MENU

धर्मको धरहरा

patan-college

माधव सयपत्री शनिवार, पुस २२, २०७४ 348 पटक पढिएको

Share This

635-x-85

धर्मको विषयमा संविधान वा राज्य मौन रहनु राम्रो हुन्छ। धर्म मानिसको नितान्त व्यक्तिगत मामिला हो। यो ऐन–कानुन होइन। कुनै पनि धर्म अवलम्बन गर्न व्यक्ति स्वतन्त्र हुन्छ।

दाताको हात

‘गाविसमा एउटा वडाको लागि पाँचवटा त्रिपाल आउँछ रे ! पाँचजना मात्रै जानू रे त्रिपाल लिन।’

२०७२ को भूकम्पले हाम्रो मनै हल्लाएको थियो। सदरमुकाम लगायतका बजारमा त्रिपाल सकिएको थियो। हाम्रा लागि त्रिपाल पहिलो आवश्यकता थियो। त्यसैले उकालोमा पसिना चुहाउँदै हामी त्रिपाल हात पार्न कुद्यौं।

हाम्रो हातमा लगभग दुइटा गुन्द्रीको आयतनको एकदमै कमजोर त्रिपाल थमाइयो। त्रिपालदाता ट्रकबाट तल झ¥यो। आदेश गर्‍यो, ‘तपाईंहरू त्रिपाल हातमा लिएर लहरै उभिनुस्। लु, अब मुसुक्क हाँस्नुस् त ! म फोटो लिन्छु।’

उसको लवजमा अहम् चुलिएको थियो। हामीलाई ठूलै गुन लगाएको जस्तो ठानेको थियो। लाग्थ्यो, एउटा त्रिपाल दिएर हामीलाई जीवनभर नभुल्ने गुन लगाएको छ उसले। अनि सारा ब्रह्माण्ड उसैको मुठीभित्र छ। त्यो महाभूकम्प उसले गराएको हो र अब पृथ्वीमा सदाका लागि उसैले भूकम्पको दुर्दान्त पीडा दूर गरिदिन्छ।

भूकम्पले घर र मन थिलथिलो बनाएका बेला मान्छे कसरी मुस्कुराउन सक्छ ? कहिलेकाहीँ अरूकै लागि भए पनि बनावटी मुस्कान दिनुपर्दो रहेछ। मुटुमाथि यामानको ढुंगाकै बोझ बोकेर हामीले कसैका लागि मुस्कुराएको अभिनय ग¥यौं। त्रिपालदाताले अत्याधुनिक मोबाइलले तीन चारचोटि ‘क्लिक् क्लिक्’ फोटो खिच्यो। अन्तिममा ऊ पनि हाम्रै छेउमा आयो र सेल्फी हान्यो। भन्यो, ‘यी त्रिपालहरू विश्व हिन्दु महासंघले पठाएको हो।’

उसको स्वार्थ हो— मालिकलाई खुसी बनाउनु। जागिरबाट निश्चित पारि श्रमिक लिनु। दैनिक गुजारा चलाउनु। उसले काम गर्ने संस्थाको स्वार्थ हो— विश्व हिन्दू महासंघको अस्तित्व विस्तार गर्नु। र, संसारलाई आफ्नो संगठनको करामत देखाउनु।

अर्को दिन पनि त्रिपालको उर्दी आयो। गइएन। पछि सुनियो, ‘क्रिस्चियनले चामल ल्याएको थियो रे। चामलको बोरामा बाइबल पनि बाँडेको थियो रे।’

सर्वसाधारण जनता अभावमा हुँदा जसले पनि उनीहरूकै भावनामा खेल्दा रहेछन्। उनीहरू जनताको अभावबाटै फाइदा लिएर नाम र दाम कमाउँदा रहेछन्। धर्मभीरु पाखण्डीहरू यस्तै अप्ठ्यारोमा जनताको मर्ममा नुनचुक खन्याएर कथित धर्मको धरहरा ठड्याउन उद्यत हुँदा रहेछन्। आडम्बरीहरू धमिलोमै खेल्न रुचाउँदा रहेछन्। ‘के धर्म भनेको कसैको कमजोरीमा खेल्ने कुटिल खेल हो ? ’ आफैंसँग बेलाबेलामा प्रश्न गर्छु म।

धर्म, कर्म र अध्यात्म फरक कुरा हुन्। यी विषयमा प्रशस्तै बहस–मीमांसा सुनिएकै छ। टेलिभिजनमा हरिदासजीको प्रवचन अतुलनीय नै लाग्छ। यिनले जीवन र जगत्लाई मजाले जोड्छन्। शास्त्रलाई केस्राकेस्रामा केलाउँछन्। शास्त्र र तर्कको आलोकमा जीवनलाई पढ्छन्। अरूहरूका आलेख पनि पत्रपत्रिकामा पढिएकै छ। धेरैले धर्म र अध्यात्मलाई एकै कोटीमा राखेर व्याख्या गर्छन्। रूढिवादीहरूले कर्मलाई ‘भाग्य’ भनिदिन्छन्। अनेक धर्मधारीले समाजमा भ्रमको पर्दा लगाएर खुला चौरमा नांगो नाच देखाइरहेकै छन्। यसबारे लेखक सौरभको मननयोग्य विचार छ। उनले लेखेका छन्, ‘कर्म विधिद्वारा सञ्चालित हुन्छ। कर्मकाण्डी हुन्छ। आफ्ना लागि मात्र गरिन्छ। धर्म व्यवहार हो। अरूका लागि गरिन्छ। अध्यात्म यी दुवैभन्दा माथि छ। न यो प्रक्रिया हो न व्यवहार। न यसका ग्रन्थ छन्, न यसको गुरु। चैतन्यमा जाने बाटो हो अध्यात्म। निराकार शक्तिसँग आफ्नो आत्माको विलयन निम्ति गरिने साधना हो अध्यात्म।’ (अन्नपूर्ण, फुर्सद, २०७३ मंसिर २५)

धर्म, कर्म र अध्यात्मबारेको यो परिभाषा मलाई अहिलेसम्मकै अब्बल लागेको छ। ‘म आस्तिक हुँ’ भन्दै अन्धो धार्मिक बन्नुभन्दा ‘म नास्तिक हुँ’ भनेर आध्यात्मिक बाटोमा हिँड्नेहरू समाजका लागि योग्य र आदर्श पात्र बन्न सक्छन्।

गाउँघरमा पनि धर्म बदल्ने र बदल्न लगाउनेहरू बढ्न थालेका छन्। अनेक ‘मिसन’ लिएर आउँछन्। ‘धर्म भनेको के हो ? तपाईंहरूले किन अर्को धर्म लिनुभएको ? ’ जस्ता प्रश्न सोधिदियो भने ती नयाँ धर्मधारीहरू प्रश्नकर्तालाई ‘इतरपक्षको मान्छे’ ठान्छन्। कहिल्यै खुलेर कुरा गर्दैनन्। छलिएर हिँड्छन्। तर्क र प्रश्न गर्न नसक्ने कमजोरलाई नै तिनले हात लिन खोज्दा रहेछन्। तिनैलाई हतियार बनाएर धर्मको कुटिल राजनीति गर्नु (कु) धर्म प्रचारकहरूको अभीष्ट देखिन्छ।

धर्मभीरुहरूको व्यवहार

आफूलाई श्रीकृष्णको भक्त भन्न रुचाउने ‘प्रणामी’हरू गाउँगाउँमा छन्। आपूmलाई अन्य धर्मावलम्बीभन्दा माथिल्लो स्तरको ठान्छन् उनीहरू। नमस्कार गर्दा ‘प्रणाम’ फर्काउँछन्। ‘मासु’ र ‘तरकारी’ शब्द बोल्न हुँदैन। ‘सब्जी’ भन्नुपर्छ। ‘तरकारी’ प्रणामीहरूको शब्दकोशमा हुँदैन। उनीहरू अरूले पकाएको खाँदैनन्। मांसाहारीको छेउमै पर्दैनन्। हिन्दुकै हाँगा भए पनि कृष्णबाहेक कुनै देवताको नामै सुन्न नचाहने प्रणामीहरू स्वर्गको टिकट आफ्नै हातमा भएजस्तो गर्छन्। अरू धर्मावलम्बीलाई मान्छेको दर्जामै राख्दैनन्। पुरेत पनि प्रणामी नै चाहिन्छ। प्रणामीमार्गीको मृत्यु भएमा गैरप्रणामीले लासै छुन हुँदैन रे !

अझ क्रिस्चियनहरूको संगठन एकदमै आक्रामक छ। त्यो कुनै धर्मसम्प्रदायको निःस्वार्थ सेवाकर्म नभएर राजनीतिक पार्टीको चुनावी प्रचार अभियानजस्तै लाग्छ। उनीहरू गैरक्रिस्चियनलाई ‘सैतान’ बनाइदिन्छन्। उनीहरूको मार्गतिर नलागे सबै ‘कुमार्गी’ बन्छन्। हाम्रै अज्ञानता र अभावमा खेलेर उनीहरूलाई क्रिस्चियनको संख्या बढाउनु छ। उनीहरूले देखाएको धर्मको ललिपप समात्ने प्रतियोगितामा हामी दौडन्छौं।

सेता पहिरनवाला ‘ओम् शान्ति’ पथका मानिसहरू आपूmलाई ‘मान्छेहरूमै श्रेष्ठ’ भनिठान्छन्। तिनको संगठन झनै खतरनाक देखिन्छ। ठाउँठाउँमा धर्मशिविरै चलाउँछन्। सबै मान्छे ओम् शान्तितिरै ओइरिदिए परलोकको बाटै देखाइदिने झैँ गर्छन्।

‘राधेराधेवाला’को त झन् दम्भै बेग्लै। ‘हरये नमः’को पहेँलो कपडाको टुक्रा काँधमा भिर्नेबित्तिकै स्वर्गको बाटो सोझिएको भ्रममा निमग्न छन्। अनेक पदवीधारी पण्डापुरेतहरूले उनीहरूलाई कल्पनाको आकाशमा सयर गराइरहेका छन्।

धर्मको टेको समातेर भ्रमको भर्‍याङ ठड्याउनेहरूको दबदबा बढेको छ। टेलिभिजनका पर्दामा ‘महाराज’ पदवीधारीहरू तुला दान, माटो दान र मूर्ति दानको विज्ञापन गरिरहेका देखिन्छन्। ‘स्वामी’, ‘जगत्गुरु’ र ‘अनन्त श्री विभूषित’हरू पनि स्वर्गको लाइसेन्स बेचिरहेकै छन्। तिनको लवज र हाउभाउबाटै थाहा पाउन सकिन्छ, ती धार्मिक हुन् कि नक्कले मनुवा। रूखरूखमा लाउडस्पिकर झुन्ड्याएर भागवत् वाचन गरिरहेका हुन्छन्। आफ्नो कर्कश आवाजले ककसलाई मर्का परेको छ, कुनै ‘धार्मिक’ले सोचेको समेत भेटिँदैन। यौवनी नजर आफूतिर तान्न कथामा मायाप्रेमका फुँदा जोडिरहेका हुन्छन्। जसरी हुन्छ, केन्द्रमा आपूmलाई पार्न प्रयासरत देखिन्छन्।

मानिसलाई भ्रमको अँध्यारो सुरुङभित्र पस्न प्रेरित गरेर ‘नाफा’ कमाउनेहरू कसरी धार्मिक हुन सक्छन् ? भलै ती विज्ञापनहरू समाजसेवाका लागि होलान्। दानदातव्यबाट प्राप्त सहयोग राशिले राम्रो काम पनि भएको होला। तर, राम्रो कामका लागि सहयोग जुटाउन किन मानिसलाई भ्रममार्गमा जबर्जस्ती हिँडाउनु ? मानिसमा विशेष कला/प्रतिभा हुनसक्छ। हुन्छ। तर, त्यो ‘विशेष’कै कारण ऊ भगवान् हुन सक्दैन। यहाँ मानिसलाई देवत्वकरण गरिएकै कारणले विभेदको रूख झाँगिएको हो। त्यही विभेदले मानिसलाई अधार्मिक बनाएको छ।

वैदिक कालमा मानिसबीच बिलकुल विभेद थिएन। हाम्रा पवित्र ग्रन्थहरूमा आफू अनुकूल अनेक क्षेपक थपेर पुरेतपण्डाहरूले समाजमा विभेद सिर्जना गरेका हुन्। त्यसैलाई ‘कर्मकाण्ड’मा बदलेर आफ्नो मागी खाने भाँडो बनाएका हुन्। ‘समानि मन्त्र समिति समानि, समानि मनः सहचित्तमेषाम्’ र ‘समानि आकृति समानि हृदयामि व’जस्ता ऋचाहरू ऋग्वेदमा छन् भने विभेदको पर्खाल कहिले र कसले लगाएको रहेछ ?

प्राचीन ग्रन्थहरूले जात र भात, राजा र राज्य, पीडक र पीडितको कल्पनासमेत गरेका छैनन्। महाभारतले भनेकै छ, ‘नवै राज्यम् न राजासित् न दण्डो न च दाण्डिक’, ‘जात्या च सदृशाः सर्वे कुलेन सदृशास्तथा’ (शान्तिपर्व, ४८।७१ र १०७।३०)

मानिसको भावना, विश्वास र आत्मसम्मानमा चोट पु¥याउनु भयंकर अपराध हो। आत्मशान्तिका लागि, विश्वासका साथ, उच्च मनोबलले स्वधर्ममा अभ्यासरत सनातनीहरूको बाटो किन मोड्न खोज्दैछन् हँ यी पण्डाहरू ? यिनीहरूले कुनै ‘महाप्रभु’को टेन्डरमा ठेक्का नै लिएका त छैनन्। धर्म र धर्म परिवर्तनबारे गीतामा कृष्णले भनेका छन्,

‘ श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात।

स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह।’ ३/३५

(राम्रो आचरणबाट पालना गरिएको अरूको धर्मभन्दा थोरै गुण भए पनि आफ्नो धर्म अति उत्तम छ। स्वधर्ममा रहेर मर्नु पनि कल्याणकारी छ। अरूको धर्म भयदायक छ।)

(यसो भनिरहँदा कुनै एक धर्मको पक्षपोषण गर्न खोजेको नसोचियोस्।) मानिसलाई स्वर्धमबाट किन विचलित गराउन खोजिन्छ ? जो जहाँ छ, त्यसले त्यहीँ बसेर ‘राम्रो’ गर्दिए भइहाल्यो नि ! धर्म त व्यवहार हो। आडम्बर होइन। यो कसैलाई देखाउनका लागि गरिने कार्य नै होइन। यो स्वतः परमार्थका लागि हुन्छ र हुनुपर्छ। भएन भने धर्म भनिँदैन। पाखण्ड भनिन्छ।

स्वधर्मबारे मनुस्मृतिले पनि गीताकै बाटो पछ्याएको छ। मनुस्मृति भन्छ,

‘वरं स्वधर्मो विगुणो न पारक्यः स्वनुष्ठितः

परधर्मेण जीवन् हि सद्यः पततिं जातित।’ १०/९७

(आफ्नो धर्ममा कुनै गुणको अभाव भए पनि, राम्ररी परिपालन गर्न नसकिए पनि, राम्ररी अनुष्ठान गरिएको अरूको धर्मभन्दा स्वधर्म नै श्रेष्ठ छ। परधर्मबाट जीवन निर्वाह गर्ने मानिस आफ्नो स्वाभिमान र जातित्वबाट पतित हुन्छ।)

धर्म सम्बन्धमा भारतीय शिक्षाशास्त्री गिजुभाई (सन् १८८५–१९३९) को बलशाली विचार छ, ‘धर्म कुनै पुस्तकमा छैन, उपदेशमा छैन, न त कर्मकाण्डको कुनै जडतामै छ। धर्म त मनुष्यको जीवनमा हुन्छ। यदि तपाईं पाखण्डी हुनुहुन्छ भने तपाईंका केटाकेटी कहिल्यै धार्मिक बन्दैनन्। तपाईंजस्तै धर्मका पाखण्डी मात्र बन्छन्।’

संस्कृत भाषा र धर्म

हाम्रा सबै प्राचीन ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन्। संस्कृत समृद्ध परम्परा भएको अत्यन्त शक्तिशाली र व्याकरणमा व्यवस्थित भाषा हो। यसलाई भाषाविज्ञान र कलासाहित्यको आँखाले हेरिनुपर्नेमा पुरेतपन्थले धर्मकर्ममा गाँसेर हे¥यो। पछिल्लो समय यसको प्रयोग पनि त्यसरी नै भयो। त्यसैले यसका वक्ता घटे। नेपाली वर्णमालाका अक्षर छिचोल्न नसक्नेहरू वेदका ठेली बोकेर कमाउधन्दामा लागेपछि संस्कृत भाषाको अधोगति हुने नै भयो। ती कखरेहरूलाई भाषा बचाउनु छैन। किनभने उनीहरूले भाषाको महŒव बुझेकै छैनन्। ‘बिरालो बाँधेर सराद्दे गर्ने’ मात्रै हो। संस्कृतलाई जसले पढे पनि हुन्छ। जसरी पढे पनि हुन्छ। र, नपढे पनि हुन्छ। राम्रोसित स्वर र व्यञ्जन अक्षर नखारेका ‘बाजेहरू’ ठसठस कन्दै यही भाषामार्पmत जजमानको भविष्य निर्धारण गर्दै हिँडेका छन्। संस्कृत ग्रन्थका ठेली पल्टाउन मात्रै उनीहरूलाई भ्याइनभ्याइ छ। किताबमा लेखिदिएको नेपाली उल्था पढ्यो, स्वर्ग नर्कको बखान ग¥यो। उनीहरूकै भाउ छोइसक्नु छैन। आँखामा छारो हालिदिएर जजमानलाई गुहे खुट्टामा टाउको जोताउन लगाउँछन्। जजमानले आँखा मिच्दामिच्दै नोट र पोको बोकेर पुरेतहरू डाँडो काटिसकेको हुन्छन्। मजाले सप्रेको छ भ्रमको खेती। भाषा, भविष्य र धर्म कहाँनिर जोडिन्छन् हँ ? यत्ति कुरा नबुझ्दा हामी कखरे पुरेतपण्डाहरूको फन्दामा परेका छौं। जस्तोसुकै अपराध गरे पनि ‘बाहुन’ले संस्कृत भाषामा ‘शान्तिस्वस्ति’ गरिदिएपछि जजमान चोखिन्छन्।

संविधानमा धर्म

नेपालको संविधान २०७२ ले नेपाललाई ‘धर्मनिरपेक्ष’ राज्य मानेको छ। त्यसैको स्पष्टीकरणमा ‘यस धाराको प्रयोजनका लागि ‘धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ। (धारा ४ः१)

धर्मनिरपेक्षताबारे नेपालको संविधानले गरेको परिभाषा जग हँसाउने खालको छ। विश्वव्यापी सत्य (ध्रुवसत्य) लाई समेत बदलेर परिभाषित गर्ने अधिकार हाम्रा भूपू सभासद्हरूलाई कसले दियो होला ? कुनचाहिँ उपबुजु्रकले यस्तो काइते परिभाषा लेख्न सल्लाह दियो होला ? ‘नेपालले यो धर्म अवलम्बन गर्नेछ’ भनेर लेखिरहनु नै आवश्यक छैन। ‘राज्यको कुनै धर्म हुँदैन’ भनेर धार्मिक स्वतन्त्रताको नीति अँगालेपछि यो ‘निरपेक्ष’ कहाँबाट र कुन नियतले आएको हो, सम्भवतः संविधान निर्माता अधिकांशलाई थाहै छैन। ‘निरपेक्ष’ रे ! फेरि ‘निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको’ पनि रे ! के भनेको यो ? निरपेक्षको अर्थ परम्परादेखि चलिआएको भन्ने हुन्छ ?

धर्मको विषयमा संविधान वा राज्य मौन रहनु राम्रो हुन्छ। धर्म मानिसको नितान्त व्यक्तिगत मामिला हो। यो ऐन–कानुन होइन। कुनै पनि धर्म अवलम्बन गर्न व्यक्ति स्वतन्त्र हुन्छ। एकातिर ‘धर्म निरपेक्ष राज्य’ भन्ने अर्कोतिर कुनै अमूक धर्म र धार्मिक अनुष्ठानका लागि राज्यले करोडौं रकम खर्च गर्ने। यो मिल्दोजुल्दो कुरा होइन। राष्ट्रिय सम्पदा र संस्कृतिको जगेर्ना गर्नु राज्यको दायित्व हो तर कुनै एक धर्मको धार्मिक समारोहमा राज्यको कोष खर्चिएर सरकार प्रमुखले आतिथ्य ग्रहण गर्नु सुहाउने कुरा होइन। त्यस्तै दसैंमा सरकारी कोषबाट हजारौं राँगा खरिद गरी बलि दिनु ‘धर्मनिरपेक्ष’को ‘मर्म’ हुँदै होइन।

हाम्रो अपेक्षा

धर्मले मानिसलाई सभ्य र विनयीशील बनाउँछ भन्ने मान्यता छ। धार्मिक मानिसहरू नैतिकवान् हुन्छन् र हुनुपर्छ। संस्कृत एवं पूर्वीय दर्शनले यसै भन्छ। हाम्रो समाज सभ्य, नैतिकवान्, धार्मिक बनोस्। यो हाम्रो अपेक्षा पनि हो। अमूक धर्म धारण गरेकै अवस्थालाई ठूलो उपलब्धि मानेर अन्य धर्महरूको मानमर्दन गर्नतिर लाग्यौं भने हामी धार्मिक बन्नै सक्दैनौं। धर्मान्ध बन्छौं। पाखण्डी बन्छौं।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2