MENU

नुवाकोटमा धान उत्पादन घट्यो

देवचन्द्र भट्ट बिहीबार, मंसिर २१, २०७४ 92 पटक पढिएको

Share This

635-X-85_1

 नुवाकोट : बाढीपहिरो र धानबालीमा लागेको रोगका कारण नुवाकोटमा यस वर्ष धान उत्पादन घटेको छ । धानबालीमा लागेको रोग समयमै नियन्त्रण नहुँदा यस वर्ष पहाडी नुवाकोटमा धान उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा यस वर्ष १.४ प्रतिशतले हिउँदे धान उत्पादनमा कमी भएको छ । अघिल्लो वर्षको तुलनामा धान उत्पादन नौ सय ३४ टन घटेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

यस वर्ष धानखेतीमा असिनापानी, बाढीपहिरो, ब्लास्ट तथा फौजीकीराको प्रकोप बढेर उत्पादनमा कमी आएको कार्यालय प्रमुख डा.कमलराज गैरेले जानकारी दिए । नुवाकोटमा यस वर्ष ६१ हजार तीन सय ४० टन धान उत्पादन भएको छ ।

गत वर्ष असारे धान ६२ हजार दुई सय ७४ टन उत्पादन भएको थियो । जिल्लाको कविलास, सामरी, शिखरबेसी, दाङसिङ, किम्ताङ, तुप्चे, कल्याणपुरलगायत धान उत्पादनयोग्य फाँटमा बाढी पहिरो, असिनापानी तथा धानमा रोग लागेर उत्पादन घटेको कार्यालय प्रमुख डा.गैरेले बताए ।

नुवाकोटमा यस वर्ष १४ हजार चार सय ३४ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । प्रतिहेक्टर ४२ क्विन्टल धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा.कमलराज गैरेको भनाइ छ ।

गत वर्ष भने १४ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष भने एक सय १६ हेक्टर क्षेत्रफलमा धान कम रोपिएको डा.गैरेले बताए । उनका अनुसार खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै जानु, बाढीपहिरो, असिनापानी र धानमा विभिन्न रोग र कीराको प्रकोपलगायत कारण धान उत्पादन घटेको हो ।

किसानको आधुनिक खेतीतर्फको बढ्दो आकर्षणसँगै परम्परागत खेती छाडेर व्यावसायिक रूपमा हाइव्रिड धानखेती सुरु गरेसँगै रोगको प्रकोपले गिरावट र समग्र उत्पादनमा कमी आएको छ । किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् ।

नुवाकोटमै चैते धानको उत्पादनमा पनि सातसय १४ टन घटेको थियो । नुवाकोटमा यसवर्ष सात हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानको उत्पादन रोगका कारण गत वर्षको तुलनामा सात सय १४ टन घटेर २८ हजार ६ सय १४ मेट्रिक टन मात्रै उत्पादन भएको कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत गैरेले जानकारी दिए ।
यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव आठ टन रहेको छ ।

अघिल्लो वर्ष जिल्लामा सात हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानको उत्पादन २९ हजार तीन सय २८ टन भएको थियो । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव नौ टन थियो ।

खडेरी र रोगको उच्च प्रकोपका कारण अघिल्लो वर्ष उत्पादनमा प्रतिहेक्टर जमिनमा ३ दशमलब ८६ मेट्रिक टन घटेको थियो । नुवाकोटमा सिँचाइ सुविधा भएका स्थानमा चैते धानखेती गर्ने आकर्षित भएको कार्यालयले जनाएको छ ।

उत्पादन भएको चैते धान चामल, चिउराका लागि जिल्ला बाहिर उच्च माग रहँदै आएको छ । नुवाकोटमा उत्पादन भएको धान छिमेकी जिल्ला रसुवाको साथै काडमाडौंमा बढी निर्यात हुने गरेको छ ।

यो धान चैत्रमा रोपेर असारमा र साउनमा रोपेर मंसिरमा भिœयाउने गरिन्छ । धानको लागि नुवाकोटका खानीगाँउ, चौघडा, गणेस्थान, नर्जामण्डप, रालुकादेवी, थानसिङ, जिलिङ, सुन्दरादेवी, समुन्द्रटार, कल्याणपुरलगायत ३५ गाउं पकेट क्षेत्रका रूपमा रहेका छन् ।

यस वर्ष नुवाकोटमा ५३ हजार सात सय २९ टन मकै, चार हजार नौ सय ७६ टन कोदो र सात हजार चार सय १९ टन तरकारी उत्पादन भएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2