MENU

लोग्ने कुरिबसेका लाहुरेनी

patan-college

कुमारी लामा शनिवार, पुस २२, २०७४ 2664 पटक पढिएको

Share This

635-x-85

समाज

बिस्तारै बिस्तारै रित्तिँदै थियो तनहुँको गुल्जार छाङ हटिया । पक्कै उजाडिएको होइन चेर्नोबिल आणविक दुर्घटनापछि केही दिनमै खाली गरिएकको घोस्ट सिटी प्रिप्याट जसरी । सन् १९८६ को चेर्नोबिल दुर्घटनापछि रेडियोएक्टिभ किरणयुक्त उदास प्रिप्याट त्रासद सन्नाटामा एक्लिएको थियो । छाङ भने झाडापखालाले मान्छे सखाप पार्न थालेपछि बिस्तारै रित्तिँदै गएको थियो ।

सोच्छु,

एउटा जीवन्त सहर या गाउँको आयु कति ? एक्लिनुको कारण त जे पनि हुनसक्ने रहेछ । खतरनाक रेडिएसन या सामान्य झाडापखाला ।  पृथ्वी राजमार्गको थर्पुबाट चार किलोमिटर दक्षिणी थुम्कोमा रहेको छ छाङ हटिया । एक्काइस सालतिर एकाएक फैलिएको हैजाले हटियावासीलाई थातथलो छाडी थर्पुफाँटतिर झर्न बाध्य पार्‍यो । प्रिप्याटजस्तो एकै दिनमा सुनसान नभए पनि बिस्तारै रित्तिँदै थियो । निभ्नु अघिको दियोजस्तै झलमल थियो त्यस ठाउँ पहिले । व्यापारिक केन्द्र नै थियो छाङ । त्यही बाटो गरी भिमाद हँदै बटौलीको बजारसम्म पुग्थे नुन लिन छाङेलीहरू । नेस्टाल्जिक हँदै बल बैंसका कुरा सम्झन्छन् नब्बे हाराहरी पुगिसकेका गुनबहादुर मल्ल । तर, समय उही रहेन । जीवन्त हटिया बिस्तारै सुनसान हुँदै गयो ।

हैजाले एकै परिवारका दुईचारजना नै सखाप पार्न थालेपछि उनीहरू ठाउँ छाड्न बाध्य भए । ज्यानभन्दा प्यारो त न घर न खेतीबारी । ८७ वर्षीया भुनीमाया जोशी सम्झन्छिन्, ‘महामारीको समय, दिनभरसँगै काम गरेर छुट्टिएको मान्छे भोलि नभेटिने ।’

महिनौं दिनसम्म पिरेको हैजाका कारण हटियाका व्यापारी नेवारहरू थर्पु, पृथ्वी राजमार्ग वरपर (त्यस बेला भने बनेको थिएन), दमौली, खैरेनीटार पुगे व्यापार र बसाइँका लागि । तर, बसाइँसराइको यात्रा हैजा हटेपछि पनि टुंगिएन । पृथ्वी राजमार्ग बनेपछि व्यापारको सम्भावना झनै बढ्दै गयो । बचेखुचेका पनि छाङबाट झर्दै पोखरासम्म पुगे । घरगाउँ छाड्ने सिलसिला सायद यसरी नै सुरु भएको हुनुपर्छ छाङ्मा । एकधर्से पैदल गोरेटो अन्ततः मूलबाटै बनिजान्छ । गाउँ छोड्ने सुरुआत भन्नु त्यही पैदल हिँड्नेहरूको धर्सेबाटो न थियो जो कालान्तरमा गाउँ नै रित्तो पार्ने मूल बाटो बनिदियो । त्यही बाटो आज गाउँबाट सहर हुँदै विदेशतिर पलायन हुने राजमार्ग बनिसकेको छ ।

आफ्नो थलोकिलो छाडी अन्तै जानेहरूमा छांगेलीहरू मात्र पक्कै हैनन् । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मकै पात्रहरू सामेल छन् । रहरमात्रै नभई इतिहासको कालखण्ड चियाउँदा बाध्यता थियो गाउँघर छाड्न । पहिलो र दोस्रो विश्वयुद्धमा श्री ३ हरूले उर्दी नै जारी गरी ठेट्नादेखि उमेरले चालीस नाघिसकेका पुरुषहरूलाई पनि लडाइँमा पठाएका थिए । पहिलो विश्वयुद्धमा दुई लाख पहाडी युवा भर्ती भए । त्यसमा बीस हजार जत्तिको ज्यान फर्केन । दोस्रो विश्वयुद्धमा अस्थायी र स्थायी गरी दुई लाख पचास हजार युवा ब्रिटिस सेनाका लाहुरे भए ( झलक सुवेदी ) । उनीहरू बाध्य थिए आफ्नो गाउँ, परिवार, पियारी, साथीभाइ छाड्न । उनीहरू नै पछि करार भएका हुन् लाहुरेको रूपमा । लाहुरे नामांकरणको भेद खुलाउछन् झलक सुवेदी ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरामा’—

नेपालको आजको लाहुरे संस्कृतिको परम्पराको जग तिनै वीर भनेर ब्रिटिस शत्रुहरूको प्रशंसा गरेका बलभद्रले तत्कालीन पन्जाबका महाराज रणजित सिंहको सेनामा आफ्नो सेवा समर्पण गरेर बसाएका थिए । तत्कालीन पन्जाबको राजधानी रहेको लाहोरमा गएर सेवा बेच्ने काम थालिएकाले विदेशमा काम गर्न जानेहरू लाहुरे भनिन थालेका थिए । (ब्रिटिस साम्राज्यको नेपाली मोहरा, पृष्ठ ४)

वैदेशिक रोजगारीले गाउँघर मात्र रित्याएको छैन । पीडादायी एक्लोपनको सुरुआत खासमा लाहुर हिँडेका लोग्नेहरूलाई कुरीबसेका लाहुरेनीहरूबाटै सुरु भएको हुनसक्छ । लडाइँमा भर्ती लागेका खसमको बाटो कुर्नेहरूको हालत कस्तो हुन्थ्यो होला ?

त्यस बेलाबाटै सुरु भएको विदेश यात्रा आज आफ्नो सेवा बेची पैसा कमाउन जाने बर्दीविहीन लाहुरेको संख्या झन् डरलाग्दो गरी झाँगिएको छ । वास्तवमा आफ्नो घरगाउँ छाडी बाहिरिने र लाहुरिने प्रवृत्तिले केही आर्थिक लाभ भएजस्तो देखिए पनि गाउँघर भने दिनानुदिन रित्तिएको छ । श्यामलको रित्तो गाउँको यथार्थ भोगिरहेका छन् धेरै पाखा कन्दराहरू । काम गर्ने युवाहरू सबै बाहिरिएपछि हाम्रा खेतबारीहरू भने बाँझो पल्टिरहेका छन् । परनिर्भरताको पारो ह्वात्तै उक्लिएको छ । भीमबहादुर पाँडेले धेरै समयअघि नै उनको पुस्तक ‘त्यस बखतको नेपाल’मा केही संकेत गरेकै थिए यस विषयमा । विसं १९७७ मा लाहुरेले भिœयाएको अन्दाजी १३ लाख धनराशि साथै उनीहरूसँगै आएको लवाइखवाइ बानीबेहोराले नेपालको गाउँघरको कायापलट गरिदिएको थियो । त्यसअघि नेपालीहरू आफ्नै स्थानीय उत्पादनमा रमेका थिए । स्वावलम्बी र धनी नेपाली कसरी पत्तै नपाई परनिर्भरता र गरिबीको चंगुलमा पर्दै गए भन्ने सन्दर्भको वर्णन यसरी गर्छन् पाँडे

Erina-Painting

विसं १९७७ सालअघि नेपालको आयतभन्दा निर्यात बढी थियो । धेरैजसो नेपालीको दैनिक जीवनलाई आवश्यक खाद्यान्न, लत्ताकपडा र अरू सरसामान नेपाल अधिराज्यभित्रै तयार हुन्थे । औकात नाघेर खानेलाउने चलन नेपालीमा चलिनसकेकाले र अन्न, काठ, जडीबुट्टीहरू नेपालबाट प्रशस्त निकासी हुने हुँदा नेपाल सम्पन्न थियो । बढ्दो पैठारीले गर्दा १९७७ सालदेखि बिस्तारै गरिब हुन थालेको नेपाल समयान्तरमा झन्झन् गरिब पल्टँदै गयो । (त्यस बखतको नेपाल, पहिलो भाग, पृष्ठ. १२)

देश यतिखेर परनिर्भरताको चरम चुलीमा छ । तीस लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा छन् भने आज नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो हिस्सा ओगटेको छ । कालान्तरमा यसले गर्ने त बिगार नै हो । बिदेसिनेहरूले भिœयाउने धनराशिको मोहमा परिरहेको देश, बढ्दै गरेको परनिर्भरता, भत्किँदै गरेको सामाजिक पारिवारिक संरचना र बढ्दै गरेको अनेकन विकृति र विसंगतिप्रति अन्देखा गरिरहेको छ ।

वैदेशिक रोजगारीले गाउँघर मात्र रित्याएको छैन । रित्तो, एक्लो र निरस पारिदिएको छ कुरिबसेका मनलाई । त्यो पीडादायी एक्लोपनको सुरुआत खासमा लाहुर हिँडेका लोग्नेहरूलाई कुरिबसेका लाहुरेनीहरूबाटै सुरु भएको हुनसक्छ । लडाइँमा भर्ती लागेका खसमको बाटो कुर्नेहरूको हालत कस्तो हुन्थ्यो होला ? गर्भमा छाडिगएको भ्रूण जन्मेर हुर्किसक्दा पनि खोजखबर नभएका लाहुरेलाई कुरिबसेकाहरूको एक्लोपन र निराशाका कथा सुन्ने र देख्ने दर्शकले त कति पो महसुस गर्न सक्लान् र ।

झलक सुवेदीले ब्रिटिस साम्राज्यको नेपाली मोहरामा लाहुरेनी हजुरआमादेखि नातिनीसम्म तीन पुस्ताको यस्तै एक्लोपन र निराशाको कथा लेखेका छन् । लाहुर या विदेश जाने चलन (बाध्यता)ले दिएको पीडाको फेहरिस्त लामो छ । समय फेरिएसँगै धेरै कुराको रंग बदलिए पनि नफेरिने एउटै कुरा रहेछ, एक्लोपनको पीडा । हजुरआमा आइतीमायादेखि नातिनी पिंकीसम्म आइपुग्दा पनि खास फेरिएको छैन भोगाइ । आइतीमायाको लोग्ने करबलमा दोस्रो विश्वयुद्धका लागि भर्ती गएका थिए । बिहे हुनेबित्तिकै लाहुर लागेको लोग्नेको केही अत्तोपत्तो छैन । छोरी जन्मिछे, जसोतसो हुर्किंदै जान्छे । बेपत्ता लोग्नेको बाटो कुरी बस्नुको पीडा, त्यो रित्तोपन, कति डरलाग्दो गरी छोपेको हँदो हो आइतीमायालाई । आइतीजस्ता धेरैका पीडा पारिजातको यस कविता पङ्क्तिमा महसुस हुन्छ ।

प्रिय ।

हेर्नै नपाई आँखाबाट ओझेल भएका तिमीलाई
बोल्नै नपाई टाढा भएका तिमीलाई
मस्तिष्कमा उभ्याउने यथेष्ट साधन नै छैन

अब म... अब म
सात समुद्र पार गरेर आउँदिनँ
तिमीलाई यही म मेरै चौतारीमा हेर्छु

(लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र, पारिजात )

मरेबाँचेको ठेगान नभएको लोग्नेको नाममा कति समय पो बस्नु र चौतारो कुरेर । आवश्यकता हुन्छ मनको अनि शरीरको पनि । आइतीले अन्ततः नयाँ घरजम बसाउँछे ।

अबको समय छोरी नीरमायाको हो । ऊ भने लाहुरे लोग्नेसँगै मलाया जान्छे । तर धेरै समय बस्दैनन् त्यता । गरगहनाले झरिझुट्ट देखिने लाहुरेनीहरूको मलायाको जंगल बसाइ सहज हुँदैन । लोग्नेको सेकेन्ड करिअर, बु्रनाईको कमाइपछि मात्र जीवन सजिलो भएको छ । धनसम्पत्ति त छ तर लाहुरे सधैं लाहुरमै । फेरि पनि उही पर्खाइ, उही एक्लोपन लाहुरेनीको । तर, आजकल अलि फेरिएको छ जीवन बाँच्ने कला किनकि उनलाई साथ दिन सामेल छन् बियर, तास र उही माहोलमा साथ दिने उनीजस्तै एक्लोपनले चिथोरिएकाहरू ।

हजुरआमा र आमाको समय सरेको छ नानिती पिंकी पुस्तामा अब । हङकङ आईडीवालाकी श्रीमती पिंकी दुई सन्तान हुर्काउँदै छे धरानमा । लोग्ने हङकङ बसाइसँगै उतै भुलेको छ । यता ऊ पीडा भुलाउन या एक्लोपनाको चिसोबाट बच्न बारहरूमा बियर पिउँदै दिन बिताउन थालेकी छे ।

झलक सुवेदीले सतहमा ल्याएका माथि उल्लिखित भोगाइहरू अब लाहुरेनीका मात्र रहेनन् । विदेश लागेका लोग्ने या स्वास्नी कुरिबसेकाहरूको साझा पीडा भएको छ । अनिश्चित र विसंगत समय बाँचिरहेको छ आजको पुस्ता ।

खाडी मुलुकदेखि पश्चिमा देशहरूमा श्रम बेच्न गएका श्रीमान्हरूका घर सम्हालिबसेका श्रीमतीहरूको पीडा अथवा कमाउन विदेश लागेका श्रीमतीहरूलाई कुरेर केटाकेटी सम्हालिबस्ने श्रीमान्हरूको दुःख उस्तै हो । लामो समय टाढा बस्नुपर्दा अनेकन विकृति साथै पारिवारिक विखण्डनका समस्याहरू बाक्लिएका छन् । जसका लागि कमाउन विदेश पसेका हुन्, फर्किआउँदा उनीहरू नै नभएका अवस्थाहरू पनि छन् (धनसम्पत्ति कुम्ल्याएर लोग्ने या स्वास्नी अन्तै लागेका अनेक घटनाहरू देखिएको छ) ।


नेपाल, ल्याटिन अमेरिकन देशहरूजस्तो औपनिवेशिककालको चरम शोषणले ध्वस्त पारेको राष्ट्र हैन । तर, पछिल्लो समय पुँजीवादको विस्तारले निम्त्याएको फरक खाले दासताको चंगुलमा परेको छ । युवामा फैलिएको विदेशमोह साथै बहुराष्ट्रिय कम्पनीहरूको बढ्दो बजार र विस्तारले विस्तारैविस्तारै हाम्रो देशलाई रित्तो र खोक्रो पार्दै लगेको भने पक्का हो । पुँजीवादले हेर्छ केवल उत्पादन, बजार र नाफा । त्यही नाफाखोर कम्पनीहरूको उत्पादनले क्रमशः निल्दैछ नेपाल र नेपालीलाई । सधैं स्वतन्त्र मुलुक रहेको हाम्रो अनावश्यक आडम्बर यतिखेर नांगिएको छ । कुन स्वतन्त्रताको वकालत गरिबस्ने अब पनि, जब कि सियोदेखि नुनसम्मका लागि अर्कासँग आ िश्रत छौं ?

भौतिकभन्दा मानसिक दासता झन् खतरनाक हो । हो, हाम्रो पुस्ता चालै नपाई बहुराष्ट्रिय कम्पनी र तिनको उत्पादनको दास भइसकेको छ । बजारले देखाएको रंगीन सपनालाई पक्डिन युवाहरू दिनप्रतिदिन बिदेसिँदै छन् । गाउँघर एक्लोपनले निचोरिँदै छ । छुटेका छाङहरू प्रिप्याटिय सन्नाटामा बिलाउँदै छन् । युवाको विदेश पलायनसँगै अनेकन सामाजिक, पारिवारिक समस्याहरू र त्यसले निम्त्याएका विसंगतिहरू सतहमा देखिन थालेका छन् यतिखेर । भर्खर टुसाउँदै गरेको आजको समस्याले पछि विकराल रूप लिने निश्चित छ । पारिवारिक झमेला र विखण्डनले उमार्ने सामाजिक विसंगति मात्र हैन, त्यसले ल्याउनसक्ने अनेकन मानसिक असरहरूप्रति अब गम्भीर हुन अबेर भइसकेन र ?

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2