MENU

कतारमा नेपाली कामदार पाँच महिनामा २४ प्रतिशत गिरावट

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 1504 पटक पढिएको

Share This

635-X-85_1

वैदेशिक रोजगारीका लागि कतार जानेको संख्या गत जेठयता २४ प्रतिशतले घटेको छ । कतारमाथि खाडीका सात राष्ट्रले गत जुन ५ देखि नाकाबन्दी लगाएसँगै रोजगारीका लागि जानेको संख्या घटेको हो । साउदी अरब, इजिष्ट, बहराइन, यूएई, लिविया, माल्दिभ्स र यमनले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै नेपाली कामदारले पाउँदै आएको रोजगारी गुमेको छ ।

कतारले आतङकवादी र अतिवादीहरूलाई सहयोग गरेको भन्दै गत जुन ५ देखि खाडी राष्ट्रले नाकाबन्दी लगाएका थिए । कतारमा भारतपछि धेरै कामदार नेपाली छन् । कतारको कुल जनसंख्याभन्दा बढी आप्रवासी छन् । २०५२ सालदेखि नेपाली रोजगारीका लागि कतार जान थालेका हुन् । नेपाली कामदारका लागि विगत दुई वर्षदेखि कतार पहिलो गन्तव्य बनेको थियो । तर, कतारमाथि नाकाबन्दी सुरु भएसँगै नेपालबाट रोजगारीका लागि कतार जानेको संख्यामा निरन्तर गिरावट आइरहेको छ । नाकाबन्दीपछि नेपालबाट रोजगारीका लागि २०७४ को जेठदेखि कात्तिकसम्म ४२ हजार दुई सय नौ कामदार कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । तर, २०७३ को सोही अवधिमा नेपालबाट रोजगारीका लागि कतार जानेको संख्या ५५ हजार सात सय ७९ थियो ।

वैदेशिक रोजगारीका लागि २०७३ र २०७४ को पाँच महिनामा कतार गएका कामदार
महिना २०७३ २०७४
जेष्ठमा १०५६५ ८८६४
असार ७८६६ ५५१५
साउन ८८५६ ६५०८
भदौ १०७८३ ६९८२
असोज ७९८१ ६८०१
कात्तिक ९७३८ ७५३९
जम्मा ५५७८९ ४२२०९
स्रोत वैदेशिक रोजगार विभाग

आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको भन्दै कतारमाथि नाकाबन्दी लगाउँदा नेपाली कामदारले पाउँदै आएको रोजगारीको अवसर गुमेको म्यानपावर व्यवसायी बताउँछन् । मासिक रूपम अघिल्लो वर्षको तुलनामा दुईदेखि तीन हजारको संख्याका कतार जाने कामदारको संख्यामा गिरावट आएको छ ।

श्रकतारमाथि खाडीका सात राष्ट्रले गत जुन ५ देखि नाकाबन्दी लगाएसँगै रोजगारीका लागि जानेको संख्या घटेको हो 

मलेसियाले दुई वर्षदेखि नेपाली कामदार लैजान कडाइ गरेसँगै कतार पहिलो गन्तव्य बनेको थियो । तर, नाकाबन्दी सुरु भएपछि कतारमा नेपाली कामदारले पाउँदै आएको रोजगारीको अवसर समेत गुमाउन परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् । विभागले दिएको जानकारीअनुसार २०७४ को जेठमा आठ हजार आठ सय ६४ कामदार कतार पुगेका छन् । तर, २०७३ को जेठमा रोजगारीका लागि कतार जानेको संख्या १० हजार पाँच सय ६५ थियो । नाकाबन्दी सुरु भएको पहिलो महिनामै कतार जानेको संख्यामा झन्डै दुई हजारले कमी आएको विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष प्रत्येक महिना रोजगारी खोज्दै नयाँ काममा लागि कतार जानेको संख्याका गिरावट देखिएको उनले बताए । अघिल्लो वर्षको असारमा सात हजार आठ सय ६६, साउनमा आठ हजार आठ सय ५६, भदौमा १०हजार सात सय ८३, असोजमा सात हजार नौ सय ८१ र कात्तिकमा नौ हजार सात सय ३८ जना रोजगारीका लागि कतार गएका थिए ।

तर, नाकाबन्दीपछि यस वर्षको असारमा पाँच हजार पाँच सय १५, साउनमा ६ हजार पाँच सय आठ, भदौमा ६ हजार नौ सय ८२, असोजमा ६ हजार आठ सय एक र कात्तिकमा सात हजार पाँच सय ३९ जना नयाँ कामका लागि कतार गएका छन् ।

नेपाली कामदारका लागि मलेसिया, दुवई, साउदी अरबपछिको सेवा सुविधा भएको देश कतार हो । त्यसमा पनि कतारले विश्वकप फुटबलका लागि तयार गर्दै गरेको भौतिक संरचना निर्माणमा नेपाली कामदारको माग बढी छ । विगत दुई वर्षदेखि मलेसिया, साउदी अरब र दुवईले नेपाली कामदारको माग घटाएपछि कतार जानेको संख्या बढेको हो । सात राष्ट्रको कूटनीतिक सम्बन्ध अन्त्यको निर्णयले नेपालीले पाउँदै आएको रोजगारी संकटमा परेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तमाङ बताउँछन् ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2