MENU

सुगठित धर्मभक्त, अवारा गणेशमान

patan-college

विष्णु थापा शनिवार, पुस २२, २०७४ 820 पटक पढिएको

Share This

635-x-85

खेल

सर्वमान्य नेता गणेशमान सिंह बहुआयामिक व्यक्तित्व थिए । बाल्यकालमा निकै चञ्चल स्वभावका उनलाई परिवारमा सबैले हीराकाजी भनेर बोलाउने गर्थे । पछि भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा लगेर उनका जेठाबाजे बडाकाजी रत्नमानले गणेशको जस्तै ‘यश’ र ‘कीर्ति’ रहोस् भनेर गणेशमान नाम राखिदिएका थिए ।

Bishnu-Thapa_6सबैबाट पुल्पुलिएका गणेशमान सानोमा निकै उद्दण्ड स्वभावका थिए । टोलका केटाहरूलाई बटुलेर हूलदंगा गर्ने र स्कुलबाट भागेर गुच्चा र पौडी खेल्न दौडिन्थे । गणेशमान ६ वर्षको हुँदा बुवा ज्ञानमान सिंह रोगले थलिएर ओछ्यान परेका थिए । उनी भने दिनहुँ टोलमा गुच्चा खेल्न जान्थे । दिनभर खेले पनि उनी सन्तुष्ट हुँदैनथिए । उनी खेलिरहेको ठाउँमा ‘पिताजीले बोलाउनु भएको छ’ भन्दै छिमेकीहरू बोलाउन पुग्थे । उनी निकै मुर्मुरिँदै घर फर्किन्थे ।

गणेशमान घर पुगेपछि पिताजीले उनलाई सोध्ने गर्थे, ‘कहाँ गएका थियौ ? ’ उनी निर्धक्क भएर भन्थे, ‘गुच्चा खेल्न गएको ।’
‘अनि खेल्न पुग्यो त ? ’ भनेर सोध्दा उनले छैन भनेर मुन्टो हल्लाउँथे । सुब्बा ज्ञानमान उनलाई फेरि खेल्न पठाउँथे । छोरालाई असाध्यै माया गर्ने उनी सधैं खुसी राख्न चाहन्थे । त्यही भएर आफू असाध्य पीडामा भए पनि छोरालाई हाँसेर खेल्न पठाउँथे ।

पिताको निधनपछि गणेशमान झन् फुक्का भए । जेठाबाजे रत्नमानले काका तीर्थमानको रेखदेखमा शिक्षा दिने व्यवस्था गरेका थिए । काकाबाहेक अरू शिक्षकहरूको समेत व्यवस्था गरिएको थियो । काका दिउँसो स्कुल जाने भएकाले उनी दिनभर अझ फुक्का हुन्थे र खेल्न दौडिहाल्थे । उनको दैनिकी भनेकै हुल्याहा केटाहरूलाई बटुलेर खेल्नु हुन्थ्यो । उनलाई पछि गुच्चाभन्दा पनि पौडीमा बढी रौस पस्यो । उनी पानी देखेपछि अधैर्य हुन्थे र सुरुवाल खोलेर हत्तपत्त विष्णुमती र बागमतीमा झ्वाम्ल्वाङ्ग फाल हाल्थे ।

यसरी बरालिन थालेपछि काजी रत्नमानले उनलाई दरबार हाइस्कुलमा ५ कक्षामा भर्ना गरिदिए । तर, उनी स्कुलमा पूरा दिन कहिल्यै पनि बस्दैनथिए । हाफ टाइम हुनासाथ पौडी खेल्न खोलातिर कुदिहाल्थे । यसरी पौडी खेल्ने क्रममा एक दिन बागमतीले उनलाई बगायो । त्रिपुरेश्वरको पञ्चायनी घाटबाट पौडी खेल्न थालेका उनलाई एक्कासि बाढी आएपछि बगाएर टेकु दोभानसम्म पुर्‍यायो । उनले किनारा लाग्ने अनेक प्रयास गर्दा पनि सकेनन् । टेकु दोभान पुगेपछि विष्णुमतीको प्रभाव र बेग बागमतीको भन्दा बढी भएकाले किनारामा हुत्यायो र एकजना किसानको नोलको सहायताले खोलाबाट बल्लतल्ल निस्किए ।

कक्षा ६ मा पुगेका गणेशमानले राणाका सन्तानलाई कुटेपछि भने उनी विद्यालयबाट भागे र त्यसपछि कहिले पनि विद्यालय नटेक्ने निर्णय गरे । यसपछि त झन् उनी फुक्काफाल भए । परिवारको बन्देजबाट बाहिरिए । घरको ढुकुटी फोडेर कलकत्ता नजाउन्जेलसम्म गणेशमानको नित्यकर्म भनेकै जुवा, गुच्चा र पौडी खेल्नु हुन्थ्यो ।

धर्मभक्तको संगतमा परेपछि शारीरिक सुगठन र बक्सिङ खेलमा रमाउन थालेका गणेशमानले टोलका साथीसँग आकाशपातालका गफ हाँक्दै बरालिएर हिँड्ने कामलाई चटक्क छाडे । उनी कुशल खेलाडी र राजनीतिक कार्यकर्ता बने ।

कलकत्तामा पढाइ सकेर नेपाल फर्किएपछि गाउँ डुल्ने क्रममा एक दिन झोछें र ओमबहालको बीचमा गणेशमानको एक बलिष्ट शरीर भएका व्यक्तिसँग जम्काभेट भयो । आफूलाई टोलको दादा भन्ठान्ने गणेशमान शरीरमा तेल घसेर बसेका बलिष्ट व्यक्तिलाई देखेपछि रिसले मुर्मुरिन पुगे । आफ्नो इलाकामा अर्कैले अड्डा जमाएर बसेको देखेपछि मुर्मुरिएका गणेशमानले उनलाई कुस्ती खेल्न ‘च्यालेन्ज’ गरे । कलकत्तामा बस्दा केही कसरत गरेका गणेशमानले त्यो व्यक्तिलाई सजिलै पछार्ने ठानेर च्यालेन्ज गरेका थिए ।

दिउँसोको घाममा तेल घसेर बस्ने व्यक्ति थिए धर्मभक्त माथेमा । ‘बंगाल टाइगर’को उपमा पाएका धर्मभक्त र ‘टोले दादा’ गणेशमानबीच घम्साघम्सी भयो । सानो कदका गणेशमानले धर्मभक्तलाई पछार्ने धेरै कोसिस गरे तर सकेनन् । केही समय गणेशमानको ‘पावर’ जाँचेका धर्मभक्तले गणेशमानलाई पाहा पछारेझैं पछारिदिए । धर्मभक्तले आफू डेग नचली गणेशमानलाई लगातार पछारिरहे ।

पहलमानी (कुस्ती) बाट धर्मभक्तलाई डेग चलाउन नसक्ने देखेपछि गणेशमानले अर्को प्रस्ताव राखे– ‘बक्सिङको भिडन्त ।’ तर धर्मभक्त बक्सिङ खेलमा पनि निकै कहलिएका थिए । उनी बंगालको च्याम्पियनसमेत भएका थिए । यस्ता व्यक्तिलाई गणेशमानले परास्त पार्न सक्ने सम्भावना नै थिएन । गणेशमानलाई प्रोत्साहित गर्न धर्मभक्तले सुरुमा नाकमा हान्न दिइरहे । गणेशमानले यसैलाई कमजोरी सम्झेर धर्मभक्तलाई थला पार्ने कोसिसमा लागे । उनले मौका पाउनासाथ धर्मभक्तको घोक्रोमा एक दनक दिए । गणेशमानको सशक्त प्रहारले धर्मभक्तलाई पनि रिस उठ्यो । उनले पनि गणेशमानको नाकमा एक मुक्का हाने । त्यो मुक्का लाग्नासाथ गणेशमान भुइँमा ढले । बेहोस भएका गणेशमानले ब्युझँदा त धर्मभक्तलाई गुलाब जल छर्किरहेको अवस्थामा पाए ।

सुरुमा एउटा जंगलमा दुईओटा शेर बस्न सक्तैन भनेर धर्मभक्तलाई गिराउन गणेशमानले कसरत र बक्सिङको बहाना गरे पनि पछि उनी धर्मभक्तका राम्रो चेला बने । धर्मभक्तबाट शारीरिक सुगठन र बक्सिङ सिके । प्रजातान्त्रिक आन्दोलनमा अमर पहिचान बनाएका गणेशमान सिंह यसरी बक्सिङ र शारीरिक सुगठनका कुशल खेलाडी बनेका थिए । उनले स्थानीय स्तरमा हुने बक्सिङका थुप्रै प्रतियोगितामा सहभागी भएर खेलाडीहरूलाई हौसला बढाउने काम गरे । राजनीतिक गतिविधि सञ्चालन गर्न सरकारले रोक लगाएको अवस्थामा उनी आमजनतामा राजनीतिक चेतना जगाउन शारीरिक सुगठन र बक्सिङका प्रतियोगिता भएका स्थानमा पुगेर घुमाउरो ढंगबाट जनतामा राजनीतिक चेतना बढाउने काम गर्थे ।

धर्मभक्तको संगतमा परेपछि शारीरिक सुगठन र बक्सिङ खेलमा रमाउन थालेका गणेशमानले टोलका साथीसँग आकाशपातालका गफ हाँक्दै बरालिएर हिँड्ने कामलाई चटक्क छाडे । उनी कुशल खेलाडी र राजनीतिक कार्यकर्ता बने । धर्मभक्तको यही प्रेरणाले गणेशमान राणाशासन उल्टाएर प्रजातन्त्र ल्याउने अभियानमा आफूलाई समाहित गर्न पुगे ।

२००७ सालमा प्रजातन्त्र स्थापना हुनुभन्दा अगाडि राजा र राणाका दरबारमा सीमित खेललाई जनतामाझ पुर्‍याउने काम धर्मभक्त र गणेशमानले गरे । धर्मभक्तको मुख्य उद्देश्य शारीरिक सुगठनका माध्यमबाट राजा त्रिभुवनसँग सम्बन्ध स्थापित गर्नु र प्रजातन्त्र स्थापनाका लागि माहोल तयार पार्नु थियो । शारीरिक सुगठन र बक्सिङ खेल भइरहेका स्थानमा पुगेर गणेशमान आम जनतालाई राजनीतिक चेतना जगाउने काम गर्थे । यो अभियान कालान्तरमा नेपालको सत्ता परिवर्तनमा मात्र सीमित रहेन, खेलकुद र खेलकुद संस्कृतिको विकासमा पनि एउटा कोसेढुंगा बन्न पुग्यो ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2