MENU

सावधान ओली, खबरदार प्रचण्ड !

patan-college

-कृष्णमुरारी भण्डारी बुधवार, पुस ५, २०७४ 13827 पटक पढिएको

Share This

635-x-85

मोही माग्ने ढुंग्रो लुकाउने !

 

आमचुनाव सकिएसँगै लामो संक्रमणकालबाट देशले मुक्ति पाएको छ । संविधानअनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरूपमा जनप्रतिनिधिहरू भरिएर पूर्णता प्राप्त गरेको छ । अब नयाँ म्यान्डेट बोकेको सरकार गठन हुनेछ । ०७४ साल नेपाल र नेपालीका लागि साँच्चिकै निर्वाचन वर्ष सावित भयो । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन संविधानले तोकेको म्याद (माघ ८, ०७४) भित्रै सकियो । कुन दल र कुन मोर्चाको नीति-कार्यक्रमलाई जनताले अनुमोदन गरे ? स्थायी सरकार, राष्ट्रिय एकता, शान्ति, समृद्धि, छिमेकीसँग सुमधुर सम्बन्ध र विकासको पक्षमा लाग्न वामपन्थीहरूलाई मतदाताले स्पष्ट बहुमत दिएका छन् । अब राष्ट्रियसभाको चुनाव हुन बाँकी छ ।

krishna-murari-bhandari_22चुनावको मात

यतिखेर चुनावमा बहुमत सिट जित्ने एमाले र माओवादीका नेता-कार्यकर्ता विजयको मातमा छन् । एमालेबाट विजयी एक सांसदले त अबीर लगाउँदा हैरान भएर रुघाखोकीले ग्रस्त भइयो, अबीर नघस्न फेसबुकमा हारगुहार नै गरेका छन् । यसले संकेत गर्छ- विजयी यात्राको माहा्ल र भोजभतेरको डंका !

चुनावमा पराजित भएपछि कांग्रेसीहरू भने अत्तालिएका छन् । तर उनीहरू पनि जितेका ठाउँमा अबीर जात्रामा कम जागेका छैनन् । यो यात्राले उनीहरूको हारलाई अलिकति भए पनि क्षतिपूर्ति गरिरहेको सहजै बुझ्न सकिन्छ । समानुपातिकतर्फ पाएको मतलाई देखाएर भए पनि कांग्रेसीहरू सान्त्वना लिने प्रयत्न गरिरहेका छन् ।

सावधान ओली, खबरदार प्रचण्ड !

लामो संक्रमणकालको समाप्तिको चरम अवस्थामा चुनावमा विजयी वाममोर्चाका ओली र प्रचण्डलाई सावधान र खबरदार गर्दै राजनीतिशास्त्रका एक प्राध्यापकले भने, पहिले बधाई अब सावधान ! यो उपलब्धि नेपाली मतदाताको विश्वास र भरोसामा कुठाराघात नहोस्, खबरदार प्रचण्ड ! प्राध्यापकले अगाडि भने, सत्ता हस्तान्तरणको यो संक्रमणमा सामान्य असावधानी, हेलचक्राइँ र थोरै अहमता पनि ज्यादै खतरनाक हुनसक्छ ।

यो संवेदनशील समयमा सत्ता छोड्ने र सत्ता ग्रहण गर्ने दुवै पक्ष अत्यन्त दबाबमा हुन्छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका सञ्चालक कति परिपक्व छन्, यसैले संकेत गर्छ । यसैका आधारमा नेपाली शासन सत्ताको मापन शक्तिराष्ट्र, अन्तर्राष्ट्रिय समूह, छिमेकीहरू, दातृराष्ट्रले गर्छन् । सहज, शान्तिपूर्ण र कानुनबमोजिम सत्ता हस्तान्तरण हुन सक्यो भने समृद्धितर्फ नेपालको यात्रा सुगम मात्र होइन, त्यसैबाट नेपालको सरकारले राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय वैधानिकता पनि प्राप्त गर्छ ।

उपरोक्त कुरा प्राध्यापकले जति सहज र स्वाभाविक रूपमा गरे तर यो एकदमै कठिन र धैर्य देखाएर फुकीफुकी पाइला चाल्नुपर्ने अवस्था हो । वर्षभरि पढेको पाठको जाँच दिँदा पनि किन हरेक विद्यार्थी परीक्षा भनेपछि संवेदनशील हुन्छन् ? किनभने सानो गल्ती भयो भने पनि वर्षभरिको मेहनत खेर जान्छ । हो, अहिलेको अवस्था भनेको ओली र प्रचण्डको फाइनल परीक्षा हो । यसमा उनीहरू सावधान र सतर्क हुनैपर्छ ।

प्रचण्डलाई प्राप्त मत ओलीको नेतृत्वमा स्थिर सरकार र समृद्धिको सपनाले नै प्राप्त भएको हो । यो अभिमतविरुद्ध कहींकतै देशी-विदेशीहरूका मतियारको रूपमा उनी प्रयोग भए भने त्यो नेपाली जनमतको अपमान ठहर्नेछ, खबरदार प्रचण्ड ! प्रचण्डको तिलस्मी क्षमता ओलीको नेतृत्वमा मुलुकको समृद्धितर्फको रूपान्तरणमा जनताले अनुभूति गर्न पाए भने जनताका आकांक्षा द्रूत गतिमा पूरा हुन सम्भव छ ।

अर्को भुल्न नहुने कुरा के पनि हो भने सत्ता हस्तान्तरण गर्न गइरहेका प्रधानमन्त्री देउवा गतिछाडा भए पनि हुन्छ भन्ने होइन । उनी झन् बढी जिम्मेवार र लोकतान्त्रिक मूल्यमान्यतामा खह्रो निस्कन सक्नुपर्छ । किताबमा लोकतन्त्र पढ्नु, गफ दिनु र जीवनमा त्यसको सही प्रयोग गर्नु कति भिन्न कुरा हो भन्ने यस्तै बेलामा देखिने हो ।

विवेक नगुमाइ आत्मादेखिको लोकतान्त्रिक प्रतिबद्धता प्रदर्शन भयो भने त्यसबाट युगान्तकारी परिवर्तन सम्भव छ । जसरी अमेरिकाका अब्राहम लिंकनले लोकतन्त्रको परिभाषा गरे, ‘जनताले, जनताको लागि, जनताद्वारा !’ उनले दिएको अभिव्यक्ति नै लोकतन्त्रको मूल मर्म सावित भयो । जबकि उनले यो कुरा दक्षिणी राज्यका विद्रोहीहरूलाई दमन गरिएपछि त्यसलाई पुष्टि गर्दै सम्बोधन गर्दा भनेका हुन् ।

लोकतन्त्रलाई धेरैले धेरै किसिमले पहाडजत्तिकै गह्रुँगो परिभाषा गरेका छन्, तर लिंकनको सरल, सहज र स्वाभाविक मानियो र विश्वव्यापी रूपमा स्थापित हुन सक्यो किनभने उनले अन्तरआत्मादेखिको विचार सबैले बुझ्न सक्ने गरी अभिव्यक्त गरेका थिए !

गाह्रो र चुनौतीपूर्ण

नेपालको अहिलेको अवस्था जटिल, संवेदनशील र चुनौतीपूर्ण छ । यस्तो समयमा ओली र प्रचण्डको गठबन्धनलाई जनताले पत्याएका छन् । बदलिएका मतदाताको मनलाई वामपन्थी नेताले चिनेको सावित भयो । गरिबी, अभाव, बेरोजगार, अविकासले ग्रस्त जनतालाई साथ लिएर समृद्ध नेपाल बनाउन अगाडि बढेका राजनेता सावित भए, ओली र प्रचण्ड ! केन्द्रीय मात्र होइन, प्रदेश र स्थानीय सरकारमा पनि उनीहरूले नै कब्जा जमाए । वामपन्थीहरूले जिते अधिनायकवाद आउँछ र रुन पनि पाइँदैन भन्दै भोट माग्ने कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवालाई उल्टै मतदाताले ‘अधिनायकवादी’ सावित गर्दै रुवाइदिए !

जितको व्यवस्थापन

ओली र प्रचण्डको नेतृत्वलाई प्राप्त यो सफलताको भविष्य अब उनीहरूले गर्ने जितको व्यवस्थापनमा निर्भर छ । भनाइ नै छ, सफल हुनु उपलब्धि हो तर प्राप्त सफलतालाई व्यवस्थापन गरेर कार्यान्वयन गर्नु मात्र वास्तविक सफलता हो ।

वामपन्थी ध्रुवीकरणका सूत्रधार भएकाले निर्वाचनमा प्राप्त सफलतालाई व्यवहारमा गरेर देखाउने जिम्मेवारीको बोझ प्रचण्डको तुलनामा केपी ओलीमाथि बढी छ । किनभने पहिलोपटक प्रधानमन्त्री हुँदा उनले देखेका र बाँडेका सपना पूरा गर्न नै जनताले एमालेका उम्मेदवारलाई देशैभर छानेका हुन् । ओलीको दृढता, लगनशील भएर लागिरहने एकलव्य बानीबेहोरा, युवा कार्यकर्तालाई परिचालन गर्न सक्ने मदन भण्डारीको जस्तै स्पिरिटर भनेको कुरा पूरा गरिछोड्ने प्रतिबद्धतालाई जनताले पत्याए । उनले देखेका सपना कार्यान्वयन गर्न नै उनको टिमलाई जनताले देशव्यापीरूपमा विजयी बनाएकोमा विवाद छैन ।

पार्टीको दबदबालाई राज्यका हरेक अंगमा कम गर्न राज्यलाई बलियो, निष्पक्ष र सेवा दिने भरपर्दो निकायको रूपमा स्थापित गर्नैपर्छ । राज्य बलियो भए मात्र संविधान ऐन-कानुनको पालना हुन सक्छ । पार्टीहरूलाई राज्यको अंगको रूपमा नै राख्नुपर्छ ।

यस अर्थमा ओलीमाथि ठूलो जिम्मेवारी छ र यो उनको अग्निपरीक्षा पनि हो । यसैले गर्दा चुनाव सकिएपछि देशीविदेशी सबैथरी उनीसँग भेट्न लालायित बनेर उनको निवास पुगिरहेका छन् । सफलताको शुभकामना दिइरहेका छन् । आफैंलाई पहिर्‍याइएको माला र खादाको थुप्रोको कुन्यूँ हेरेर ओली मुसुमुसु मुस्काउनुको पक्कै पनि केही अर्थ हुनुपर्छ ।

के यसरी ओलीले जनतालाई दिएका वचन पूरा हुन सक्छन् ? उनले त २४ घन्टामा दुईतीन घन्टा मात्र सुतेर ‘सिर्जनशील र नवीन’ योजना बनाउँदै त्यसको कार्यान्वयनतर्फ लाग्नुपर्छ । युवा संघका प्रथम अध्यक्ष रहेका ओलीलाई युवा शक्तिलाई बढीभन्दा बढी सहभागी गराएर आफू चनाखो अभिभावकको भूमिका निर्वाह गर्न लाग भनिरहनु पर्दैन । यसो गरेर मात्र सफल हुन सकिन्छ भन्ने कसैलाई थाहा छ भने त्यो उनैलाई मात्र छ ।

नेपालका समस्या राजनीति वा आर्थिक विकासका क्षेत्रमा मात्र सीमित छैनन् । ती व्यापक छन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सुरक्षा, प्रशासनिक, भौतिक विकास, कूटनीति, छिमेकीसँगको सम्बन्ध, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, यातायात, जलस्रोत, खानेपानी आदि सबैतिर समस्या छन् । यिनको समाधान कसरी गर्ने ? कुन बाटो समायो भने कम खर्चमा धेरै काम समयसीमाभित्रै गर्न सकिन्छ ? यसको लागि ओलीले तर्जुमा गरेका रणनीति र कार्यनीति सबैले बुझ्ने र व्यावहारिक हुनुपर्छ । यसको पूरै खाका उनले प्रधानमन्त्री भएका दिन जनतासमक्ष प्रस्तुत गर्नुपर्छ ताकि सबै नेपाली जनताले छर्लंग थाहा पाऊन्, अबको पाँच वर्षमा मेरो अवस्थालाई ओली नेतृत्वको सरकारले यहाँबाट यहाँसम्म पुर्‍याउनेछ । यसका लागि मैले यो जिम्मेवारी पूरा गर्नुपर्छ ।

प्रधानमन्त्री बन्न लागेका ओलीको पहिलो कार्यक्रम भनेको उनको घोषणापत्र हो । संविधान ऐन-कानुनप्रतिकूल नहुने गरी उनले त्यसलाई कार्यान्वयन गरून् भन्ने जनताको अपेक्षा छ । त्यो घोषणापत्र चुनाव जित्नका लागि जनतालाई झुक्याउन प्रकाशित गरिएको पोथ्रो नबनोस् !

देशको कार्यकारीको जिम्मेवारी पाएपछि विगतका सरकारका जस्ता कहिल्यै पूरा नहुने योजना बनाउने र गफ दिन थाल्ने होइन, जिम्मा पाएको दिन नै योजना पूरा हुने तिथिमितिसहित काम गर्ने पूरै टिम जिम्मेवार बन्ने संस्कृतिको सुरुआत गर्नुपर्छ । स्वप्नदर्शी ओलीका सपना कार्यान्वयन हुन पापी, अपराधी, बेइमान, दलाल, माफिया भ्रष्ट, बिचौलिया, लोभी, ठग, नटवरलालहरूबाट उनले पार पाउनैपर्छ।

भ्रष्टाचार देशभर व्याप्त छ । यसलाई नियन्त्रण गर्ने कसरी ? सरकार बजेट खर्च गर्न सकिरहेको छैन । कर्मचारी प्रशासन दलीय राजनीतिमा लिप्त छ । कर्मचारीलाई कसरी कार्यमुखी बनाउने ? एनजीओ÷आईएनजीओलाई कसरी राष्ट्रिय प्राथमिकताका क्षेत्रमा काम गराउने ? भूकम्पको क्षति पुनर्निर्माण हुन सकेको छैन । माओवादी मेलमिलाप र संक्रमणकालीन न्याय नहुनाले घाउ बेलाबेलामा चिलाउने-चर्कने गर्छ । देशमा औद्योगिक र कृषि उत्पादन कसरी बढाउने ? ट्याक्सको दायरामा हरेक नागरिकलाई कसरी ल्याउने ? राजस्व कसरी बढाउने ? निजी क्षेत्रलाई कसरी सशक्त बनाएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउने ? देशभर अनुशासन कसरी कायम गर्ने ?

वैदेशिक रोजगारमा अरब र मलेसिया जाने युवालाई कसरी देशमै रोजगारको अवसर सिर्जना गर्ने ? विदेश गएका लाखौंलाख युवालाई के आकर्षण दिएर स्वदेश फर्काउने ? आन्तरिक राष्ट्रिय सहमति गर्दै विदेश नीतिलाई कसरी मुलुकको विकासमा लगाउने ? वैदेशिक लगानीलाई कसरी आकर्षित गर्ने ? रोजगार र उत्पादकत्व कसरी बढाउने ? उत्तर र दक्षिणका छिमेकीलाई कसरी नेपालको विकासमा सहभागी गराउने ? उनीहरूका संवेदनशीलतालाई कसरी सम्बोधन गर्ने ?

यसको लागि ओलीलाई विभिन्न क्षेत्रका दह्रा सल्लाहकार चाहिन्छन् । पार्टीभित्रका सल्लाहकारले मात्र ओलीका सबै चुनौतीलाई समाधान गर्न सक्दैनन् । मिडिया र सामाजिक सञ्जालमा हेर्नुपर्छ । ओलीले काविल कन्सल्टेन्ट राखून् तर तिनको कुरा सुन्दा के नबिर्सिऊन् भने सल्लाहकारको दिमाग धेरै तगडा त हुन्छ, तर हृदय हुँदैन ! पार्टीले आम जनताको हित हेर्नुपर्छ, तर सल्लाहकारले पैसा मात्र हेर्छ !

ओलीले सकेसम्म प्रमुख विपक्षी दल कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्न सक्नुपर्छ । त्यस्तै मधेस इसुलाई संवेदनशील बनेर ध्यान केन्द्रित गरिरहनुुपर्छ । वामपन्थीहरूले नेतृत्व गरेको लोकतान्त्रिक सरकारले राष्ट्रिय सभा र प्रतिनिधिसभाका उपाध्यक्ष र उपसभामुख पद विपक्षी दललाई दिन सक्ने हो भने त्यो विपक्षीप्रति सच्चा सद्भाव प्रदर्शन र लोकतन्त्रमा विपक्षीलाई वामपन्थीले दिएको सच्चा सम्मानको सुरुआत र नयाँ मूल्यमान्यताको उदाहरण हुन सक्छ ।

वामपन्थी सरकारले संसद् बाहिर रहेका विद्रोहीहरूतिर पनि ध्यान दिइरहनुपर्छ किनभने सरकार राज्य सञ्चालनका निम्ति पूर्ण जिम्मेवार हुने हुनाले उसले शान्ति-सुरक्षामा एकदमै ध्यान केन्द्रित गर्नुपर्छ । देशमा शान्तिसुरक्षाको ग्यारेन्टी हुनु भनेको विकास हुनु हो भन्ने कहिल्यै बिर्सनु हुँदैन । त्यसैले शान्तिसुरक्षामा खतरा उत्पन्न गर्ने हतियारको प्रयोग र हिंसा बढ्न नदिन विशेष ध्यान दिनैपर्छ ।

पार्टीको दबदबालाई राज्यका हरेक अंगमा कम गर्न राज्यलाई बलियो, निष्पक्ष र सेवा दिने भरपर्दो निकायको रूपमा स्थापित गर्नैपर्छ । राज्य बलियो भए मात्र संविधान ऐन-कानुनको पालना हुन सक्छ । पार्टीहरूलाई राज्यको अंगको रूपमा नै राख्नुपर्छ, राज्यका निकायमा पार्टीको सिन्डिकेट हुनु हुन्न !



720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2