MENU

नानीबाबुलाई राष्ट्रकवि घिमिरेको चिठी

patan-college

  माधवप्रसाद घिमिरे आइतवार, पुस १६, २०७४ 1553 पटक पढिएको

Share This

635-x-85

नानीबाबुलाई चिठी

 नबुझेका कुरा पटकपटक सोध

 

प्यारा भाइबहिनी

नमस्कार ।

 

हामीले आफ्नो समाज र समुदायप्रति सधैं चासो राख्नुपर्छ । त्यहाँको भाषा, कला, चालचलन, संस्कार, परम्परा आदिबारे थोरबहुत थाहा भयो भने समाजमा घुलमिल हुन सजिलो हुन्छ । अन्य समुदायका साथीहरूको चाडबाड आदिमा सहभागी बन्नुपर्छ । हिजोआज म के देख्दैछु भने, तिमीहरू अधिकांशलाई आफ्नो मातृभाषा आउँदैन । घरमा अभिभावकले बोल्दासमेत तिमीहरू लजाउने गरेको देखेको, सुनेको छु । यो ज्यादै दुःखद् पक्ष हो । भाषा हाम्रो सम्पत्ति हो, प्राण हो भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन । यसलाई जगेर्ना गर्ने जिम्मा अब तिमीहरूकै काँधमा छ । त्यसैले तिमीहरूमा मातृभाषा, बोलचालको भाषा र अन्तर्राष्ट्रिय अंगेजी भाषासमेतमा राम्रो पकड हुनै पर्छ ।

 Image result

आमा र बुवा हाम्रा पहिलो गुरु हुन् । सिकाइ प्रक्रियाको थालनी उनीहरूबाटै हुन्छ । विद्यालय त औपचारिक शिक्षाको छुट्टै पाटो भयो । गुरु र आमा–बुवालाई सधैं साथीजस्तै ठान्नुपर्छ । उनीहरूलाई आदर गर्न चाहिँ नभुल्नु नि ! आफूले नजानेका र नबुझेका कुरा अरूलाई सोध्ने बानीको विकास भएन भने जीवनमा कहिल्यै प्रगति गर्न सकिँदैन । आफूले जानेका कुरा अरूलाई पनि सिकाउ । विद्यालय यन्त्रणा दिने ठाउँ होइन भन्ने कुरा साना भाइबहिनीलाई बुझाउने जिम्मा पनि तिमीहरूकै हो ।

 

तिमीहरूले पढेका र देखेका कुरा सम्झेर लेख्ने बानी ग¥यौ भने लेखनकलाको विकास हुन्छ । लेखेर साथीभाइलाई सुनाउने गर्नुपर्छ । पहिलो लेखाइमै कोही पनि सफल हुँदैन । बिस्तारै खारिँदै गइन्छ । म अहिले ९९ वर्षमा हिँड्दै गर्दा जीवनभर सिकेको अनुभवका आधारमा लेखिरहेको छु । नेपाली साहित्यमा अझै केही उपयोगी काम गर्ने रहर मेरा मनमा छँदैछ । अफ्ठ्यारा लाग्ने विषयमा हेल्चेक्र्याइँ गर्नु हुँदैन । त्यसमा थप मेहनत गनुपर्छ । तिमीहरूलाई रुचिअनुसारको काम मात्र गर्न मेरो सुझाव छ । कसैको लहैलहै वा करकापमा लागेर गरेका कामले क्षणिक लाभ मात्र दिन्छ । त्यसैले आफ्नो रुचि अभिभावकलाई प्रष्ट भन्नैपर्छ । नत्र कुहिराको काग बनिन्छ ।

 

तिमीहरूले चराले गीत गाएको, खोलाले सुसेली हालेको सुनेका छौ ? बिदाको समयमा घरबाहिर घुम्न निस्कियो भने धेरै कुरा सिकिन्छ । प्रकृति एउटा खुला पाठशाला नै हो । कोठाभित्र एक्लै मोबाइल र टीभीमा झुम्मिने बानीले खासै फाइदा गर्दैन । अझ हेर्ने सामग्री छुट्ट्याउन जानिएन भने समय मात्र बर्बाद हुन्छ । खेल्ने पढ्ने हरेक कुराको समयतालिका बनायौ भने राम्रो हुन्छ ।

 

साहित्यले समाज बुझाउँछ, मान्छेलाई मान्छे बनाउँछ । बजारमा बालसाहित्यको नाममा छापिएका सामग्री छ्यासछ्याप्ती पाउन थालेकोमा सन्तोष लाग्छ । नवोदित प्रतिभाका नयाँनयाँ प्रविधि अनुकूल काम देखेर मक्खै पर्छु । तर बजारमा पाइने सबै सामग्री तिमीहरूको स्तर, रुचि, भाषा, क्षमताअनुसारका छैनन् नि ! यसबाट टाढै रहन तिमीहरूले आभिभावक या गुरुको सहायता लिनै पर्छ । उमेरअनुसार पढ्ने बानी बढाउँदै लैजानुपर्छ । निम्नलिखित सामग्रीले तिमीहरूको क्षमता विकासमा पक्कै सहयोग गर्छ भन्नेमा म विश्वस्त छु ।

 लक्ष्मीप्रसाद देवकोटाका बालकविता

 कृष्णप्रसाद पराजुलीका बालकविता

 रामबाबु सुवेदीका बाल साहित्य

 माधव घिमिरेका घामपानी, सुनपंखी चरी, बिजुले र बिजुला, बालालहरी इत्यादि । 

तिमीहरूलाई माया गर्ने

 माधवप्रसाद घिमिरे

(राष्ट्रकवि घिमिरेसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित )

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2