MENU

पूर्वमा धमाधम रियाल रिंगेट

लोकनाथ रिजाल बिहीबार, मंसिर २१, २०७४ 994 पटक पढिएको

Share This

635-X-85_1

दमक : स्वदेशमै केही गरौं भन्ने गाउँको युवक शेखर जो कहिल्यै विदेशी भूमि टेक्नु नपरोस् भन्ने चाहन्छ । उसका सबै साथी विदेश गएर रियाल र रिंगेट कमाउन थाल्छन् तर ऊ भने स्वदेशमै केही गर्न चाहन्छ । गाडी कुदाउने कामदेखि व्यवसाय गर्दासमेत केही पार नलागेपछि अन्ततः ऊ पनि बिदेसिन बाध्य हुन्छ ।

राज्यको नीतिका कारण उसले गरेका कुनै पनि कामले सार्थकता पाउँदैन । यही कथाको सेरोफेरोमा रहेर पर्दामा उतार्न लागिएको नेपाली कथानक चलचित्र ‘रियाल रिंगेट’को पूर्वका विभिन्न ठाउँमा धमाधम छायांकन भइरहेको छ ।

दीपक अधिकारीको डेब्यु निर्देशन, प्रदीप भारद्वाजको कथा तथा जीवनकृष्ण बेघाको निर्माणमा चलचित्रको छायांकन थालिएको हो । शुभमुहूर्तलगत्तै मोरङको लेटाङमा बसेर फिल्म युनिटले मंगलबारबाट छायांकन थालेको हो । करिब ७० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको चलचित्र पूर्वको दमक, बिर्तामोड, पथरी, इलामको कन्याम लगायतका ठाउँमा छायांकन गरिने निर्देशक अधिकारीले बताए । चलचित्रमा प्रमोद भारद्वाज, नीता ढुंगाना, छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी, रियर राई, रवीन्द्र खड्का लगायतको भूमिका छ । अरू फिल्मभन्दा रियाल रिंगेटको कथा फरक भएको नायक प्रमोद भारद्वाजले बताए । चलचित्रले बिदेसिएका ४० लाख युवाको प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।

चलचित्र लभस्टोरीमा आधारित रहेको कथाकार भारद्वाजले बताए । उनले भने, ‘चलचित्रको नाम रियाल रिंगेट राखिएकाले कतार र मलेसियाको मात्र कथा रहेछ भन्ने लाग्न सक्छ तर यो एउटा विम्ब मात्र हो । यसमा लाखौं युवा कसरी खाडीमा पलायन हुन बाध्य हुन्छन् भन्ने देखाइएको छ ।’ चलचित्रले मूल रूपमा बिदेसिनुपर्ने कारण उठाए पनि यसलाई प्रत्यक्ष असर पार्ने राजनीतिलाई समेत अप्रत्यक्ष रूपमा समावेश गरिएको उनले जानकारी दिए । राज्यको उचित पोलिसी बन्न नसक्दाको पीडा कथामा पोखिएको उनको भनाइ छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2