MENU

रोहिंग्या शरणार्थी फिर्ता गर्न छलफल

एजेन्सी सोमवार, मंसिर १८, २०७४ 805 पटक पढिएको

Share This

635-X-85_1

यांगुन : बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यान्मारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ ।यसअघि बंगलादेश र म्यान्मारबीच करिब दुई महिना भित्रमा रोहिंग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो ।

यस विषयमा थप छलफलका लागि सोमबार बंगलादेश र म्यान्मारका उच्च अधिकारीहरूबीच भेटवार्ता हुने भएको छ । म्यान्मारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यान्मारको रोहिंग्या समुदायले देश छोडेर भागेको थियो । विशेषगरी रोहिंग्याहरूको बसोवास रहेको म्यान्मारको राखिन राज्यबाट करिब ६ लाख २० हजार व्यक्ति भागेर बंगलादेश पुगेका थिए । यसरी भागेका शरणार्थीहरू हाल बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् । म्यान्मारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसंख्यक रोहिंग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ ।

विश्व समुदायले नै म्यान्मार सरकारको यो कदमको निकै विरोध गरेको छ । विश्वभरबाट म्यान्मारका रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेको समयमा म्यान्मारकी विदेशमन्त्री एवं राज्य सल्लाहकार आङसान सुकी र बंगलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यान्मारको नइपिदवमा दुई साताअघि भएको बैठकले रोहिंग्या शरणार्थीलाई फर्काउने सहमति गरेको थियो ।

उनीहरूलाई फिर्ता गर्ने प्रयासस्वरूप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको थियो । त्यसैबमोजिम सोमबार पनि उच्च अधिकारीबीच बैठक बस्न लागेको हो । सहमतिअनुसार आगामी तीन साताभित्र कार्यदल बनाई काम शुरु गरिनेछ । छोटो प्रतिक्रिया दिँदै बंगलादेशी अधिकारीले भने, ‘शरणार्थीलाई फर्काउन गरिएको यो शुरुवाती कदम हो ।

म्यान्मारले रोहिंग्यालाई फिर्ता लानेछ । अब हामीले काम शुरु गर्नुपर्छ ।’ कति रोहिंग्यालाई स्वदेश फर्काइँदै छ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् । यद्यपि अब बस्ने बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ ।

म्यान्मारका जनताद्वारा पोपको आलोचना

क्रिस्चियन धर्मगुरु पोपले म्यान्मारबाट ढाका पुगेका शरणार्थी रोहिंग्या नै भएको जनाएपछि उनीविरुद्ध म्यान्मारका सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । त्यहाँका जनताले पोपले असम्बन्धित कुरा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । गत शुक्रबार क्याथोलिक चर्च प्रमुख पोपले म्यान्मारबाट बंगलादेश शरण लिनेहरू राखिनबाट लाखौँको संख्यामा शरण लिन पुगेका र उनीहरू मुस्लिम धर्मावलम्बी भएको पोपले बताएका थिए । क्रिस्चियन धर्मगुरुले शरणार्थीलाई ‘रोहिंग्या’ अल्पसंख्यक मान्ने कुरालाई म्यान्मारमा राजनीतिक रूपमा संवेदनशील मानिँदै आएको छ ।

उनले म्यान्मारमा सुकीसँगको भेटमा भने अल्पसंख्यकमाथि विभेद हुन नहुने भनेर मात्रै बोलेका थिए । उनले रोहंग्या भनेर उच्चारण गरेका थिएनन् । उनी म्यान्मारबाट फर्किएपछि भने ती शरणार्थीहरू रोहिंग्या मुस्लिम भएको बताएका थिए ।

पोपले शरणार्थीबारे सही कुरालाई निरन्तरता दिन र उनीहरूलाई सहयोग गर्न आग्रह गरेका थिए । म्यान्मारबाट ढाका पुगेका करिब ६ लाख २० हजार शरणार्थी रहेका भनी खबर आएपनि म्यान्मारले ती सबै रोहिंग्या अल्पसंख्यक नभई अवैध रूपमा बंगलादेशबाट म्यान्मार आई बसोवास गरेका बंगलादेशी भएको दाबी गर्दै आएको छ ।

 

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2