MENU

अर्थोडक्स हाते चियाले बजार पाएन

प्रदीपचन्द्र राई बिहीबार, मंसिर २१, २०७४ 93 पटक पढिएको

Share This

635-X-85_1

भोजपुर : अर्थोडक्स हाते चियाले बजार नपाएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । अर्थोडक्स हाते चियाको उचित बजारीकरण र मूल्य नभएको किसानको गुुनासो छ ।
आफूले उत्पादन गरेको चिया बजारमा खपत हुन नसक्दा किसान अन्य पेसातर्फ लाग्न बाध्य भएको भोजपुर नगरपालिका १०, भैंसीपंखाका चिया कृषक उत्तरकुमार राईले गुनासो गरे । उनले भने, ‘बाहिर बिक्रीवितरण गर्न नसकिएको र आफूलाई खानका लागि मात्रै उत्पादन गर्ने गरेको छु । मैले पनि चियाखेती त्यसै छाडिदिएँ ।’

भैंसीपंखाका उत्तमकुमारलगायत सोही स्थानका २८ सदस्य मिलेर सहकारी संस्था दर्ता गरी चियाखेती गर्न थालेको ६ वर्ष भयो । करिब ६० रोपनी जग्गामा लगाइएको चिया बगानबाट उत्पादन हुने चिया यहाँको स्पेसल हाते चिया हो । यहाँ हातको सहाराबाट चियाको मुनालाई माडेर अर्थोडक्स चिया बनाइन्छ । तर, किसानको मेहनतबाट उत्पादन भएको चियाले उचित मूल्य नपाउँदा किसानको परि श्रममा पानी खन्याए जस्तै भएको छ ।


चिया बजारमा खपत हुन नसक्दा किसान अन्य पेसातर्फ लाग्न बाध्य भएका छन् ।

बिक्री नभएको यहाँको चिया घरमा आउने जाने पाहुनालाई कोसेलीका रूपमा लान मात्र सीमित भएको सोही संस्थाका चिया किसान बमबहादुर श्रेष्ठ बताउँछन् । ‘चियाको मुना दुई पात एक सुइरो हुँदा टिप्ने गर्छौं । दुईदिन जति घाममा ओइलाएपछि नरम बनाई माड्ने काम गर्छौं । माडेर घाममा सुकाएर एक चोटी गुम्स्याएर राखेपछि यसलाई खान प्रयोग गर्छौं ।’ उनले भने, ‘बजारमा बिक्री नभएपछि घाटा हुन्छ, त्यसैले त्यसलाई कुहाएर फ्याक्नुभन्दा आउनेजाने आफन्तलाई कोसेलीका रूपमा दिने गर्छौं ।’

हाते चिया प्रवद्र्धनका लागि खुरिला सहकारी संस्था दर्ता गरेका किसानले उचित बजार मूल्य र आधुनिकीकरणका लागि दातृ निकायको सहयोगको अपेक्षा राखेका छन् । दातृ निकायबाट केही सहयोग र उत्पादन गरिएको हाते अर्थोडक्स चियाको उचित बजारीकरण र मूल्य भए आफूलाई चियाखेतीमा टेवा मिल्ने अर्का किसान कुमार कार्कीले सुनाए । ‘हप्तैपिच्छे हाते चिया टिपेर तयारी चिया बनाउँछौ । उत्पादनबाट ५०÷६० किलो चिया बनाउँछौं । दुःख गरेअनुसारको बजारभाउ, मेसिन राखिदिए हुन्थ्यो, संस्थाले सहयोग गरिदिए हुन्थ्यो । हामी पनि पहल गथ्र्यौं’, कार्कीले भन्छन् ।

भोजपुर चिया उत्पादनका दृष्टिले राम्रो हावापानी र उचित वातावरण भएको ठाउँ हो । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा चिया खेतीको विस्तार पनि बढ्दै गइरहेको छ । बजारको उचित व्यवस्था नभए पनि किसान चियाखेतीतर्फ हौसिएका छन् । विभिन्न आयमूलक कार्यक्रम र उचित बजार व्यवस्थापन हुन सके चियाखेती फस्टाउने यहाँका किसान बताउँछन् ।

आर्थिक मजबुतीका लागि किसान चियाखेतीतर्फ आकर्षित भएका छन् । चियाखेतीको सम्भावना बोकेको र नगदेबालीअन्तर्गत पर्ने हुँदा किसानको यसप्रति आकर्षण बढेको हो ।
बाँझो ठाउँ, खुला चौर, खर्कमा चियाखेती विस्तार भइरहेको छ । स्थानीय थामडाँडा–टेम्के–सिलिचुली कृषि सहकारी संस्थाले तीन वर्षदेखि किसानसँग समन्वय गरेको छ । तत्कालका लागि एक हजार ३३ हेक्टर क्षेत्रफलमा खेती विस्तारका लागि स्थानीयसँग सम्झौता भइसकेको छ । दक्षिणी भेगका युँ, बयालङ, देवन्टार, ढेन्टाली, पुर्णेडाँडा, भञ्ज्याङखर्क, पाप्माखाम र ओख्रेमा चार लाख डाली बिरुवा रोपिएको छ ।

सहकारीका माध्यमबाट जैविक चिया र बहुमूल्य जडीबुटी तथा सुगन्धित बनस्पतिलगायत अन्य नगदेबालीको व्यावसायिक खेती र बजार व्यवस्थापन गरी सदस्यको आर्थिक अभिवृद्धि गर्ने संस्थाको लक्ष्य रहेको हुँदा जिल्लाका अधिकांश चौरीखर्क, खेर गइरहेका डाँडा र स्थानमा चियाखेती विस्तार भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड धनकुटासँग सहकारीले समन्वय गरेर किसानलाई बिरुवा उपलब्ध गराइरहेका संस्थाका व्यवस्थापक विज्ञान राई बताउँछन् । ‘दशकभित्र इलाम जस्तै हाम्रो जिल्लालाई पनि चियाखेतीमा ल्याउन अगाडि बढेका छौं’, उनले भने, ‘चियाखेतीसँगै चिराइतो, पाखनवेदजस्ता जडीबुटीको समेत व्यवस्थापन र व्यवसायीकरण गरी स्थानीयस्तरमा आर्थिक उपार्जनका लागि सहयोग पुग्नेछ ।’ भोजपुरमा पछिल्लो केही वर्ष पकेट क्षेत्रमा नर्सरी स्थापना गरी बगान विस्तार तीव्र भइरहेको छ ।


रामप्रसाद राई गाउँपालिकाको ओख्रे खेनाका किसान अर्थोडक्स हाते चियाको नर्सरी गर्दै । अन्नपूर्ण

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2