MENU

फोहोरवाला दाइ

patan-college

मनोज बोहोरा आइतवार, पुस २, २०७४ 779 पटक पढिएको

Share This

635-x-85

बिहान स्कुल जाँदा आमाको औंला समातेर बाटोमा हिँडिरहेकी प्रकृतिले गाडीमा फोहोर उठाउँदै गरेका व्यक्तिहरूलाई देखिन्। उनले ती दाइहरूतिर देखाउँदै आमालाई सोधिन्, ‘सधैं हामीमात्रै किन फोहोर उठाउँदै गरेका गाडी देख्दा नाकमुख थुनेर छिटोछिटो दौडिन्छौं। फोहोर हामीलाई मात्र गन्हाउने त होइन नि, ती फोहोर उठाउने दाइहरूलाई गन्हाउँदैन। फेरि उहाँहरूले हामीले जस्तो मुखमा माक्स पनि लगाउनु भएको छैन नि।'

प्रकृतिका कुरा सुनेर मुसुमुसु हाँस्दै आमाले भन्नुभयो, ‘नाक भएपछि गन्हाइहाल्छ नि फोहोर सबैलाई, गन्हाउन त फोहोर बोक्ने दाइहरूलाई नि गन्हाउँछ।' अनि माक्स किन नलगाउनु भाको दाइहरूले भनेर प्रकृतिले गरेको प्रश्न सुनेर आमाले फेरि भन्नुभयो, ‘भोलि फोहोर लिन घर आएको बेला सोध्नु नि हुन्न ? ' विद्यालय पुग्न ढिला होला भनेर आमाले छिटो हिँड्न अहर्‍याएपछि टाउको हल्लाउँदै उनी पनि अगाडि बढिन्।

आमाको औंला समाउँदै उनी विद्यालय पुगिन्। विद्यालयको मूल ढोका नजिकै फोहोरको थुप्रो बेस्मारी गन्हाइरहेको थियो। पाले दाइ पनि माक्स लगाएर उभिरहनु भएको थियो। यो देखेर प्रकृतिले भनिन्, ‘कस्तो गन्हाएको। किन यसरी स्कुल अगाडि फोहोर थुपार्नु भाको पाले दाइ, फोहोर बोक्ने दाइ आउने पालो हो र आज ? ' छोरीको कुरा सुनेर आमा भने मुसुमुसु हाँस्नुभयो। उहाँले मनमनै यस्तो सोच्नुभयो, ‘अब फेरि उही प्रश्न सोध्ने भई। कति माया लागेछ बिचरा ती फोहोर बोक्ने दाइको।'

पाले दाइलाई छोरी जिम्मा लगाएर आमा घर फर्किनुभयो। विद्यालयमा खाजा खाने बेलामा आज फोहोर जताततै फाल्न मन लागेन उनलाई। उनले विद्यालयमा सड्ने र नसड्ने फोहोरबारे पढेकी पनि थिइन्। तर त्यसप्रति उनको ध्यान पटक्कै गएको थिएन। आज एक्कासि फोहोर बोक्ने दाइले फोहोरको बीचमा माक्स नलगाई फोहोर बोकेर गाडीमा हालेको देख्दा उनलाई माया लागेर आयो।

‘फोहोर हामी पार्ने अनि त्यही फोहोर सफा पार्ने दाइहरूलाई भने किन कुकुरले नि भुक्दै लखेट्ने र मानिसले पनि हेपेर बोल्ने। फोहोर बोक्ने दाइ नभएको भए हामी यसरी स्वास्थ्य भएर बस्न सक्थ्यौं होला र ? ' उनले मनमनै सोचिन्। अस्ति एक दिन फोहोर लिन नआउँदा टोल नै दुर्गन्धित भएको पनि उनले सम्झिइन्। ‘बिचरा हाम्रो स्वास्थ्यका लागि आप्नो स्वास्थ्यको किन पर्वाह नगरेको होला। हाम्रो स्वास्थ्यको ख्याल गर्नेले त आफ्नो स्वास्थ्यको नि ख्याल गर्नु नि' यस्तै कुरा मनमनै सोच्दै उनले खाजा खाइन्। खाजा खाई सक्नै लाग्दा खाजा खाने टिफिनको समय सकिएको घण्टी लाग्यो। उनी झसंग भइन् र कक्षातिर दौडिइन्।

कक्षामा चाउचाउ, बिस्कुट अनि चकलेट आदिका खोलहरू यत्रतत्र फालेको देखेर फेरि एकपटक ती फोहोर बोक्ने दाइलाई उनले सम्झिइन्। फोहोर बोक्ने दाइ बिरामी भए भने त हाम्रो फोहोर कसले फाल्छ अनि बिरामी त हामी सबै नै हुन्छौं भनेर उनले सोचिन्। उनले भनिन्, ‘कति गहिरो सम्बन्ध हामी र फोहोरवाला दाइको।' शुक्रबार भएकाले टिफिन पछि एक घण्टी पढेर स्कुल बिदा भयो। उनलाई लिन आमा विद्यालयको ढोकामा आउनुभएको थियो। बिहान ढोका नजिकै थुप्रिएको फोहोर त्यहाँ देखिनन् उनले। बिहान जस्तो दुर्गन्ध पनि थिएन। ज्यादै सफा देखिन्थ्यो त्यो ठाउँ। बिहान नाकमुख थुन्दै हिँड्नु परेको सम्झँदै उनले मनमनै धन्य फोहोरवाला दाइ भन्दै आमाको औंला समाइन्।

घर जाँदै गर्दा बिहानको ती फोहोर बोक्ने दाइलाई बाटाको एक रक्सी पसलमा चुरोट तान्दै गरेको उनले देखिन्। ‘बिहान त्यसरी माक्स नलगाई फोहोर सफा गर्ने र अहिले यसरी जाँडरक्सी चुरोट खाने गरेपछि स्वास्थ्य अनि परिवारको के हुन्छ ? ' उनले मनमनै सोचिन्। आमाको हात समाउँदै हिडिँरहेकी प्रकृतिले उभिएर आमाको अनुहारतिर हेर्दै सोधिन्, ‘आमा सबै फोहोर बोक्ने दाइहरू यस्तै हुन्छन् हो ? उहाँहरूले किन आप्नो स्वास्थ्यको पर्वाह नगर्नु भएको होला ? उहाँहरूले धेरै पढ्नु नभएको होला तर समाजमा पढेको मानिसले जत्तिकै योगदान पुर्‍याउनु भएको छ, होइन र ? '

आमा प्रकृतिका कुरा सुनेर छक्क पर्नुभयो। उहाँले मनमनै सोच्नुभयो, ‘ कति गहिरो अनि राम्रो सोच। साँच्चै यी फोहोर बोक्ने मानिस नहुने हो भने त के हुन्थ्यो होला।' प्रकृतिको आमाले प्रकृतिलाई ती प्रश्नहरू भोलि बिहान फोहोर लिन आउँदा फोहोरवाला दाइलाई आफैं सोध्नु भन्नुभयो। उहाँले छोरीलाई भोलि बिहान ती दाइहरूलाई मायासाथ मुखमा लगाउने माक्स र हातको पन्जा उपहार दिनु भन्दै आमाछोरी घरतर्फ लागे।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2