MENU

अब तस्बिर र सम्झना मात्रै बाँकी...

महेश केसी सोमवार, मंसिर १८, २०७४ 9036 पटक पढिएको

Share This

635-X-85_1

रुकुम जिप दुर्घटना

‘न रहरले जन्मियौ हामी
न रहरले मरेरै हो जानी
जिन्दगानीमा...
तेरो-मेरो भन्नु नै के छ र मरी लानीमा।'

लोक गायक विमलराज क्षेत्रीको स्वरमा रहेको यो गितमा भने जस्तै हामी न चाहेर जन्मेका हौ, न चाहेर मर्छौ। कहाँ, कतिबेला, कुन अवस्थामा यो जिन्दगीको यात्रा टुङ्गिने हो कसलाई के थाहा। जन्मपछि मृत्यु अनिवार्य छ भन्ने थाहाँ हुदाहुदै पनि हामी मृत्यु स्वीकार गर्न कदापी सक्दैनौं। तर, परेपछि स्वीकार गर्नैपर्छ, मेरेर गएकाहरुको सम्झनालाई मनमा राखेर बाचेकाहरु हास्ने प्रयासमा लाग्नैपर्छ, बाच्ने प्रयास गर्नैपर्छ। यसको बिकल्प छैन।

गत मंसिर ८ गते शुक्रबार साँझ झण्डै ७ः३० बजेतिर रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोट आउदै गरेको ग १ ज ४२६० नं. को जिप मुसीकोट नगरपालिका-६ कालीमाटीमा दुर्घटना हुदाँ तीन दिन अघि मात्रै लागनगाठोमा कसिएर संगै बाच्ने कसम खाएका रुकुम सिस्ने गाउँपालिका वडा नं ५ का नविन श्रेष्ठ र ईटहरी उपमहानगरपालिका १७ की अनिता प्रधान संगै अस्ताए।

नविन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट सरुवा भई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा प्रमुख पदमा गत मंसिर १ गते हाजिर भएका थिए भने अनिता जिल्ला प्रहरी कार्यलय रौतहटमा प्रहरी निरीक्षक पदमा नै कार्यरत थिइन्। यी दुबै जना २०७० सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए। यो जोडीसंगै यही दुर्घटनामा परेर नविनका हजुरबुवा शेरबहादुर श्रेष्ठ, अंकल सुधन श्रेष्ठ, फुपु सुरेखा शाह, छिमेकी जनक शाह र यमुना मल्लको पनि निधन भएको थियो।

आइतबारको मध्यान्नतिर आकाशमा लागेको मधुरो बादलले सुर्यको न्यानोलाई केही कम गरेको थियो। अग्ला पहाडबीच रहेको रुकुमकोट उपत्यकाको मध्य भागमा अवस्थित स्वर्गीय नविन श्रेष्ठको घर पुग्दा, घरको आगनमा उनका ४८ वर्षीय बुवा एकसरो सेतो कपाडामा पिढिमा बसेर आफन्तजनसँग छोरा-बुहारीको सम्झना गर्दै थिए। भविष्य बोकेर घर-परिवार अनि देशको समेत सपना पूरा गर्ने लक्ष्य राखेर उन्नतीको मार्गमा हिँडेका र भर्खरै मात्र नयाँ जिन्दगीको सुरुवात गरेका जवान छोरा-बुहारी गुमाउनु पर्दाको पिडा कम थिएन उनलाई।

दशधारा दुध पिलाएर, ‘को खाई-को खाई' गर्दै पालेर, आफ्नै आखाँ अगाडी जवान भएका आफ्ना सन्तान आमा-बावुका लागि कहिल्यै ठुला हुदैँनन्, सधै सानै लाग्छन्, सधै ‘को खाई-को खाई' गरेर खुवाउन मन लाग्छ। तर टेकहादुर र उनकी श्रीमती ४७ वर्षीया टिका कुमारी श्रेष्ठले आफ्ना छोरालाई आफ्नो प्राण रहुञ्जेल मायाले सुम्सुम्याउन त पाइनिन् नै, बुहारीलाई समेत राम्रोसँग ‘बुहारी' भन्न पाइनिन्। ‘हाम्रा आँखैअघि जन्मिए, आँखैअघि मेरेर गए।' गहभरी आशु पार्दै मधुरो स्वरमा सुस्तसँग नविनकी आमा भाग्य र भगवानसँग गुनासो गर्दै थिइन्, ‘अहिले पनि ‘आमा...' भन्दै छोरो आइहाल्छ कि जस्तो लाग्छ। फोटो हेर्छु, ‘किन रोएकी हौ आमा ?' भनिहाल्छ कि जस्तो लाग्छ। दैवले हाम्रो सबै खुसी लिएर गयो, दुःख दिएर गयो।'

Image may contain: house and outdoor

गत मंसिर ६ गते माइतीले कन्यादन गरिदिएपछि बैवाहिक नातामा गाँसिएका श्रेष्ठ दम्पती दाङमा आएर आफन्तजनहरुलाई त्यही आमन्त्रण गरी शुभकामना र आशिर्वाद आदानप्रदान गर्ने परिवारको योजना थियो तर, बुहारीले नै चाडै फर्किने गरी घर (रुकुमकोट)मा नै गएर कुललाई आफ्नै हातले ध्वजा लगाई फर्किने इच्छा गरेपछि टेकहादुरलाई पनि यो कुरा ठिकै लाग्यो र योजना परिवर्तन भएको थियो। उनीहरु ७ गते साँझ घर पुगेर ८ गते दिनभरी घरमा रमाइलो गरी सोही दिन साँझ कार्यक्षेत्रतर्फ फर्किने भनेर केही हतार गरेर जिपमा सवार भएका थिए।

तर, भनेजस्तो भएन, न आफन्तको आर्शिवाद काम आयो, न शुभचिन्तकको शुभकामना। ‘हुने हार दैव नटार।' भनेजस्तै भयो। ‘साँझ भैसक्यो भोलि बिहानै जाऊला भनेको थिए। छोराले नै हैन बा, बिवाहको काम सकिसक्यो, चुनाब आउदै छ हामीलाई पनि हाम्रो डिउटीमा पुग्नु छ भन्दै हतार गरेपछि हामीले पनि आफ्नै घर हो फेरी आइहाल्छन् क्यारे भनेर बिदा गरेको आज यो देख्नुपर्‍यो।' छोराको क्रिया बसेका नविनका बुवाले भने, ‘के गर्नु उता (इटहरी बुहारीको माईती)बाट सम्धीको फोन आउछ, उनीहरुलाई पछुतो छ, हाम्री छोरीसँग विवाह नगरेको भए यस्तो हुन्थेनकी भन्नुहुन्छ्, हामीले छोरा-बुहारी गुमायौं, हजुरहरुले छोरी-ज्वाई गुमाउनुभयो। भाग्यको खेल नै यस्तै रहेछ। भन्दै आफू-आफुलाई सम्हाल्ने प्रयास गर्छौ।'

घरमा सान्तवना दिन र भेटघाट गर्न आउनेको जमघट भैरहन्छ। केही दिन अघि नविन र अनिताको स्वागतका लागि बनाएको स्वागतद्धार भत्किाइएको भएपनि छेउमा थन्किएको छ। छोरा-बुहारीले घर भित्रिदा लगाएको मुल ढोकाको टिका अहिले पनि उस्तै छ। विवाह गरेर फर्किदाँ दाङबाट नविनले नै ल्याएको एक कार्टुन सुन्तला पनि जस्ताको तस्तै छ। सबै उस्तै छ तर, न नविन छन् न उनकी नव-दुलही अनिता। यसकारण रित्तो-रित्तो जस्तो देखिएको छ नविनको घर। अहिलेपनि सबैले नविन र अनितालाई नै पर्खिरहेको जस्तो लाग्छ। नविनकी बहिनी सलिना, भाई विनोद अनि उनका साथीभाई र छरछिमेक सबैलाई छोडेर गएका उनीहरु अब कहिल्यै फर्किने छैनन्।

उता पश्चिम रुकुमको मुसीकोट नगरपालिका १ मठमा रहेको अर्को श्रेष्ठ परिवारमा पनि यो भन्दा कम दुःख छैन। ६८ वर्षीय शेरबहादुर श्रेष्ठसँगै अस्ताए उनका तीन छोरा मध्येका एक छोरा सुधन र एक मात्र छोरी सुरेखा। नातिको विहे भोज खान उनकै घर रुकुमकोट गएका शेरबहादुर र उनको छोरा सुधनसँगै आफ्नो भदैको विवाह भोजभन्दा निर्वाचन सम्पन्न गर्नु महत्वपुर्ण ठानेकी सुरेखालाई समयले सँगै चुडाइदियो। सुरेखा निर्वाचनमा खटिएको स्थल साँखाबाट दुलाह-दुलही चढेको जिप चढेर घरतर्फ फर्किदाँ दुर्घटनामा परेकी थिइन्।

मुसीकोटमा रहेको स्वर्गीय शेरबहादुरको घरको पिढीमा उनको र छोरा-छोरीको गरी तीन जनाको तस्विर छ, फुलको माला लगाइएको उक्त तस्बिरमा रातो टिका लगाइदिँदै आफन्तहरु लामो ‘खुई...' छोड्छन् र दुई थोपा आशु पनि त्यही समर्पन गर्छन्। शेरबहादुरका तीन छोरा मध्ये जेठा छोरा प्रकाशले आफ्ना बावुको क्रिया गरेका छन्। कान्छा सुरज अमेरिका गएको एक बर्ष पनि पुगेको छैन। सुधनका १४ बर्ष र १७ बर्षका दुई छोराहरु छन्। दुबै छोराले बुवाको क्रिया गरेका छन्।

७२ बर्षकी शेरबहादुरकी श्रीमतीको आखाँभरी आफ्ना श्रीमान र छोराछोरीको तस्विर झल्झली आइरहन्छ। उनको बृद्ध मनलाई त यो सबै सपना हो की झै पनि लागिरहेको छ। ‘म पनि कति बाचौला र बरै, बुढाले मलाई एक्लै छोडेर जवान छोरोसँगै गए।' लर्खराउदै शेरबहादुरकी श्रीमती भन्छिन्, ‘सिसा जस्तै रैछ यो जोवन, हेर्दाहेर्दै फुट्यो।' त्यस्तै सुधनकी श्रीमतीलाई आफ्ना दुई सन्तानको लालन-पालन र घर व्यवहार कसरी धानौला भन्ने पिर लागिरहन्छ। ‘यी छोराहरु र यो घर-व्यवहार कसरी धानौला भन्ने पिर छ।' उनि भन्छिन्, ‘म पनि एक्लै भैगए, छोराहरु मै तिर हेर्छन्, म को तिर हेरौ ? कसरी बाचौ ?'

यो दुई घरको कुरा भयो यही दुर्घटनामा परेका अरु तिन घरमा पनि यस्तै पिरको कहानी छ, शेरबहादुरकी एक मात्र छोरी सुरेखाको अन्त्यष्टी गर्न उनका घरपट्टीकाले उनको पुर्खौली घर आठविसकोट नगरपालिकामै लगे। पेशाले शिक्षिका रहेकी दुई छोराकी आमा सुरेखाका श्रीमान सुनिलको जीवन रित्तो भएको छ, केही सोच्न सकेका छैनन्। उनका १५ बर्षको र १९ बर्षको दुई छोरा छन्। घर धानेकी श्रीमती र हर बखत मायाले सुम्सुम्याउने आमा गुमाएका यी बाबु-छोराहरुको पनि खुसी लुटिएको छ। त्यस्तै पश्चिम रुकुमको मुसीकोट नगरपालिका १ मठकै जनक शाह जो भलिवल खेलका राष्ट्रिय रेफ्री पनि थिए।

उनका त झन् ९ र ५ बर्षकी दुई छोरी छन्। श्रीमती कुन्तीलाई यती चाडै श्रीमानले छोडेर जालान् जस्तो लागेकै थिएन। सधै हसिलो चेहरा लगाएर ठट्यौलो पारमा रहने जनक नहुदाँ अब घर सुनसान भएको छ। दाई सुदर्शनले भाइको क्रिया गरेका छन्। साना छोरीहरु बाबालाई खोजिरहन्छन्। आमाले छोरीहरुलाई भुलाउन अनेक बहाना बनाउनुपरेको छ।

यही दुर्घटनामा परेर मृत्यु हुने अर्की हुन् मुसीकोट नगरपालिकाकै वडा नं. ६ रुकुम पश्चिमकी यमुना मल्ल। सुरेखाकी सहकर्मी शिक्षिका मल्ल पनि निर्वाचनकै लागि खटिएकी थिइन्। सुरेखासँगै मुसीकोट नगरपालिका ७ साँखाबाट दिनभरको काम सकेर घर फर्कदा उनी दुर्घटनामा परेकी हुन्। केही बर्ष अघि मात्रै यमहादुर शाहीसँग विवाह गरेकी यमुनाकी चार बर्षकी एउटी छोरी छिन्। उनका ससुरा रत्नपाल शाहीले बुहारीको क्रिया गरेका छन्। नेपाल सरकारको जागिरे यमुनाका श्रीमान पनि निर्वाचनमा नै खटिएका थिए। एक्कासी श्रीमतीको दुर्घटनाको खबर सुनेपछि अहिलेसम्म उनलाई यो सब झुट् हो झै लागिरहेको छ। तर, सत्य स्वीकार गर्दै आउने दिनहरुलाई सहज बनाउनु बाहेक अर्को बिकल्प उनीहरुसँग छैन।

दुर्घटनामा परी मृत्यु हुने सबैको स्वर्गवासको कामना गर्दै श्रद्धाञ्जलीका शब्दहरु समर्पन गर्नका लागि सबैको घरको गेटमा एउटा डायरी र रातो कलम राखिएको छ। सबैले उनीहरुको स्वर्गबासको कामना गर्दै राता अक्षरहरु कुदिरहेका छन्। अब ‘यस्तो दर्दानक घटना कहिल्यै नहोस्' भनेर कामना गरिहेका छन्।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2