MENU

धुवाँको रंगीन संसार

patan-college

हिमाल दाहाल शुक्रवार, पुस २१, २०७४ 1794 पटक पढिएको

Share This

635-x-85

इटहरीकी २० वर्षीया निशा साथीहरूसँग घुमफिर गर्न रुचाउँछिन्। त्यस क्रममा खानपानमा पनि उनी सोखिन छिन्। घुम्न जाँदा उनले हम्मेसी नछुटाउने कुरा हो, हुक्का। ग्रामीण क्षेत्रका युवकयुवतीका लागि हुक्का शब्द नयाँ भए पनि सहरिया युवतीहरू अझ पार्टी, रेस्टुरेन्ट तथा डिस्को जानेहरूका लागि भने यो परिचित शब्द हो। आजकाल रेस्टुरेन्टहरूमा पानी भरिएको सिसाको भाँडोमाथि राखिएको कोइलाको धुवाँ पाइपबाट तान्दै हावामा उडाउँदै गरेका युवकयुवतीको भीड देख्न सकिन्छ। हुक्का विभिन्न फ्लेभरमा पाइन्छन्— मिंट, स्ट्राबेरी, कफी, कोला, पाइनएपल, चकलेट, एप्रिकोट आदि।

यस्ता स्वादिला धुवाँ पाइपबाट स्वाट्ट तानेर फुर्रर्र गर्दै हावामा फाल्नुलाई आजकाल युवकयुवतीहरूले फेसनका रूपमा प्रयोग गर्न थालेका छन्। जुन सुमा गाह्रो तर बानी परेपछि उनीहरूलाई सजिलो लाग्छ। सुरुमा हुक्का तान्दा सर्केर गाह्रो भएको निशा सम्झन्छिन्। ‘त्यसपछि धेरै दिनसम्म तानिनँ’, उनले भनिन्, ‘पछि परिवार नै एउटा रेस्टुरेन्टमा गएका थियौं, त्यहाँ सबैले तान्दा मैले पनि तानेँ।’ त्यसयता उनी मदिरा वा मासुका परिकारसँग हुक्का खोज्छिन्। ‘लत त होइन, तर पनि हुक्कालाई मिस गर्छु’, उनले भनिन्, ‘चुरोट खान्नँ तर हुक्का तान्छु।’ उनलाई हुक्कामा प्रयोग हुने विभिन्न फ्लेभरले तान्ने गरेको छ।

हुक्का तान्नेहरू विस्तारै चुरोटको लतमा फँस्छन् भन्ने एकाथरीको भनाइ छ। अर्काथरी यसलाई नकार्छन्। तर, स्ट्रवेरी फ्लेभरको हुक्का तान्न रुचाउने धरानकी सपनाले हुक्का तान्ने क्रममै चुरोटमा बानी पारिन्। ‘हुक्काको धुवाँले चुरोटको धुवाँसँग पनि बानी पार्‍यो’, उनी भन्छिन्, ‘फरक यत्ति हो कि हुक्का विभिन्न फ्लेभरमा हुन्छ, चुरोटचाहिँ सूर्ती मात्र हो।’

उनले हुक्का तान्न थालेको तीन वर्ष भयो। हुक्का तान्न रेस्टुरेन्ट नै जानुपर्छ। त्यसैले बाहिर हुँदा चुरोट प्रयोग गर्छिन्। ‘स्वास्थ्यका लागि हानिकारक हो भन्ने थाहा छ’, उनी भन्छिन्, ‘तर के गर्नु, बानी पर्‍यो।’

निशाजस्तै धेरै युवकयुवती हुक्काको लतमा छन्। झन् जाडोको समयमा त हुक्काको अत्यधिक माग हुने गरेको होटल व्यवसायीहरूको भनाइ छ। मदिराको प्रयोग हुने अधिकांश रेस्टुरेन्ट तथा होटलहरूले हुक्का राख्ने गरेका छन्। मागकै आधारमा पछिल्लो समयमा धेरै पसलले हुक्का राख्न थालेका छन्।

इतिहास

हुक्काको सुरुआत भारतबाट भएको मानिन्छ। तर, कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन। किनकि सन् १५६० अघि भारतमा पाइपको अस्तित्वबारे केही खुलेको छैन। १७औं शताब्दीमा मात्र त्यहाँ सुर्ती पुगेको बताइन्छ।

त्यहाँका मुसलमान राजा, महाराजा तथा सामन्तहरूले हुक्का प्रयोग गर्ने गर्थे। सुर्ती भरिएको हुक्कालाई पछि चुरोटले विस्थापित गर्‍यो। किनकि हुक्का बोकेर खाँदै हिड्न सम्भव हुँदैनथ्यो। भारत पुगेका बेलायतीहरूले हुक्का देखे। त्यसपछि हुक्का युरोपमा पनि चल्न थाल्यो।

स्वादिलो पनि हानिकारक

हुक्कालाई मनोरञ्जन र बानीका रूपमा धेरै युवकयुवतीले प्रयोग गरेका छन्। प्रेमी, प्रेमिका, साथीभाइमात्र होइन; परिवारहरू पनि रेस्टुरेन्टमा जाँदा हुक्का तान्ने संस्कारको विकास भइरहेको छ। विभिन्न फ्लेभरमा पाइने हुक्का स्वास्थ्यका लागि त्यति हानिकारक नहुने बुझाइ युवाहरूको छ। रेस्टुरेन्टका सञ्चालकहरू पनि त्यसै भन्छन्। तर, त्यो त्यति खतरामुक्त भने छैन। खासगरी सबैप्रकारका धुवाँ मानिसको शरीरका लागि हानिकारक हुन्छ।

हुक्का पिउने क्रममा तानिएको सुर्तीको धुवाँ सीधै कलेजोसम्म पुग्छ। पानीको भाँडा हुँदै आउने भएकाले हुक्का चुरोटजस्तो हानिकारक हुँदैन भन्ने आममानसिकता छ। तर, पानीले कुनै पनि धुवाँलाई फिल्टर गर्न सक्दैन।

हुक्का तान्दा एकपटकमा चार हजारभन्दा बढी रसायन शरीरभित्र जान्छन्, जसमा ४० भन्दा बढी क्यान्सर पैदा गर्ने खालका हुने बताइन्छ। विभिन्न स्वादका हुक्कामा सुर्ती हुँदैन तर त्यसमा सिसा हुने र त्यो स्वास्थ्यका लागि हानिकारक हुनेसमेत कतिपयको तर्क छ। यससम्बन्धी स्वतन्त्र अनुसन्धानका विवरणहरू भने कतै पाइएको छैन।

सुर्तीमा निकोटिन हुन्छ, जुन घातक र क्यान्सरको कारक हुन्छ। निकोटिन मात्र होइन, जुनसुकै फ्लेभरको भए पनि हुक्काको धुवाँ कोइलाबाट उत्पन्न हुन्छ र अमोनिया, मेथोनोल, एसिटोन, नैफ्थेलैमिन, पाइरिन, केडमियम, डाई मैथिल, नाइट्रो सैमिन, कार्बन डाइमोनोअक्साइड, नफ्थैलिनजस्ता रसायन हुन्छन्। यिनले मानव स्वास्थ्यलाई हानि गर्ने वरिष्ठ फिजिसियन डा. बद्रीप्रसाद दाहाल बताउँछन्। ‘फ्लेभर जे राखे पनि सूर्तीमा निकोटिन पाइन्छ’, उनी भन्छन्, ‘यो स्वास्थ्यका लागि हानिकारक हो।’

हुक्का पिउने क्रममा तानिएको सुर्तीको धुवाँ सीधै कलेजोसम्म पुग्छ। पानीको भाँडा हुँदै आउने भएकाले हुक्का चुरोटजस्तो हानिकारक हुँदैन भन्ने आममानसिकता छ। तर, पानीले कुनै पनि धुवाँलाई फिल्टर गर्न सक्दैन। त्यसैले कम हानिकारक भन्ने भ्रम गलत हो। चुरोटजस्तो तातो नभए पनि हुक्काको धुवाँले उति नै हानि गर्ने डा. दाहाल बताउँछन्। यस्तै हुक्का पिउने क्रममा समूहमा पिउँदा एउटै पाइप धेरैले प्रयोग गर्छन्। यसबाट मुखसम्बन्धी रोग सर्ने सम्भावना हुन्छ।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2