MENU

नेपाली संगीत म्युजिक एरेन्जरको काँधमा

समीरबाबु कट्टेल शुक्रवार, मंसिर १५, २०७४ 1299 पटक पढिएको

Share This

635-X-85_1

सबैतिर गायकगायिकाकै ‘डिमान्ड’ हुन्छ । ‘वर्ड टुर’मा निस्कन्छन् र हाइहाइ बटुल्छन् उनीहरू । छिटफुट रचनाकार र संगीतकारको नाम सुनिन्छ । तर, त्यो गीत बनाउन महत्वपूर्ण भूमिका खेल्ने म्युजिक एरेन्जर गुमनाम हुन्छ । उनीहरूबारे न कसैबाट सोधनी हुन्छ, न मञ्चबाट गायकले नै नाम भनिदिन्छन् ।

म्युजिक एरेन्जरले पर्दा पछाडि बसेर संगीतलाई सघाइरहेको हुन्छ । मुख्य धुन संगीतकारले सिर्जना गरे पनि त्यसपछि संगीतलाई कता लैजाने भन्ने जिम्मा म्युजिक एरेन्जरको हुन्छ । पर्दापछाडि बसी प्रविधिको प्रयोग गरेर गीतलाई ‘हिट’ बनाउने ती लुप्त पात्रहरूले अहोरात्र काम गर्छन् ।

एरेन्जरले चाह्यो भने संगीतको ‘प्याट्रन’ नै बदल्न सक्ने बताइन्छ । संगीतकारले ल्याएको कोरा धुनलाई प्रविधि प्रयोग गरी शृंगार गर्ने सन्दर्भमा कतिपय मौलिक संगीतको स्टुडियोभित्रै मृत्यु भएको घटनासमेत संगीतकर्मीहरू सुनाउँछन् । ‘एरेन्जर आफैंमा एक कुशल संगीतकार हो । ऊ दोहोरो भूमिकामा हुन्छ, संगीतलाई फूलबुट्टा भर्ने र सजाउने काम गर्छ ।’ संगीतमा एरेन्जरको जिम्मेवारीबारे संगीतकार तथा म्युजिक एरेन्जर अशोक राई भन्छन्, एरेन्जरसँग परम्परागत कला र संस्कृतिको ज्ञान अत्यावश्यक हुन्छ । आधुनिक बजार बुझेको हुन पनि उत्तिकै जरुरी छ ।’

उनको भनाइबाट एरेन्जर संयोजनकारी भूमिकामा हुन्छ भन्ने प्रष्ट हुन्छ । एरेन्जरमा संगीत बुझ्न सक्ने खुबी र व्यवस्थापकीय ज्ञान हुनुपर्छ । उसँग सिर्जनाशक्ति एवं आधुनिक प्रविधिसमेतको राम्रो दक्षता अत्यावश्यक हुन्छ । एरेन्जर मनोहर सुनाम भन्छन्, ‘खासमा एउटा खारिएको संगीतकार नै एरेन्जर हो ।’

‘एरेन्जर आफैंमा एक कुशल संगीतकार हो । ऊ दोहोरो भूमिकामा हुन्छ । संगीतलाई 
फूलबुट्टा भर्ने र सजाउने काम गर्छ ।’

संगीतकार र एरेन्जरसँगै काम गर्छन् । उनीहरूबीच आपसी समझदारी जरुरी छ । संगीतकार र एरेन्जरबीचको सम्बन्धबारे अझ प्रस्ट्याउदै संगीतकार तथा एरेन्जर शिलाबहादुर मोक्तान भन्छन्, ‘यी दुईबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ । कामको समयमा आफ्ना कुरा प्रस्ट राख्नुपर्छ । के काम फत्ते गर्न खोजिएको हो सो बारेमा पहिल्यै छलफल गर्नुपर्छ । यसो भएन भने गायकले चाहेको कुरा नआउन पनि सक्छ । त्यसैले, दुवैजना सिर्जनशील हुनुपर्छ ।’

आजको बजार प्रविधि र व्यवसाय उन्मुख छ । गीतसंगीत क्षेत्र त्यसको प्रभावबाट मुक्त छैन । नेपाली परम्परा र संस्कृति झल्कने धुन, भाका, लय र बाजा दिनानुदिन लोप हुँदै आधुनिक बाजाहरूको छायामा पर्न थालेको प्रति संगीतकर्मी चिन्तित छन् । यसबारे एरेन्जरहरू कत्तिको सचेत छन् त ? राई थप्छन्, ‘हाम्रा हाक्पारे, पालम, साकेला, मारुनी, बालन, देउडा आदिको विशिष्ट पहिचान छ । यसमा आधुनिक बाजाहरूको बढ्दो प्रयोगले आफ्नोपन आउन सकिरहेको छैन ।’ साधना र धैर्य नभएको एउटा जमात बजारको पछिपछि कुदिरहेको उनी तर्क गर्छन् ।

हिजोआजका लोकदोहोरीले परम्परा मिचेको गुनासो आम श्रोताको छ । कतिपय दोहोरीले स्थानीय भाका बेवास्ता गरेको बताइन्छ । आधुनिक अंग्रेजी बाजाको बढ्दो प्रयोगले हाम्रा लोकभाकाहरू लोप हुँदै गइरहेका छन् । एरेन्जर सुनाम भन्छन्, ‘अहिलेको नयाँ पुस्ता काममा गम्भीर छैन । क्षणिक लाभका पछि दौडिरहेको छ । पर्याप्त ज्ञानबिना नै चर्चा खोजिरहेका छन् । यो नेपाली गीत संगीतको दुःखद् पक्ष हो ।’ यसबारेमा मोक्तान थप्छन् ‘म सुरुदेखि नै आवाज उठाइरहेको छु । लामो अध्ययन र अनुभवको महत्वबारे नयाँ पुस्तालाई भनिरहेको छु ।’

एरेन्जर माथि एक प्रकारको आरोप पनि लाग्ने गरेको छ । उनीहरू मनलाग्दी काम गर्छन् । नजानेको काममा हात हाल्छन् । गीतकार र संगीतकारले खोजेको कुरा दिन सक्दैनन् । ‘गाउँको लोकभाका रेकर्ड गर्नुपर्ने थियो । एरेन्जरले अर्कैअर्कै भाका निकालिदिए । रेकर्डिङ सकिँदा मेरो आफ्नो सिर्जना नै होइन जस्तो लाग्यो ।’ एक गायकले नाम उल्लेख नगर्ने सर्तमा भने । एरेन्जरले संगीतकारको मौलिक संगीत बिगार्छ कि बनाउँछ ? भन्ने प्रश्नको उत्तरमा एरेन्जर राई भन्छन्, ‘यस्ता प्रश्न एरेन्जरको दक्षतासँग जोडिन्छन् । संगीतकार र एरेन्जरबीचको समन्वयात्मक सम्बन्धले मात्र काम राम्रो हुन्छ । अनुभवहीन कामले यस्ता आरोप आउँछन् ।’

गायक र संगीतकारको चाहना बुझ्न नसक्दा यस्ता लाञ्छना झेल्नुपर्ने, अपजसहरू आउने बताउँदै एरेन्जर मोक्तान भन्छन्, ‘नेपाली गीतमा मौलिक शब्दको खडेरी छ । स्थानीयता पटक्कै छैन । नयाँ पुस्ता आधुनिकताको पछि कुदेको छ । एउटा एरेन्जरले यस्ता हरेक कुरामा ध्यान दिन जरुरी छ । गायकलाई समेत कतिपय कुरामा सहयोग गर्नुपर्छ । यसले मात्र गीत संगीतको प्रवद्र्धनमा टेवा पुग्छ।’

एरेन्जरलाई लाग्ने गरेको यही आरोपबारे उदीयमान गायक विमल गौतम फरक धारणा राख्छन्, ‘पर्याप्त ज्ञानबिना नै गीतसंगीतमा हाम फालेर छिटो प्रतिफल खोज्ने प्रवृत्तिले यस्ता आरोप आउँछन् । गाउने मान्छे जबसम्म आफ्नो कामप्रति सन्तुष्ट हुँदैन, तबसम्म दोषारोपण चलिरहन्छ । सर्वप्रथम गायक आफैं दक्ष हुनुपर्छ ।’

सधैं पर्दापछाडि रहने राम्रा एरेन्जरहरू काठमाडौंमा सीमित संख्यामा छन् । पूर्वको धरान, इटहरी, पश्चिममा बुटवल, धनगढी हुँदै पोखरा, नारायणघाटसम्म पनि यसको बजार विस्तार भइरहेको छ । जीविकोपार्जनका हिसाबले पनि यसको सम्भावना बलियो देखिन्छ । गीत, संगीतको बजार र प्रतिस्पर्धा बढेसँगै आयआर्जन पनि बढेको बताउँदै मोक्तान भन्छन्, ‘कुशल एरेन्जरहरूको कमाइ निकै माथि पुगेको छ । थोरै पैसामा काम गर्ने पनि बजारमा नभएका होइनन् । तिनको काम चिन्न भने जरुरी छ ।’

आजको समाज र यसका पात्रहरू नामको पछाडि हिँडिरहेका छन् । सानातिना कामको पनि छिटो चर्चा होस् भन्ने चाहन्छन् । यो एउटा सामाजिक समस्या नै बन्दै गइरहेको छ । छोटो समयमा नाम कमाउन चाहनेहरूका लागि संगीत एरेन्जिङको काम उपयुक्त नहुने बताउँदै मोक्तान भन्छन्, ‘यो व्यवसायमा तपस्या चाहिन्छ । लामो समय खर्चिनुपर्छ । यसैभित्र हराउन जान्नुपर्छ । यसो भयो भने संगीतभित्र डुब्न सकिन्छ । अनिमात्र काम राम्रो हुन्छ ।’

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2