समूहबाट तिरिन्छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन पनि यसै थाम्बहाल टोलकै हुन् । भन्छन्, ‘यहाँका युवाको सिको देशका अन्य टोलका युवाले पनि गर्न सके नेपाल समृद्ध हुन बेर लाग्दैन ।’
१२ मंसिरमा कीर्तिपुर सहरमा ‘सातगाउँले’ जात्रा लाग्दैछ । यही जात्राको अवलोकनको अवसरमा नेवाः सभ्यताको नयाँ कम्युन हेर्न तपाईं पनि एकपटक नेवाः लहना पुग्ने कि ?

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2