MENU

प्रश्न गर्न सिक

patan-college

खगेन्द्र संग्रौला आइतवार, पुस २, २०७४ 1056 पटक पढिएको

Share This

635-x-85

नानीबाबुलाई चिठी

प्यारा भाइबहिनी

नमस्कार।

तिमीहरू प्रविधिको युगमा हुर्किंदै छौ। संसारभर दिनानुदिन नयाँ नयाँ आविष्कार भइरहेका छन्। प्रविधिबाट कोही पनि अछुतो रहन सक्दैन। यस्ता प्रविधि र साधनको समयानुकूल प्रयोगमा ध्यान दिनैपर्छ। तिमीहरूको समय अर्काको अरनखटन वा आदेशमा मात्र चल्ने समय होइन। तिमीहरूले हरेक कुरामा प्रश्न गर्नै पर्छ, जिज्ञासु बन्नै पर्छ। यसले ठिक बेठिक छुट्याउनमात्र मद्दत गर्दैन, भक्त बन्ने प्रवृत्तिबाट समेत अलग्याउँछ। अनि मात्रै सजग र जिउँदो मान्छे बन्न सकिन्छ।

सानैदेखि स्वस्थ्यकर साहित्य पढ्ने बानीको विकास गर्नुपर्छ। साहित्यले हाम्रो मनलाई मलिलो पार्छ। कल्पनाशील बनाउँछ, अनि जीवन रसिलो पार्छ। यसले खुल्दुलीमात्र जगाउँदैन, आनन्द पनि दिन्छ। साहित्यले वैज्ञानिक रूपमा जीवनको यथार्थ खोज्न सिकाउँछ, जीवनबोध गराउँछ।

साहित्यले सोच्ने दायरा फराकिलो पार्छ। सिर्जनशील बनाउँछ। तिमीहरू असल पाठ्यसामग्री आफैं छुट्याउन भने सक्दैनौ। यसका लागि अभिभावक वा गुरुको सहयोग लिनुपर्छ। पढ्ने बानी बढ्दै गएपछि मात्र राम्रा र नराम्रा किताबहरू छान्न सजिलो हुन्छ। तिमीहरूको उमेर समूहअनुसार सरकारी पक्षबाटै किताबहरू विभाजन र प्रकाशन नगरिएकाले समस्या भएको छ। बजारमा छ्यासछ्यास्ती पाइने नकारात्मक सन्देश दिने खालका साहित्यको फेला परिएला नि ! सचेत रहनु।

हामी जन्मदेखि मृत्युपर्यन्त धर्मसँग जोडिन्छौं। तिम्रा कतिपय अभिभावक अन्धविश्वासमा रुमल्लिएका हुन्छन्। हाम्रो भविष्य भाग्यले निर्धारण गर्ने कि कर्मले भन्ने कुरा बुझ्न जरुरी छ। यसतर्पm अभिभावकलाई सचेत गराउने जिम्मा तिमीहरूकै हो। साना नानीहरू ठूलाको सिको गरिरहेका हुन्छन्। उनीहरूलाई कतातर्फ डो¥याउने भन्ने कुरासमेत तिमीहरूकै व्यवहारले निर्धारण गर्छ। उनीहरूका लागि समेत मार्गदर्शक बन्नुपर्छ।

हाम्रो समाज आदर्शबाट गिरेको छ। यहाँ फटाहा, भ्रष्टाचारीहरू आदर्श बन्दै गइरहेका छन्। कहिलेकाहीँ खराब साथी संगतले पनि जीवन बर्बाद हुन सक्छ। हामीले गर्ने हरेक काम व्यवहारमा सचेत बन्नै पर्छ। यसका लागि अभिभावकको साथ, सहयोग र समर्थन अनिवार्य छ। हामीले समाजका लागि बेलैमा केही योगदान गर्न सकेनौं भने जीवन निरर्थक बन्नेछ।

प्रकृति एक खुला पाठशाला हो। चराचुरुंगी, जनावर र बोटबिरुवाका जीवनबाट हामी समानता, न्यायजस्ता कुरा सिक्न सक्छौं। अन्य निर्जीव वस्तुबाट पनि धेरै कुरा सिक्न सकिन्छ। खाली समयमा एक्लै कोठाभित्र मोबाइल र कम्प्युटरमा समय बिताउने बानी राम्रो होइन। समूह बनाएर नयाँ ठाउँको भ्रमण गर्दा, छलफल गर्दा, पुस्तकालय र वाचनालयको भ्रमणसमेतले नयाँ कुरा सिकिन्छ।

आपूmलाई लागेको विचार र भावना लेख्ने गर्नुपर्छ। पढेका र सिकेका कुराहरू आफूभन्दा सानालाई सुनाउनुपर्छ। यसले असल पाठक, श्रोता र वक्ता बन्न सहयोग गर्छ। हिंसा, अश्लीलजस्ता असामाजिक तत्वबाट सधैं टाढा बस्नुपर्छ। सञ्चार माध्यमबाट प्रसारित साम्रगीहरू पनि सबै लाभदायक हुँदैनन्। यसतर्फ पनि ध्यान दिनु आवश्यक छ। पढ्नैपर्ने केही पुस्तकहरू

इम्पेरर्स क्लोथ्स् (बादशाहका लुगा) ...ह्यान्स एन्डरसन

कोही किन बर्बाद होस्.... विजय मल्ल

पत्थरको बाढी, उकालीका कथा ..... अनुवाद खगेन्द्र संग्रौला

शान्तदास मानन्धरका कथा र अनुवादहरू

उही तिमीहरूलाई माया गर्ने

खगेन्द्र संग्रौला

चाबहिल, काठमाडौं

(लेखक संग्रौलासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2