MENU

नानीबाबुलाई चिठी : समाजका लागि उपयोगी बन्न सिक

patan-college

अन्नपूर्ण आइतवार, पुस ९, २०७४ 1408 पटक पढिएको

Share This

635-x-85

प्यारा भाइबहिनी

नमस्कार ।

 

सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । ९५ वर्ष पुग्न लाग्दासम्ममा मैंले हजारौं किताबहरू पढेँ हुँला । करिब चार दर्जन किताब र अखबारहरूमा करोडौं शब्द लेखेँ हुँला । तर पनि म आफूलाई सिकारु नै ठान्दछु । पढाइलेखाइमा निरन्तरता भयो भने एकपटक पढेको कुरा कहिल्यै नयाँ लाग्दैन । भाइबहिनीलाई मेरो के सल्लाह छ भने विद्यालयमा पढाइ सुरु भएकै दिनदेखि एकैनासले पढ्नुपर्छ । परीक्षा केन्द्रित पढाइ क्षणिक हुन्छ, त्यो जीवनभर काम नलाग्न पनि सक्छ ।

 

मैले १८ महिनाको हँदा ‘दिदीआमा’ को काखमा वाल्मीकि रामायणको ‘मा निषाद प्रतिष्ठां...’ भन्ने श्लोक बारम्बार दोहोर्‍याएँछु । यो कुरा यहाँमात्र होइन बनासरसम्म फैलिएछ । त्यतिबेलादेखि पढेका श्लोक, स्तोत्र एवं पाठहरू म अहिले पनि गुनगुनाइरहन्छु । यसरी पढेको कुरा दोहोर्‍याउने, तेहेर्‍याउने गर्‍यो भने आजीवन काम लाग्दो रहेछ । नत्र बिर्सन सकिन्छ । कविताहरू सस्वर वाचन गर्नुपर्छ । यसले स्पष्ट बोल्ने बानीको विकास मात्र हुँदैन, स्मरण शक्तिसमेत बढ्छ ।

खानपान र व्यायामले जीवनमा ठूलो प्रभाव पार्दाे रहेछ । आजसम्म पनि मेरो उठ्ने, पढ्ने, खाने र सुत्ने बानीमा कुनै परिवर्तन भएको छैन । म बिहान सधैं साढे चार बजे उठेर प्राणायाम गरेपछि मात्र चिया पिउँछु । मेरो खानाको मात्रा पनि एकनासको छ । मलाई आफू सय वर्षसम्म बाँच्दछु भन्ने कुरामा विश्वास छ । बजारमा पाइने प्याकेटभित्रका खानेकुराबाट टाढै रहन मेरो सुझाव छ । यस्ता तयारी खाना मानसिक र शारीरिक विकासमा समेत बाधक हुन्छन् ।

 

म सानै छँदादेखिको घटना झल्झली सम्झन्छु । पाँच वर्षको हुँदा जेठा बाजेको घर गैरीधारामा मेरो व्रतबन्ध भएको राम्ररी याद छ । राणा प्रधानमन्त्री भीमशमशेरले मेरा पिताजीको जागिर मात्र खोसेनन्, जरिबानासमेत गरे । त्यसपछि हाम्रो घरको आर्थिक अवस्था अत्यन्त दयनीय बन्दै गयो । त्यसबेला हाम्रो मावली वनारसबाट मासिक एक सय भारतीय रुपैयाँ आउन थाल्यो । म त्यसलाई एक सय २८ रुपैयाँ पाँच पैसामा साट्दथेँ । यस घटनाले मेरो जीवनमा ठूलो प्रभाव पारेको छ । जस्तोसुकै जटिल परिस्थितिसँग पनि जुध्ने सामथ्र्य ममा सानैदेखि नै विकास हुँदै गएझैं लाग्छ । समस्याहरू आइरहन्छन् त्यसबाट विचलित हुनु हुँदैन । तिनको समाधानको बाटो खोज्नुपर्छ ।

 

हामीले आफ्नो अमूल्य समयको महत्व बुझेर छोटो समयमा नै समाजलाई उपयोगी हुने केही काम अवश्य गर्नुपर्छ । समयसँगै उमेर बितिरहेको हुन्छ । हिजोआज म तिमीहरूको उमेरसँग लोभिन्छु । तिमीहरूको मन्द हाँसो र श्रद्धाभाव (खोइ, केका लागि हो ? ) प्रति नतमस्तक हुन्छु । तिमीहरूको उमेर फेरि पाउन सके अझै केही उपयोगी काम गर्न सक्थेँ भन्ने मनमा लागिरहन्छ ।

 

तिमीहरुलाई माया गर्ने
मदनमणि दीक्षित

(साहित्यकार  दीक्षितसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2