MENU

भारतले जित्यो टेस्ट शृंखला

अन्नपूर्ण बिहीबार, मंसिर २१, २०७४ 311 पटक पढिएको

Share This

635-X-85_1

एजेन्सी /नयाँदिल्ली

भ्रमणकारी टोली श्रीलंकाविरुद्धको टेस्ट क्रिकेट शृंखला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट बुधबार बराबरीमा सकिएपछि घरेलु टोली भारतले १–० ले शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि कोलकातामा भएको पहिलो टेस्ट वर्षाले बिथोलेपछि बराबरीमा सकिएको थियो भने नागपुरमा भएको दोस्रो टेस्टमा भारत एक पाली र दुई सय ३९ रनले विजयी भएको थियो ।

नयाँ दिल्लीको फिरोज शाह कोटला मैदानमा श्रीलंकाले जितका लागि चार सय १० रनको लक्ष्य पछ्याएको थियो । मंगलबार ३१ रनमा तीन विकेट गुमाएको श्रीलंकाले पाँचौं तथा अन्तिम दिन धैयपूर्वक खेल्दै खेल बराबरी गरेको हो । श्रीलंकाले बुधबार थप दुई विकेट मात्र गुमाएको थियो । दोस्रो पालीमा श्रीलंकाले पाँच विकेट गुमाएर दुई सय ९९ रन बनायो ।
श्रीलंकाका कप्तान दिनेश चन्डिमल ३६ र एन्जेलो म्याथ्युज एक रनमा आउट भए । श्रीलंकाको पाली भने रोशन सिल्भा र निरोशन डिक्वेलाले सम्हालेका थिए । सिल्भाले ७४ रन बनाए भने डिक्वेला ४४ रनमा अविजित रहे । चौथो दिन १३ रनमा अविजित रहेका धनन्जय डी सिल्भाले शतकीय पाली खेले । रिटायर्ड हट भएर पेभेलियन फर्किनुअघि उनले एक सय १९ रन बनाए ।

भारतीय बलर रवीन्द्र जडेजाले एक विकेट लिए । अर्का स्पिनर रविचन्द्रन आश्विनले पनि एक विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको भारतले सात विकेटको नोक्सानीमा पाँच सय ३६ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । पहिलो पालीमा भारतका लागि विराट कोहलीले दोहोरो शतक बनाएका थिए ।

श्रीलंका पहिलो पालीमा तीन सय ७३ रनमा समेटिएपछि भारतले एक सय ६३ रनको अग्रता लिएको थियो । यसैगरी भारतले पाँच विकेटको नोक्सानीमा दुई सय ४६ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । म्यान अफ दी म्याच र म्यान अफ दी सिरिजको पुरस्कार भारतीय टोलीका कप्तान विराट कोहलीले पाए । भारत भ्रमणमा श्रीलंकाले अब तीन एकदिवसीय र तीनवटावटा टीट्वेन्टी खेल खेल्नेछ । पहिलो एकदिवसीय आगामी आइतबार धर्मशालामा हुनेछ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2