MENU

पहिलो खेलमा नेपाल पराजित

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 278 पटक पढिएको

Share This

635-X-85_1

अन्नपूर्ण काठमाडौं: आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको खेलमा नेपाली टोली बुधबार यूएईसँग सात विकेटले पराजित भएको छ । यूएईको सेख जायेद रंगशालामा भएको खेलमा नेपाली बलर यूएईका ब्याट्सम्यानसामु निरीह देखिए । टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय २१ रन जोडेको थियो ।

नेपालको पालिमा शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए । शरदले ९५ बलमा पाँच चौका प्रहार गरे । ज्ञानेन्द्र मल्लले पनि ५४ रन बनाए । यसैगरी कप्तान पारस खड्काले २०, सोमपाल कामीले २०, दिलीप नाथले १६, वसन्त रेग्मीले १४ र विनोद भण्डारीले चार रन थपे । आरिफ सेख भने शून्य रनमै पेभेलियन फर्किए । यूएईले प्राप्त लक्ष्य ४५.५ ओभरमा केवल तीन विकेट गुमाएर पूरा ग¥यो ।

यूएईका विकेटकिपर घुलाम सब्बरले अविजित रहँदै सर्वाधिक ८१ जोडे । यसैगरी कप्तान तथा ओपनर रोहन मुस्ताफाले ६२, रमिज सेहजादले ३७ र मुहमद उसमानले अविजित १७ रन बनाए । पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको यूएईले दोस्रो विकेटका लागि ८१ र तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले एक÷एक विकेट हात पारे ।

यसअघि सुरुमा सुस्त ब्याटिङ गरेको नेपाली टोली अन्तिम समयमा केही आक्रामक बनेको थियो । नेपालले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । ज्ञानेन्द्रले ८३ बलमा ६ चौका प्रहार गरे । एक सय २२ रन जोड्दा दुई विकेट गुमाएको नेपाली टोलीले एक सय ३४ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । नेपालले छैटौं विकेटका लागि ४७ रनको साझेदारी ग¥यो ।

नेपालले २९औं ओभरमा मात्र एक सय रन पूरा गरेको थियो । नेपालले सुरुको १० ओभरमा केवल २९ रन जोडेको थियो । नेपाल र यूएईबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । प्रतियोगितामा १३ खेलपछि नौ अंक जोडेको नेपाल छैटौं स्थानमा यथावत् छ । यूएई भने १३ खेलबाट आठ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । दुवै टोली यसअघि नै डिभिजन दुईमा झर्ने निश्चित भइसकेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2