MENU

मास क्याजल्टीको संवेदनशीलता

अन्नपूर्ण बुधवार, मंसिर २०, २०७४ 219 पटक पढिएको

Share This

635-X-85_1

सम्पादकीय

 

सोमबार कांग्रेसको तर्फबाट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका प्रत्याशी गगन थापालगायत कार्यकर्तामाथि लक्षित बम विस्फोटको घटनापछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा जुन दृश्य देखियो, त्यसले ‘मास क्याजल्टी’ प्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ, जसबारे थप विमर्श आवश्यक छ । घाइतेको उद्धार र उपचार क्रममा त्यहाँ जुन अव्यवस्था देखियो, त्यसमा व्यापक सुधार हुनुपर्ने महसुस स्वयं चिकित्सकहरूले गरेका छन् ।

अस्पताल व्यवस्थापन, सुरक्षाकर्मी वा स्वयं भीडमा उपस्थित जनसमुदायले पनि यसखाले दु:खद् घटना हुँदा संयमित भएर पहिले उद्धार र शीघ्र उपचार हुने वातावरण बनाउन सहयोग गर्नुपर्छ । यद्यपि सोमबार महाराजगन्जको दृश्य फरक थियो । उपचारमा खटिनुपर्ने चिकित्सकसमेतलाई भीड छिचोलेर आकस्मिक कक्ष पुग्न धौधौ परेको थियो । आतंकप्रेरित र आपराधिक प्रकृतिका हर्कत एकपछि अर्को हुँदै गरेको सन्दर्भमा अस्पताल प्रशासनले मास क्याजल्टी हुँदा उपचार व्यवस्थित बनाउनेतर्फ गम्भीर हुन आवश्यक छ ।

धेरै मान्छेलाई लक्षित गरी हुने आक्रमण र सर्वसाधारण प्रभावित हुने प्राकृतिक विपत्तिहरूमा सम्बन्धित पक्ष, उद्धारकर्ता स्वयंसेवी÷संस्था, अस्पताल, सुरक्षाकर्मीहरूको तदारुकता आवश्यक हुन्छ । घटना भएका ठाउँबाट अस्पताल अथवा उपचार कक्षसम्म पुर्यालउनमा ढिलाइ हुँदा घाइतेको ज्यानै जान सक्ने अवस्थामा बीचको बाटोलाई सम्भव भएसम्म छिटो र सहज बनाउनु या खाली गराउनु आवश्यक हुन्छ ।

त्यसो हुँदा एम्बुलेन्स र उद्धारक घटनास्थलदेखि उपचार कक्षसम्म सहज र छिटो पुग्न सक्छन् । घाइतेको ज्यान बचाउन सहज हुन्छ, तर सोमबार काठमाडौंको विस्फोटमा घाइते भएकालाई अस्पताल लैजाने र उपचार गर्ने क्रममा देखिएको अव्यवस्थाले हाम्रा समाजका यी आवश्यक संयन्त्र उदासीन रहेको देखियो ।

घाइतेको उपचार पहिलो प्राथमिकता हो, भावना र भेटगाट दोस्रो । किनभने छिटो उपचार गर्दा पीडितको बाँच्ने सम्भावना बढ्छ र त्यसो हुँदा चासो प्रकट गर्ने काम त बिरामी बिसेक भएपछि हुन पाइहाल्छ । तर कोही बिरामी हुनेबित्तिकै अस्पतालमा एकैपटक सबै आफन्त र सरोकारवाला ओइरिएर वातावरणलाई भीड बनाउँदा उल्टो चिकित्सक र आकस्मिक सेवाका कर्मचारीलाई उपचारमा असहजता हुन्छ । त्यसो हुँदा आम सर्वसाधारणले नै अवस्था बुझेर अस्पतालका उपचार कक्षमा भीड गर्नु हुँदैन । सहयोगीका रूपमा नगई नहुने अवस्थामा बाहेक जोकोही पनि उपचार कक्षमा छिर्नु अनुचित हुन्छ ।

तर हाम्रोमा अस्पताल र अन्यत्र गर्नुपर्ने सामाजिक व्यवहारका बारेमा धेरै मान्छे जानकार छैनन् । सडक, चोक, स्कुल, अस्पताल र मठमन्दिरमा के गर्नु हुन्छ र के गर्नु हुन्न भन्नेबारे आम मान्छेलाई चासो छैन । यस्ता सार्वजनिक स्थलमा एउटा मात्रै व्यक्ति नभएर धेरै व्यक्तिले सेवा पाउने हुँदा त्यस्ता स्थलमा गर्ने व्यवहारबारे सबै व्यक्ति जानकार हुनुपर्छ । त्यसमा पनि प्रहरी कार्यालय र अस्पताल अति संवेदनशील क्षेत्र हुन् । यस्ता स्थानमा पुग्दा हामीले गर्ने व्यवहारले हाम्रो सभ्यता झल्काउँछ ।

नेपालीहरू सहृदयी छन्, भावुक र कोमल हृदयका छन् । त्यसो हुँदा बिरामी र घाइते आफन्त भेट्न जानु हाम्रो संस्कारको राम्रो पक्ष हो, तर मूल ढोका, ढोका र उपचार कक्ष नै ढाकेर उपचारमै अवरोध पुर्या्उनु कस्तो संस्कार हो ? कतिपय जीवन र मरणको दोसाँधमा रहने बिरामी लगिने अस्पतालमा भीड गर्नु उचित होइन ।

उपचार कक्ष र अस्पतालमा हुने भीडका कारण आफन्तको उपचार गर्न आउने चिकित्सक र सहयोगीहरूको बाटो त अवरोध त हुन्छ नै, आकस्मिक अवस्थामा कक्षसम्म ल्याउनुपर्ने औषधी र उपचार सामग्रीसमेत रोकिन सक्छ । भीडकै कारण घाइतेका निकट व्यक्तिलाई कक्षमा आउन व्यवधान हुन सक्छ ।

अस्पतालमा तपाईंका मात्र होइनन्, अन्य सर्वसाधारणसमेत उपचाररत हुन्छन् र तीमध्ये कतिपयलाई तिनको अवस्थाको कारण तत्कालै अन्यत्र लैजानुपर्ने अवस्था आउन सक्छ । त्यसो हुँदा अस्पतालपरिसर र वरपरको मार्ग जहिल्यै खुला र सहज हुन आवश्यक छ । यी तमाम विषयलाई ख्याल राख्दै सुरक्षाकर्मी, उद्धारक स्वयंसेवी, अस्पताल प्रशासन र सर्वसाधारणले मास क्याजल्टी हुँदा संवेदनशील हुनु आवश्यक देखिन्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2