MENU

रोजिताको डायरी

patan-college

अनन्त वाग्ले शनिवार, पुस २२, २०७४ 647 पटक पढिएको

Share This

635-x-85

‘...र भएको त्यही एउटा तस्बिरमा पनि आमाको मुहार भाइबाट छेलिएको छ। त्यसैले दुई वर्षमै मबाट सधैंका लागि टाढिएकी मेरी आमाको मलाई अनुहारसमेत याद छैन, जो हरेक सपनामा मेरो मुटु स्पर्श गरिरहेकी हुन्छिन्।’

रोजिता बुद्धाचार्यले सुरुमै भावुक बनाइन् र आफू पनि गम्भीर बनिन्।

उनलाई बाजे–बज्यैले हुर्काए। ठूली हुँदै जाँदा उनी बाजेसँग आमाबारे सोध्थिन्। जवाफमा बाजे भन्थे, ‘तिम्री आमा त त्यो माथि आकाशको चन्द्रमामा बस्छिन्। त्यहाँ हामी जानै सक्दैनौं। अनि तिम्री आमालाई भेट्न पनि सक्दैनौं।’ तर, रोजिता भने घरको छतमा जान्थिन्। स्वयम्भू र अरू अग्ला डाँडाहरू देख्थिन्। उनलाई लाग्थ्यो, ती अग्ला हिमालय पर्वतबाट त चन्द्रमा पक्कै नजिक पर्छ। त्यहाँबाट चन्द्रमा भेटिएला, नभेटे पनि कम्तीमा आमाको नजिक त पुगिन्छ।

यही सोचले उनले सगरमाथा आरोहणको अनुरोध स्वीकारिन्। र, आउँदो मे महिनामा रोजिताले सगरमाथाको उचाइमा आफ्नो पाँच फिट चार इन्च उचाइ थप्नेछिन्। अनि संसारको धुरीबाट आफ्नी आमालाई चियाउनेछिन्।

आमा, बाबु र सगरमाथा

रोजितालाई सगरमाथा आरोहणको प्रस्ताव पनि अनौठो गरी आयो। गत असारको एक साँझ ललितपुरको पाटनढोकास्थित रातो बंगला स्कुलमा एन्ने फ्र्‍यांकको चर्चित पुस्तक ‘डायरी अफ योङ गर्ल’मा आधारित नाटक प्रदर्शन भइरहेको थियो। त्यस अंग्रेजी नाटककी प्रमुख पात्र थिइन् रोजिता। नाटकमा दोस्रो विश्वयुद्धका बेला युद्धका कारण बदलिँदा मानवीय सम्बन्धहरू र छिन्नभिन्न परिवारको दारुण कथा छ। त्यसमा सर्वाधिक संवाद र केन्द्रीय भूमिका रोजिताकै थियो। दुई दिन चलेको यस नाटकमा दोस्रो दिन नाटक सुरु संगीत बजिसकेपछि रोजितालाई घरबाट फोन आयो। जीवनकै सर्वाधिक दुःखद त्यस फोनले उनका बाबुको निधनको खबर ल्याएको थियो। उनी लल्याकलुलुक भइन्। तर, उनकी नाटक निर्देशक डेबोरा मेरोला (वान वल्र्ड थिएटर) र टिमले उनलाई निराश नहुन र दर्शक हलभरि भएकाले नाटक खेल्न सम्झाए। मुटुको एउटा फोल्डरमा बाबुको वियोगलाई सेभ गरेर उनले नाटक खेलिन्, शोकलाई शक्तिमा बदल्दै। कसोकसो उनको त्यो दुर्दान्त वियोगबारे एकजना दर्शकले पनि थाहा पाइन्। ती दर्शक थिइन् राससकी पत्रकार रोशा बस्नेत, जो महिला सगरमाथा आरोहणका लागि टिम बनाउन सदस्य खोजिरहेकी थिइन्। उनले रोजितामा त्यो अदम्य साहस भेटिन्। सोचिन्— बाबुको मृत्युको खबर सुन्दासुन्दै यति राम्रो नाटक खेल्ने यो केटी पक्कै चानचुने होइन। अनि केही दिनपछि उनले रोजितालाई प्रस्ताव गरिन्।

रोशाको प्रस्तावले रोजितालाई आमाको याद दिलायो। झट्ट आमा सम्झिन्। बाजेले भनेको आमाको अस्तित्व र उज्यालो चन्द्रमा सम्झिन्। उनको मनले ठम्यायो— सगरमाथा चढ्नु आफैंमा महान् काम त हुँदै हो, त्यो शिखर चुम्नु भनेको आमाको नजिक पुग्नु पनि त हो। रोजिताले यस्तै सोचिन्। अनि रोशाको त्यो प्रस्ताव स्वीकारिन्। तर, घरमा कसैले पनि उनलाई साथ दिएनन्। भाइले त उनलाई कोठामै थुनेर राख्नेसम्मको कुरा उठाए। दिदीहरू पनि सबै भर्खर बाबु गुमायौं, फेरि तिमी किन रिस्क लिन्छ््यौ भन्न थाले। एकजना दिदी विनीताले भने उनले आँटेको काम पूरा गर्ने क्षमता भएकाले साथ दिइन्।

एउटी दिदीको साथपछि उनले आरोहण अभ्यास थालिसकेकी छन्। महिला सगरमाथा आरोहण टिमबाट भर्खरै दोलखाको राम्दुङ र यालुङ चुचुरा चुमेर आएकी रोजिता र टिमले राष्ट्रपति विद्या भण्डारी, सभामुख ओनसरी घर्तीलगायत उच्चपदस्थहरूसँग भेटघाट गरी शुभकामना र सहयोगका आश्वासनसमेत पाइसकेको छ। पुस पहिलो साताको एक चिसो बिहान हट लेमनको गिलासबाट दुवै हातमा तातो लिँदै रोजिता आशावादी बनिन्, ‘दाजु ! आँट त गरियो। सफल पनि भइएला। तर, सगरमाथा चढ्न पैंतीस लाखजति चाहिने रहेछ। स्पोन्सरको खोजीमा भौंतारिइरहेका छौं। अहिलेसम्म आश्वासन र शुभकामना प्रशस्त पायौं। भरपर्दो र आशालाग्दो माध्यम भने भेटिन बाँकी नै छ। हामी हारेका छैनौं।’

रोशा र रोजिताको टोलीमा प्रियालक्ष्मी कार्की, देउराली चाम्लिङ र कल्पना महर्जन पनि छन्। त्यसो त सुरुमा एघार जना थिए टोलीमा तर व्यक्तिगत र परिवारको अनुमति नपाएकाले केहीले समूह छाडे भने केहीले अर्कै समूहसँग आरोहणको व्यवस्था मिलाए।

जीवन काँडा कि फूल

सहरमा अब चाँडै नै यिनलाई झमक घिमिरेको अवतारमा देख्न सकिनेछ। स्रष्टा झमक घिमिरेको जीवनकथामा आधारित विनोद विष्ट निर्देशित चलचित्र जीवन काँडा कि पूmलकी यी नायिका नाटक खेलून् या सिनेमा, त्यसको गहिराइमा डुबेर खेल्छिन्। त्यसैले त धनकुटा र काठमाडौंमा भएका ‘जीवन काँडा कि पूmल’का प्रिमियर सोहरूमा यिनको अभिनय कलाले धेरैका आँखा रसाइदियो।

‘जीवन काँडा कि पूmल’मा नायिका झमकको भूमिका पनि त्यसै मिलेको होइन यिनलाई। यो सिनेमाको निर्माता–निर्देशक टिमले झमकको भूमिका सम्हाल्न सक्षम नायिका खोजिरहेको थियो। यसका लागि थिएटर कलाकार बेस हुने टिमको निष्कर्ष थियो। तर, काठमाडौंका सबैजसो थिएटरमा समन्वय गर्दा पनि उपयुक्त कलाकार फेला पार्न नसकेपछि विनोद एन्ड कम्पनी निराश हुनै लाग्दा थिएटर भिलेजका विमल सुवेदीसँग सम्पर्क भयो। विमलले रोजितालाई भेटेर कुरा गर्न सुझाए। विनोदले रोजितालाई भेटे। उनले जीवन काँडा कि पूmल पढिसकेकी थिइन्। उनले झमकको अभिनय गर्न तयार रहेको बताइन्। विनोदले सोधे, ‘तिम्रो यति राम्रो कपाल छ, काट्न तयार हुन्छ्यौ ? ’ उनले सहमति जनाइन्।

विमलले आफ्नी चेलीमा सम्भावना देखेर नाम दिइहाले। निर्देशकले पनि पत्याए। तर, काठमाडौंकी लोकल रोजितालाई धनकुटा लगेर सुटिङ गराउनु, त्यसमा पनि आवाजविहीन झमकको अभिनय जीवन्त बनाउनु कम चूनातीपूर्ण थिएन। त्यसैले विमलले पनि यसमा धेरै मेहनत गरे। उनले रातबिरात धेरै कुरा सिकाए। अभिनयको अभ्यास गराए। रोजितालाई झमकमा डुब्न लगाए। अहोरात्र अभ्यासपछि विमल बल्ल रोजिताको भर परे। रोजिता ती क्षण सम्झन्छिन्, ‘त्यो बेला मलाई ठूलो चूनौती थियो। म आफैं पनि अलिक डिप्रेस्ड मनोदशामा थिएँ। तैपनि मैले विमल दाइबाट जीवनमा धेरै कुरा सिकेँ र आफूलाई सक्षम बनाउँदैछु।’

कुनै बेला बिहान ६ बजेदेखि राति १२ बजेसम्म ट्युसन पढाएर राम्रो कमाइ गर्दै आएकी रोजिताको थिएटर यात्राले उनलाई आत्मसन्तुष्टि र खुसी त थप्दै थियो तर आर्थिक रूपमा भने कमजोर बनाउँदै थियो। यसैले घरमा भने उनको भाइ र परिवारका लागि यो कदम पाच्य थिएन। उनले झमकसँग संगत, सामीप्य र आत्मीयता बढाइन्। यता विमल सर र थिएटर भिलेजको सीपको पनि भरपूर उपयोग गरिन्। यसले झमकको यथार्थ अभिनय गर्न सक्षम पनि भइन्। काठमाडौंमा ‘जीवन काँडा कि पूmल’को प्रिमिएर सो भइरहँदा उनी अमेरिकास्थित नासाको स्पेस टेलिस्कोप इन्स्टिच्युटमा आकाशगंगासम्बन्धी तीनमहिने अध्ययनमा थिइन्। भाइले फोनमा ‘नानी तैंले झमकको फिल्ममा राम्रो खेलिछस्, म त पटकपटक रोएँ, हलमा लाग्यो भने यो राम्रो चल्छ’ भनेको सुनेपछि आपूmलाई सन्तुष्टि मिलेको उनले बताइन्।

इन्स्टिच्युटमा पनि आफ्नो प्रिजेन्टेसनले धेरै तारिफ पाएको र आफ्नी गाइड प्रो. नुरा लुजमन्डले आपूmलाई निकै मन पराएको उनले सम्झिन्। मुसुमुसु हाँस्दै थपिन्, ‘त्यो नेपाली केटी मेरो गाइडमा पार्दिनु भनेर प्रोफेसरहरूबीच नै लुछाचुँडी भाथ्यो रे। एक दिन लिफ्टमा भेटिएका त्यहाँका मुख्य प्रोफेसर रोबर्टो म्यासिमोले पनि नेपालको पपुलर केटी तिमी नै हौ भनी सोध्दा साह्रै खुसी लाग्यो।’

विज्ञान र कला

रोजिता विज्ञान र कलाकी एक दुर्लभ फ्युजन हुन्। भौतिक विज्ञानमा एमएस्सी उत्तीर्ण गरी सोही विषयमा पीएचडीको योजना बनाइरहेकी यी युवती एक अब्बल थिएटर आर्टिस्ट तथा सिने कलाकार पनि हुन्।

रोजिताको योजनाअनुसार नै भयो भने सन् २०१८ उनका लागि जीवनको टर्निङ प्वाइन्ट हुनेछ। एकातिर उनले सगरमाथा विजय गर्नेछिन् भने अर्कातिर फिजिक्समा पीएचडी थाल्नेछिन्। नाटक अध्ययनमा एसियाकै उत्कृष्ट संस्था नेसनल स्कुल ड्रामाको स्टेजमा पटकपटक प्रस्तुत भइसकेकी यी युवतीलाई सोधियो, ‘तिमी फिजिक्सकी विद्यार्थी कसरी कलामा तानियौ ? ’

‘साइन्स इज आर्ट एन्ड आर्ट इज साइन्स’, एकैछिन चम्किला जोर आँखा आकाशतिर केन्द्रित गरेपछि रोजिता बोलिन्।

‘नाटकमा पात्र हुन्छ। नाटकमा उतार्नुअघि पात्रको आन्तरिक र बाह्य दुवै पक्षबारे रिसर्च गरिन्छ। सघन इन्टरयाक्सन चलाइन्छ। रिहर्सल हुन्छ। अनि बल्ल नाटक प्रदर्शनमा ल्याइन्छ।’ उनको विचारमा यो कुरा साइन्समा पनि मेल खान्छ। भनिन्, ‘विज्ञानमा पनि पहिले अध्ययन गरिन्छ। त्यसको ब्याकग्राउन्डको खोजी गरिन्छ। अनि रिसर्च गरिन्छ र प्रयोग गरिन्छ।’ उनको ठम्याइमा नाटक (कला) र विज्ञान दुवैमा पहिले अध्ययन अनि अनुसन्धान हुन्छ। अन्त्यमा कलामा प्रदर्शन र विज्ञानमा टेस्ट हुन्छ, यो दुवै एउटै हो। यसरी सानोमा इन्जिनियर अनि फार्मेसीमा काम गर्ने रुचि पालेकी रोजिता जीवनमा विज्ञान र कलालाई समान धारका रूपमा अघि बढाउने सोचमा छिन्। केही समय मैत्री एफएममा काम गरेकी उनलाई रेडियो, टीभी र पत्रिकामा काम गर्न अनेकौं अफर आए पनि साइन्स र कला यात्रालाई जीवन्त राख्न ती प्रस्ताव अस्वीकार गरेको बताउँछिन्।

सिनेमाका सोखिन उनका ठूलोबुवा सुकु सानोमा उनलाई भन्थे, ‘तँलाई मुभीको हिरोइन बनाइदिन्छु।’ अनि बुवा सानुभाइ पनि सिनेमाका यस्ता आदती थिए जसलाई हरेक नयाँ फिल्मको पहिलो सो नहेरी चित्त बुझ्दैनथ्यो। कहिले त परिवारका सबैजना नै रञ्जना, गोपीकृृष्ण र भक्तपुरको नवदुर्गा हलसम्म फिल्म हेर्न पुग्थे। ६ कक्षामा पूर्वव्यावसायिक पढाउने एकजना मिसको सामु ‘धड्कन’ सिनेमाको सुनील सेट्ठीको पाँच मिनेटजतिको सबै संवाद सुनाउँदा मिस रुनुभएको र ७, ८ र ९ कक्षामा समेत लगेर संवाद बोल्न लगाएको यादले उनलाई आज पनि मीठो गरी रन्थन्याइरहन्छ।

‘सुइना कर्णाली’, ‘बुद्धवाणी’, ‘सुनकेस्री’, ‘थ्री पेन्नी ओपेरा’ आदि रोजिताले खेलेका उत्कृष्ट नाटक हुन्।

कपाल किस्सा

झमकको जीवनीमा आधारित फिल्म खेल्न तयार भएपछि उनले आफ्नो लामो कपाल त काटिन् नै, अर्कोपल्ट केही मिलाउन जाँदा सैलुनवालाले उनलाई मसाज गर्न थाल्यो। ‘कपाल मात्र काट्ने, म केटी हुँ, मसाज नगर’ भनिन्। उसले पत्याएन। सँगै गएका फिल्म टोलीका अरूले पनि भने। तर, सैलुनवालाले जिस्क्याएको ठान्यो र मसाज गरिरह्यो।

कपाल काटेपछि बाबुले चाहिँ छोरी लेस्बियन बन्ने भई भनेर चिन्ता गर्न थाले। उनले परिवारमा पनि कुरा गरे। पछि सिनेमाका लागि भन्ने बुझेपछि बल्ल कुरा मिल्यो।

एक साँझ रोजिता टेम्पो चढेर पुरानो बानेश्वरबाट रत्नपार्क जाँदै थिइन्। सिटमा सँगै एकजना भद्र महिला थिइन्। रोजिता पैसा खोज्न ब्यागका कुनाकानी खोतल्दै थिइन्। कुहिनाले भद्र मलिालाई स्पर्श ग¥यो। भद्र महिला ‘यो केटो कत्ति चलेको होला, मेरो जीउमा किन छोएको’ भन्दै कराउन थालिन्। रोजिताले ‘सरी म केटी नै हुँ’ भनिन्। तर, टेम्पोका अरू यात्रु र ड्राइभरसमेतले उनलाई केटी भनेर पत्याएनन्। उपद्र्याहा केटो भन्दै टेम्पोबाट मैतीदेवीमै झारिदिए।

सुटिङका क्रममा उनी धनकुटामै थिइन्। आमाको पुण्यतिथिको दिन थियो। त्यहाँ निशानदेवीको प्रसिद्ध मन्दिर छ। उनी दर्शन गर्न निशानदेवी गइन्। उनीसँगै अरू चारजना केटी थिए। त्यस मन्दिरमा महिलालाई भित्र जान निषेध थियो। सबैले बाहिरैबाट दर्शन गरे। पुजारीले उनलाई चाहिँ ‘तपाईं त जानुस् न भित्रैबाट दर्शन गर्नुस्’ भन्दै कर गरिरहे। कपाल छोटो रहेको त्यो बेला महिला शौचालय छिर्दा पनि उनले पटकपटक स्पष्टीकरण दिइरहनु पर्‍यो।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2