MENU

अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास शुरु, उत्तर कोरियाद्वारा विरोध

एजेन्सी मंगलवार, मंसिर १९, २०७४ 2693 पटक पढिएको

Share This

635-X-85_1

सोल : अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास शुरु गरेका छन् । अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रूपमा लिइएको उक्त कदमको उत्तर कोरियाले विरोध गरेको छ ।

उत्तर कोरियाले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक अरू केही नभएको बताएको छ । सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको अमेरिकी दाबी छ ।

अभ्यासमा अमेरिका र दक्षिण कोरियाका करिब २३० वटा युद्धक विमान प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सैनिक तैनाथ छन् । दशौँ हजार दक्षिण कोरियाली सैनिक अभ्यासमा सहभागी भइरहेका छन् ।

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच विवादभइरहेका बेला सोमबार उक्त अभ्यास शुरु भएको हो । केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास शुरु गरेका छन् ।

यसमा शक्तिशाली युद्धक विमानहरूको पनि प्रयोग भएको छ । ती विमानहरू दक्षिण कोरियाको आकाशमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ । उत्तर कोरियाले गत महिनामात्र पनि समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । यसका साथै त्यसअघि उत्तरले हानेको यस्तो क्षेप्यास्त्र जापानको समुद्रमा परेको थियो 

विगतदेखि नै उत्तरका क्रियाकलापहरू निकै बढ्दो रूपमा देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको जनाइएको छ । दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले प्रतिरक्षात्मक प्रणाली (थाड) जडान गरिएको केही महिनामात्र अघि उनीहरूले जनाएका थिए । उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकाले आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले गतवर्षदेखि शुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरूमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।

उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रूपमा लिएको जनाएको छ । संयुक्त सैन्य अभ्यास बन्द नगरे आफूहरू पनि त्यसको जवाफका लागि बाध्य हुनुपर्ने चेतावनी उसले दिएको छ । सैन्य अभ्यासका क्रममा दक्षिण कोरिया र अमेरिकाको सेनाले उत्तर कोरियाको जल, स्थल वा आकाशमा छुनेमात्र प्रयास गरे आफूले नसहने र त्यसको प्रतिकारात्मक कारबाही गर्ने उसले जनाएको छ ।

दक्षिण कोरिया, अमेरिका तथा राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण रोकेको छैन ।

उत्तरको परीक्षण खतरा : आबे

जापानको संसद्ले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण जापानका लागि आसन्न खतरा भएको बताएको छ । प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियासँगको वार्ता पनि निरर्थक भएको बताए । जापानको माथ्लो सदनले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको सर्वसम्मत रूपमा विरोध गरेको छ ।

उक्त क्षेप्यास्त्र जापानको समुद्री क्षेत्रमा खसेको थियो । प्योङयाङ परमाणु एवं क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिन उद्यत देखिएको र यो जापानका लागि निकै खतरनाक भएको बताइएको छ । प्रस्तावमा भनिएको छ, ‘यो अन्तर्राष्ट्रिय समुदायका लागि पनि ठूलो चुनौती हो । यसलाई सहन सकिँदैन ।’

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2