MENU

मेयर भेट्दा मुसहर समुदाय मख्ख

दिवाकर भण्डारी बिहीबार, मंसिर २१, २०७४ 1798 पटक पढिएको

Share This

635-X-85_1

सिमरा : जितपुर–सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल वडा नम्बर १८ मा पर्ने कुसमाडीस्थित मुसहर बस्ती पुग्दा स्थानीय अचम्मित बने । स्थानीय तह निर्वाचनका बेला चुनावी अभियान लिएर बस्ती पुगेका पौडेल मेयरमा निर्वाचित भएपछि गाउँ आएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।
निर्वाचनका बेला भोटका लागि बिन्ती गर्ने नेताहरूले जितेपछि गाउँलाई बिर्सिने गरेको पीडा भोग्दै आएको बताउने स्थानीयवासी मेयर बस्ती पसेपछि काम छाडेर स्वागतमै उत्रिए । मेयरले स्थानीयसँग झन्डै एक घन्टा बिताएका थिए ।

‘चुनावपछि कोही यसरी फर्केर आएको हामीलाई थाहा छैन, यति बेला मेयर नै गाउँमा आएर हाम्रो समस्या सुनिदिँदा धेरै खुसी लागेको छ’, स्थानीय बालदेव माझीले भने, ‘सबै नेता यस्तो भइदिए हाम्रो बस्तीको पनि विकास हुन्थ्यो होला । हामीले दुःख भोग्नुपर्ने थिएन होला ।’

पौडेलले मुसहर समुदायको समस्या सुनेका थिए । उनले उपमहानगरपालिकालाई समृद्ध बनाउने अभियानमा लागेको भन्दै योजना सुनाएका थिए । ‘गाउँमा कसरी विकास गर्न सकिन्छ भनेर उहाँले आफ्नो योजना सुनाउनुभयो, यी योजना पूरा भए हाम्रो बस्तीको मुहार फेरिनेछ’, सुर्जा माझीले भने, ‘आर्थिक रूपमा सम्पन्न हुने रहर हामीलाई पनि छ तर सधैं यस्तै हो भनेर चित्त बुझाएका थियौं । अब भने आशा पलाएको छ ।’

ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्दै आएका मुसहरका ४० भन्दा बढी परिवारको बसोबास छ यहाँ । बस्तीका पुरुष सदस्य बिहानै ज्यालादारी गर्न निस्किन्छन् । दिनभर काम गरेर कमाएको पैसाले उनीहरूको रोजीरोटी चल्ने गरेको छ । छोराछोरीको स्याहार र घरको काम महिलाको दैनिकीमा पर्छ ।
‘दिनभर काम नगरे दुई छाक खान पनि मुस्किल पर्छ । त्यसैले महिला पनि ज्यालादारीका लागि काममा निस्कने गरेका छन्’, स्थानीय चिन्तादेवी माझीले भनिन्, ‘हामीलाई भोट हाल्नका लागि मात्र प्रयोग गरियो, ढोकामै आएर नमस्कार गर्ने नेताहरू चुनावपछि यसरी फर्किंदैनन् । आज पहिलो पटक चुनाव जितेर कोही आएको देखें ।’ रोजगारी र आयआर्जनका निम्ति पहल भए अभावको स्थितीको अन्त्य हुने उनको भनाइ छ ।

पौडेलले उपमहानगरपालिकावासीको जीवनस्तर उकास्न आफू गम्भीरतापूर्वक लागिरहेको बताए । ‘चुनाव जित्नु मात्र ठूलो कुरा होइन, उपमहानगरलाई समृद्ध र उपमहानगरवासीलाई सम्पन्न बनाउन सके मात्रै जित सार्थक हुनेछ’, उनले भने ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2