MENU

नामजस्तै काम

patan-college

राजीव गौतम आइतवार, पुस ९, २०७४ 1258 पटक पढिएको

Share This

635-x-85

अंकुर कथा

 

त्यो गाउँमा सुन्दरी साह्रै लोकप्रिय थिइन् । गाउँका सबै महिला उनकै बारेमा कुरा गर्न आनन्द मान्दथे । उनीहरू आफ्ना छोराछोरीहरूबाट केही गल्ती भयो भने सुन्दरी जस्तै हुन सिक है भनी सल्लाह दिन्थे । प्रकृति प्राकृतिक सुन्दरताले हराभरा देखिएजस्तै त्यो गाउँ पनि सुन्दरीको उपस्थितिमा भरिपूर्ण देखिन्थ्यो ।

rajib-gautamएक दिन एकजना बिल्कुलै नयाँ मानिस जनचेतनामूलक कार्यक्रमको सिलसिलामा उक्त गाउँमा प्रवेश गर्‍यो । उनको बाहिरी आवरण हेर्दा अर्कै ग्रहबाट पृथ्वीमा पाइला टेकेको हो कि भन्ने भान पर्दथ्यो । उनी उक्त गाउँको बारेमा बढी दक्खल राख्ने वयस्क मान्छेको खोजीमा थिए । जब उनले यो जिज्ञासा गाउँलेहरूलाई राखे तब सबैको मुखबाट एउटै नाम सुने । त्यो नाम सुन्दरी थियो । सौभाग्यवश उनले सोधेका सबै मानिस महिला थिए जो सुन्दरीको पक्षमा थिए ।

उक्त नयाँ मान्छेले सोधे, ‘सबैजना सुन्दरी-सुन्दरी भन्नुहुन्छ आखिर यो सुन्दरी भनेको को हो ? के उहाँ कुनै पार्टीको प्रतिनिधि हो अथवा महिला स्वास्थ्य स्वयंसेविका ? ’

एउटा महिलाबाट जवाफ आयो, ‘हैन हैन त्यस्तो केही हैन । उनी त बस तेह्रवर्षे बालिका हुन् ।’

उक्त नयाँ मानिसले भने, ‘म त समाजका कुसंस्कृतिहरू जस्तै दाइजो प्रथा, महिला हिंसा, लैंगिक विभेदजस्ता कुराहरूबाट माथि उठ्न जनचेतना फैलाउने हिसाबले यहाँ आएको हुँ । तर के तेह्र वर्षको बालिकाले मेरो यो काममा सहयोग गर्न सक्छिन् त ? ’ उनको कुरा सुनिरहेकी एक महिलाले भनिन्, ‘निश्चय नै सक्छिन् । तपाईं उनको बारेमा अनभिज्ञ भएको हुनाले शंका गर्दै हुनुहुन्छ ।’

उक्त मानिसले पुनः दोहोर्‍याउँदै भने, ‘त्यसो हो भने सुन्दरी कहाँ छिन् त ? ’

सुन्दरी नाम लिनेबित्तिकैै त्यहाँ हाजिर भइन् र आफ्नो परिचय दिइन । उनी आफूमा भएको निडरपना र आकर्षक व्यक्तित्वका कारण जो कोहीलाई पनि प्रभावित पार्न सक्थिन् । उनमा साहस र आत्मविश्वास भरिएको थियो । उक्त नयाँ मानिसले उनलाई अभिवादन गर्दै आफू त्यो गाउँसम्म आउनुको उद्देश्य बताए ।

उनको सबै कुरा सुनिसकेपछि सुन्दरीले सबै कुराको व्यवस्था राम्रोसँग मिलाइदिने वाचा गरिन् । उनले गाउँले भेलाको आयोजना गरिदिइन् । उनले भनेको हुनाले सबै गाउँलेहरू त्यस भेलामा उपस्थित भए । त्यहाँका धेरै मानिस अशिक्षित भएको कारणले महिलाले धेरै प्रकारका हिंसाको सामना गर्नु पर्दथ्यो । उक्त मानिसले जनचेतनामूलक कार्यक्रममार्फत सबै गाउँलेलाई कुनै पनि प्रकारको हिंसा अब उप्रान्त त्यो गाउँमा नदोहोर्‍याउन सुझाव दिए । उनले सुन्दरीलाई त्यो गाउँमा शान्ति स्थापना गर्ने दूतको रूपमा नियुक्त गरे र केही समस्या आए आफूलाई जानकारी गराउने आग्रहसहित बिदा भए ।

आफूले पाएको जिम्मेवारी सुन्दरीका लागि गाह्रो थिएन । किनभने उनको अर्को नाम जिम्मेवारी बहन पनि थियो । उनले अझै सशक्त भएर आफूले पाएको जिम्मेवारीलाई बहन गर्ने निर्णय गरिन् । जुन ठाउँमा हिंसाका घटनाहरू हुने गर्दछ त्यो ठाउँमा उनले आफ्नो उपस्थिति जनाएर दोषीमाथि कारबाही गर्दै सिर्जनशील काममा लाग्न प्रेरणा दिन थालिन् । यदि कुनै मानिसले जुवातास खेल्दै समय बर्बाद गरेको भेटिन् भने उनले त्यहाँको जुवातास उनीहरूलाई नै निल्न लगाउन थालिन् । यदि मानिसले जाँडरक्सी खाँदै गरेको देखिन् भने त्यही जाँडरक्सीले नै उनीहरूलाई नुहाउन लगाउन पनि थालिन् । अब पुरुष पनि उनको नाम सुन्नेबित्तिकै डराउन थाले ।

सुन्दरीको डरले सबै गाउँलेले आफूले गर्नुपर्ने कर्तव्यको पालना गर्न थाले । उनीहरूले आफ्नो गल्ती नदोहोर्‍याउने वाचा पनि गर्न थाले । विस्तारै त्यो गाउँ दाइजोमुक्त गाउँमा परिणत भयो । पुरुषले आफूहरूमा भएको जुवातास, जाँडरक्सीजस्ता तल पनि छोड्दै गए । अब भने साँच्चिकै महिला र पुरुष त्यो गाउँमा एक रथका दुई पाङ्ग्राझैं देखिन थाले ।

सबै गाउँलेले एउटै स्वरमा भने, ‘धन्यवाद छ सुन्दरी तिमीलाई । तिमीले गर्दा नै हामीले हाम्रो गल्तीलाई सच्याएर सुन्दर भविष्यतर्फ हामी उन्मुख हुन सक्यौं ।’

सुन्दरी पनि खुसी भइन् र भनिन्, ‘म सानी नानीले भनेको कुरालाई स्वीकार गर्दै आदर्श राज्यको एउटा नमुनाको रूपमा हाम्रो गाउँलाई उभ्याउन सहयोग गर्नु भएकोमा तपाईंहरूलाई पनि धन्यबाद ।’

सुन्दरीका सबै आफन्तजनहरू पनि सानै उमेरमा उनले गरेको नाम जस्तै काम प्रति गौरवान्वित भए र उनीहरू सबैको खुसीमा प्रकृतिले पनि साथ दिइन्।

 

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2