MENU

२०१७ : दहीदूध नखाने भिगन 'अतिवाद' मूलधारमा

patan-college

बीबीसी शनिवार, पुस २२, २०७४ 2411 पटक पढिएको

Share This

635-x-85

मासु, दूध, दही, घिउ तथा अन्य पशुजन्य उत्पादन र उपभोगका कारण जनावर र पन्छीले पाउने कष्ट, मान्छेको स्वास्थ्यमा पार्ने खराबी र पर्यावरणमा पार्ने नकारात्मक असरलाई ख्याल गर्दै पशुजन्य कुनै पनि वस्तु प्रयोग नगर्ने व्यक्ति तथा समूहलाई ‘भिगन’ भनिने गरेको छ। नैतिक रूपमा अरूभन्दा आफू ठीक भएको दाबी गर्ने, कुपोषित झैं देखिने, दाह्री पाल्ने र जनावर देख्नेबित्तिकै अँगालो हाल्ने लामो समयसम्म युरोपेली र अमेरिकी समाजमा देखियो। भिगन जीवनशैली अँगाल्नेको छवि यस्तै देखिन्थ्यो। तर नयाँ पुस्ताले त्यो धारणा बदल्दैछन्। त्यस्तो ‘बदनाम’ जीवनपद्धति तथा आन्दोलनलाई सामाजिक सञ्जालले कसरी लियो ? र, २०१७ मा भिगन आन्दोलनलाई मूलधारको बनाउन कसरी सहयोग गर्‍यो ?

समाज र जीवन परिवर्तनको यो आन्दोलनको जग सन् १९४४ बाट सुरु भएको थियो। त्यसैबेला इङ्ल्यान्डको लेइसेस्टर शाकाहारी समाजका एक सदस्य डोनाल्ड वाट्सनले एउटा बैठकको आयोजना गरी ‘भिगन’ शब्दको पहिलो पटक प्रयोग गरे। सो बैठकमा उनले अंग्रेजी ‘भेजिटेरिएन’ शब्दबाट पहिलो दुई अक्षर र अन्तिम दुई अक्षर जोडेर ‘भिगन’ शब्द बनाए। यो शब्द विन्यास हुनुअघि नै कतिपय व्यक्तिले जनावरबाट निर्मित चिजबिज प्रयोग गर्न छाडेका थिए। आन्दोलनलाई नाम दिएपछि र ‘भिगन समाज’ को स्थापना भएपछि यो आन्दोलन विस्तारै फैलियो।

बीबीसीले सन् १९७६ मा यो अभियान र आन्दोलनका बारे आफ्नो ‘ओपन डोर सिरिज’मा समेटेका थिए। होम कम्प्युटरको विकास हुनुुभन्दा दशकौं अघि नै वाट्सन एक्लैले ‘भिगन समाचार’ नामक पत्रिका नै छापेका थिए। डुप्लिकेट गर्ने मेसिनमार्फत संघर्षपूर्ण तरिकाले हातैले बनाइएका पत्रिकामा स्टिच लगाएर बाइन्डिङ गर्थे उनी। उनले बीबीसीसँगको अन्तर्वार्तामा भनेका थिए, ‘पाँच सिलिङ लिएर मैले बेच्ने पत्रिकाको ग्राहकहरू पाँच सय संख्यामै सीमित पारेँ। त्यसबेला धेरै पत्रिका बनाउन सम्भवै थिएन।’

इन्टरनेटको प्रभाव

समय बदलिएको छ। मोनामी फ्रस्टजस्ता इन्टरनेट सेलिब्रिटीहरू आफ्नो मोबाइलमार्फत फोटो र भिडियो अपलोड गरेर केही सेकेन्डमै लाखौं मान्छेबीच पुग्न सक्छन्। ‘मेरा कुरा सुन्न चाहने व्यक्तिका लागि मैले आफ्नै युट्युब च्यानल सुरु गरेँ,’ इन्स्ट्राग्राममा चर्चित २३ वर्षीया एक युवतीले भनिन्, ‘म एक आम मान्छे, ट्याटु मन पराउँछु। परिवारलाई माया गर्छु। म भिगन जीवन मन पराउँछु। खाना कसरी पकाउने भन्ने बारेका भिडियो बनाएर बाँड्न चाहन्छु।’ भिगन जीवन मन पराउने मोनामी भन्छिन्, ‘सागपातजन्य भोजन गर्दा मेरो जीवनमा धेरै सकारात्मक परिवर्तन आएको छ।’

इन्स्टाग्राममा १४ लाख फलोअर रहेको उनको युट्युब ग्राहक पाँच लाख ७० हजार छन्। कैयौं भिडियोहरू चर्चित छन्। सबैभन्दा चर्चित भिडियो उनकी छोरीले एक दिनमा के–के खान्छिन् भनेर बोलेको भिडियो छ। मोनामी लात्भियाबाट १६ वर्षको उमेरमा इङ्ल्याण्डको लिभरपुल आएकी हुन्। सामाजिक मिडिया प्लेटफर्मको तथ्यांक विवेचना गर्ने ‘टुबुलर’का अनुसार उनी बेलायतमा दोस्रो प्रभावशाली भिगन जीवनशैलीसम्बन्धी भिडियोहरूकी निर्माता हुन्।

‘अमेरिकन गायिका बियोन्से, र्‍यापर जेजे र माइलीजस्ता गायिकाका कारण पनि समाजको धारणा बदलिएको हो। भिगनको विषय तत्कालै सेलिब्रिटी, सफल र सुन्दर मान्छेहरूसँग जोडियो।’ माइलीले आफ्नो दायाँ पाखुरामा भिगन समाजको लोगोको ट्याटु खोपाएकी छन्।

उनकै प्रेरणाले कयौं मानिस भिगन बनेका छन्। कतिपय व्यक्तिले उनलाई बाटैमा भेटेर आफ्ना अनुभव सुनाउँछन्। ‘मैले उनीहरूको जीवन बदल्न तथा धेरै जनावरको ज्यान जोगाउन सकेकोमा आनन्द लाग्छ,’ उनी भन्छिन्, ‘मान्छेहरू विगतमा पशुपन्छीले पाउने पीडालाई बुझेर जनावर निर्मित उत्पादन प्रयोग गर्न छाड्थे। तर, आजका धेरै मान्छे स्वास्थ्यका कारण भिगन बन्दैछन्।’ पछिल्लो समय धेरै खेलाडीहरू भिगन बन्दैछन्। टेनिस स्टार दिदीबहिनी भेनसा र सेरेना विलियम्स सन् २०१२ बाट भिगन भए। स्वास्थ्यका कारण भेनेसा भिगन बनेकी हुन्, भने सेरेना भेनेसाको समर्थनमा। ३४ वर्षीय बेलायती स्ट्राइकर जेर्मेइन डिफो भिगन जीवनशैलीकै कारण आफूले उत्कृष्ट प्रदर्शन गर्न सकेको बताउँछन्।

पूर्वबेलायती हेबिवेट च्याम्पियन डेभिड हे पनि ‘खेलकुद दुर्घटना’बाट बच्ने सबैभन्दा सहज तरिका भिगन भएको बताउँछन्। धेरै पटक गोल्ड मेडल जितेकी स्कि खेलाडी हिदर मिल्सले गोडा नै काट्नुपर्ने भएपछि त्यसबाट बच्न भिगन भोजन रोजेको बताएकी छिन्। अस्ट्रेलियन क्रिकेटर पिटर सिडल भिगन हुन्। उनी दिनको २० वटा केरा खाँदा आफूले कुशलतापूर्वक प्रदर्शन गर्न सकेको बताउँछन्। स्नुकर खेलका स्टार निल रोर्बट्सन अभ्यासका क्रममा र खेल खेल्दा वनस्पतिजन्य भोजनले ऊर्जा दिएको बताउँछन्।

मोनामी स्वास्थ्यकै कारण आफू र आफ्ना पति भिगन भएको स्वीकार्छिन्। भन्छिन् ‘आफैले बनाएर पूर्ण वनस्पतिजन्य खाना खानेबारे हामी सोचिरहेका थियौं। भिगन भएको एकदुई हप्तामै सकारात्मक परिवर्तन पायौं।’ पशु उद्योगको अध्ययनबाट दही, दूध र मासुका कारण पशुले अति कष्ट पाउने बुझेपछि उनीहरू ‘नैतिक भिगन’ बनेका हुन्। ‘पशुपंक्षीले त्यति कष्ट, पीडा र मृत्यु हाम्रै लागि सहनुपर्छ भन्ने बुझेपछि जनावरका लागि लड्नु कति आवश्यक छ र मान्छेलाई शिक्षित बनाएर उनीहरूको आँखा खोल्न सहयोग गर्नुपर्छ भन्ने हामीले बुझ्यौं,’ उनी भन्छिन्, ‘म आवाजविहीनको आवाज बन्ने कोसिस गर्दैछु।’ मोनामी र उनको उमेरले युट्युबमा कस्ता सामग्री बढी रुचाइन्छ भन्ने कुरो पनि संकेत गर्छ।

युट्युबमा भिगन सामग्री हेर्ने खास दर्शक १८ देखि २६ वर्ष समूहका युवती छन्। विश्वभरबाट युट्युबमा राखिने भिगनसम्बन्धी ३६ प्रतिशत भिडियोमा यही उमेरका युवती संलग्न रहेको ट्युबुलर–युरोपका उपाध्यक्ष डेनिस क्रसेल बताउँछन्। भिगनमा चासो राख्ने दर्शकले सुन्दता र प्रकृतिलगायतका अन्य सामग्री पनि हेरेको पाइन्छ। भिगन सामग्रीको ठूलो बजार अमेरिका हो भने भिगनसम्बन्धी धेरै दर्शक बेलायतमा छन्। गत ९० दिन (२०१७ डिसेम्बर २९ को तथ्यांकअनुसार) मा युट्युबका ६ प्रतिशत भिगनसम्बन्धी सामग्री बेलायतबाटै हेरियो।

भिगन जीवनशैली बढ्दो छ ?

भिगन समाज ठान्छ– अनलाइनमा देखिएको भिगनप्रतिको रुचि वास्तविक जीवनमा पनि उस्तै छ। भिगन समाज यसलाई तीव्र रूपमा वृद्धि भइरहेको ‘जीवनपद्धति आन्दोलन’ का रूपमा व्याख्या गर्छ। भिगन समाजले २०१६ मा इप्सस मरीनामक व्यक्तिलाई यसबारे अध्ययन गर्न लगाएको थियो। अध्ययनले त्यतिखेर पत्ता लगायो– इङल्यान्ड, स्कटल्यान्ड र वेल्सका १५ वर्षभन्दा माथिका १.०५ प्रतिशत व्यक्तिले भिगन जीवन अपनाइरहेका थिए। दस वर्षअघि उल्लेखित देशमा एक लाख ५० हजारमात्रै अनुमानित भिगन थिए। त्यतिबेला भिगनमध्ये १५ देखि ३४ वर्ष उमेरसमूहका ४२ प्रतिशत थिए। ६५ वर्षभन्दा माथिका भने ६५ प्रतिशत थिए। भिगन समाजको अनुमान छ– नयाँ पुस्ता भिगन बन्दै जाँदा भिगन जीवन पद्धति भविष्यमा झनै बढ्नेछ।

‘हामीले भिगन जीवनशैलीबारे एउटा अध्ययन ग¥र्यौं, जसमा प्रायःजसो माछामासु–दहीदूध खाने मान्छेले भिगन जीवनशैली अपनाउनेलाई मन पराउने गरेको प्रतिक्रिया दिए,’ भिगन समाजकी सामान्था कल्भर्ट भन्छिन्, ‘२० या ३० वर्षपहिले त्यस्तो हुँदैनथ्यो। भिगनलाई मान्छेहरूले ‘अति’ र ‘अनावश्यक’ भन्थे। माछामासु–दहीदूध खाने मान्छेहरू भिगनलाई भन्ने गर्थे– अति गर्छन् यिनीहरू !’ कल्भर्ट भन्छिन्, ‘अमेरिकन गायिका बियोन्से, ¥यापर जेजेजस्ता वनस्पतिजन्य भोजनको अभियानमा संलग्न व्यक्ति तथा आफ्नो बायाँ पाखुरामा भिगन समाजको टाटु नै खोपाएकी माइलीजस्ता गायिकाका कारण पनि समाजको धारणा बदलिएको हो।

भिगनको विषय तत्कालै सेलिब्रिटी, सफल र सुन्दर मान्छेहरूसँग जोडियो।’ कल्भर्ट भन्छिन् , ‘रेस्टरेन्टमा थप भिगन खानाको उपलब्धता, पहिलेभन्दा झनै प्रष्टसँग खानामा लेबल लगाइनु र भिगन खानाको इन्स्टाग्राममा राखिएका सुन्दर तस्बिर पनि भिगन जीवनप्रति मान्छेको आकर्षणको कारण हो। नयाँ पुस्ताको धेरै व्यक्ति जीवनशैली र वातावरणीय समस्याको सम्बन्धबारे धेरै नै अवगत छन् र सोही कारण भिगन बन्दैछन्। मलाई लाग्छ, मान्छेहरू धेरै जागरुक भएका छन्। भिगन हुनुपर्ने धेरै कारण छन्।’

नयाँ वर्षको संकल्प–भिगन जीवन

जनवरी महिना धेरै व्यक्तिका लागि नयाँ सुरुवात र संकल्पको एक अवसर हो र ‘भिज्ञानुअरी अभियान’ त्यही श्रेणीमा पर्छ। यो अभियानले मान्छेलाई एक महिनासम्म भिगन बन्ने चुनौती दिन्छ। यस्तो चुनौतीमा सहभागी व्यक्तिले जनवरी सकिएपछि कि त जनावरसम्वन्धी उत्पादन प्रयोग गर्न छाड्छन् वा त्यस्तो उत्पादनको प्रयोग कम गर्छन्। यो अवधारणा जेन ल्यान्ड र म्याथु ग्लोभरले सन् २०१३ को हिउँदमा ल्याएका हुन्। मोभेम्बर नामको अर्को सामाजिक र स्वास्थ्य अभियान बारेमा उनीहरूले बहस गर्दागर्दै जनावरको पीडा कम गर्ने त्यस्तै अभियान थाल्न सकिन्छ कि भन्ने क्रममै भिज्ञानुअरीको धारणा जन्मेको हो। अहिले भिज्ञानुअरीका धेरै ‘सेलिब्रिटी राजदूत’ छन्।

खानपानसम्बन्धी लेखक ज्याक मुनरो, ब्रोडकास्टर सारा जेन क्रफोर्ड र कमेडियन कार्ल डोन्नेलीले भिज्ञानुअरीको प्रवद्र्धन गर्छन्। जेनले उतिखेर ठानिन्– म्याथुले भिज्ञानुअरी शब्द उच्चारण गर्दा उनको जिभ्रो लट्पटिएको जस्तो लागेको थियो तर कालान्तरमा त्यसले अर्थ राख्यो। केही महिनापछि उनीहरूले भिज्ञानुअरीको ब्रान्ड र वेबसाइट बनाए। सन् २०१४ को लागि ३३ सय मान्छेले इन्टरनेटमा भिज्ञानुअरीका लागि साइन अप गरेर सहमति जनाए। २०१७ मा यो संख्या बढेर ५९ हजार पाँच सय पुग्यो र भिगनकोे संख्या बढ्दै गएकाले यो संख्या २०१८ को भिज्ञानुअरीमा एक लाख ५० हजार पुग्ने जेनको अनुमान छ।

शाकाहारी (सागपात र दहीदूध खाने जीवन) भएपछि मात्र भिगन बन्ने पहिलेको चलन हो, तर ‘भिज्ञानुअरी’ सर्भेको परिणामले अचम्मलाग्दो गरी के संकेत गर्छ भने धेरै मासु खाने मान्छेहरू अचेल सिधै भिगन बनेका छन्। ५९ हजार पाँच सय मान्छेले भिज्ञानुअरीमा सहमति जनाएकोमा तीमध्ये ६२ प्रतिशत मान्छे मांशाहारी थिए र ३८ प्रतिशत शाकाहारी थिए। यो अभियानमा सहमति जनाउनेमध्ये ७७ प्रतिशतले जनवरीको अन्त्यमा एक महिनाभरी भिगन खानामात्रै खाएको बताए र ६७ प्रतिशतले अब सधैं भिगन रहने बताए। म्याथु भन्छन्, ‘एक महिनासम्म बानी परिवर्तन गर्नेले दीर्घकालीन रूपमा बानी बदल्न सक्छन्। नयाँ वर्षको जनवरी महिना जीवन बदल्नका लागि उचित महिना देखियो।’

भिगन हुन सजिलो छ ?

धेरै भिगन हुनुको अर्थ पसल र रेस्टुरेन्टमा भिगन उत्पादनको माग बढ्नु हो। विगतमा भिगन खाना खान विशेष खालका, साना र स्वतन्त्र भोजनालयमा पुग्नुपथ्र्यो। तर, अहिले ठूल्ठूला कम्पनीले पनि भिगन उत्पादनको आपूर्ति गर्न थालेका छन्। सन् २०१७ मै पिजा एक्सप्रेसले आफ्नो मेन्युमा ‘भिगन मोजरेल्ला’ राख्यो। बेलायतमा बेन एन्ड जेरीले गाईको दूध नहालेका विभिन्न आइसक्रिम ल्यायो। र, बेइलीले एक प्रकारको बदामबाट बनेका दूधका परिकारहरू ल्यायो। २० वर्षदेखि भिगन जीवन बिताएका ‘ब्लगर फ्याट गे भिगन’ नामबाट चिनिने सिअन ओकालाघान बताउँछन्, ‘अब ठूलो परिमाणमा वनस्पतिजन्य खाना बेचेर नाफा प्राप्त हुने देखेका प्रमुख रिटेलहरूले ‘भिगन जीवनशैलीको अति नै कमोडीफिकेसन गर्नेछन्। सहज रूपमा बेलायतमा वनस्पति दूध र भिगन चिज पाइनुको मतलव भिगनले कम समस्या भोग्नु हो।

मूलधारका रेस्टुरेन्टले समेत भिगन मेन्यु उपलब्ध गराउँदैछन्।’ भिगन उत्पादनको अर्डर आफ्ना ग्राहकबाट सबैभन्दा धेरै माग हुनेमध्ये एक भएको माक्र्स एन्ड स्पेन्सर (एम एन्ड एस) नामक बेलायती रिटेलर कम्पनी बताउँछ। एम एन्ड एसले व्यापक मागका कारण भिगनसम्बन्धी पसललाई विस्तार गरेको छ। उसले लेबल लगाउने कुरामा पनि ध्यान दिएको छ। त्यसो गर्दा भिगनले समेत खान मिल्ने शाकाहारी उत्पादन छनोट गर्न ग्राहकलाई सहज हुन्छ। सेइन्सबरीले पनि यस्तै गरेको छ र आफैंले लेबल लगाएको भिगन चिजको बिक्री विस्तार गरेको छ। ‘कुनै बेला भिगन खाद्य महँगो हुन्छ भन्ने धारणा थियो, तर अवस्था त्यस्तो रहेन,’ सामान्था कलबल्र्ट भन्छिन्।

सनक कि स्थायी परिवर्तन ?

‘फ्याट गे भिगन’ सिन २०१७ लाई ‘भिगन जीवनशैली हामीले कहिल्यै नदेखेको विशाल मूलधारतर्फ आएको वर्ष’का रूपमा तर्क गर्छन्। ‘एउटै पनि मूलधारको पत्रिका थिएन होला जसले भिगन उन्नतिका बारेमा रिपोर्ट नगरेको होस्,’ उनी भन्छन्। २०१७ मा भिगन जीवनपद्धति ह्वात्तै बढेको जस्तो देखिए पनि भिगन समाजकी सामान्था ‘ठाडो वृद्धि’ विगत पाँच वर्षदेखि नै हुन थालेको बताउँछिन्। ‘मलाई सन् २०१२ मा २०१७ सम्म भिगनको ‘ट्रेन्ड’ के होला सोधेको भए यतिखेरसम्म यो साम्य भइसक्छ भन्थेहुँला। यस्ता ट्रेन्ड ह्वात्तै घट्ने र बढ्ने हामी ठान्छौं। तर भिगन जीवनशैली भने लामो समयसम्म टिक्यो। यही विषय चाखलाग्दो छ।’

भिगन समाजले पनि सन् २००८ देखि ‘भिगन प्रतिज्ञा’ कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसमार्फत उनी मान्छेलाई ३० दिनमा भिगन हुन सहयोग गर्छ। उनीहरूको तथ्यांकले प्रतिज्ञा पूरा गर्ने व्यक्ति प्रायः भिगन नै रहने गरेका छन्। उदाहरणका लागि प्रतिज्ञामा सहभागी ८२ प्रतिशत मान्छे अहिले पनि भिगन नै छन् र १४ प्रतिशत मान्छे भिगन बन्ने कोसिस गर्दैछन्। सामान्था भन्छिन्, ‘यो बदलिरहने विषय देखिएन। यो सधैं रहिरहने देखियो।’ सिन सामान्थासँग सहमत छन्, ‘२०१७ मा भिगन जीवनपद्धति हाम्रो समाजको स्थायी अवधारणाका रूपमा ‘सिमिन्टेड’ भयो। मैले एकै वर्ष यो जीवनपद्धतिप्रति प्रतिबद्ध हजारौं व्यक्ति भेट्छु र यो संख्या घट्ने देखिँदैन। उपभोक्ताको क्रियाकलापले हामी वरपरको संसारलाई असर पार्छ भन्ने कुरो बुझेपछि अझै धेरै मान्छेले आपूmलाई बदलेका छन्।’ डोनल्ड वाट्सनले ७३ वर्षअघि थालेको आन्दोलनले यत्रो प्रभाव पार्नुलाई सामान्था ‘अविश्वसनीय’ ठान्छिन्। भिगन समाजका वाट्सन सन् २००५ मा ९५ वर्षको उमेरमा बिते, तर उनको विरासत आज बाँचिरहेछ। स्मरणीय छ, ओस्कार विजेता जेम्स क्यामरन सन् २०१८ मा भिगन जीवन पद्धतिबारे वृत्तचित्र निकाल्ने तयारीमा छन्।

‘वाट्सनले सधैं भने –मैले मेरा सबै आलोचकलाई परास्त गरेँ। किनकि मसँगै भिगन जीवनपद्धतिको अन्त्य हुन्छ भनिन्थ्यो,’ सामान्था भन्छिन्, ‘जुनसुकै बेला कसैले भिगन शब्द प्रयोग गर्छ, या आफ्नो मेन्यु अथवा केहीमा भएको खाद्यलाई भिगन भन्छ, त्यो तिनै २५ जना व्यक्तिको सिर्जना हो जसले भिगन समाज स्थापना गरे। यति सामान्य विषयले यतिसम्म प्रभाव पार्न सक्छ भन्ने कुराले अचम्म लाग्छ।’ अनुवाद : प्रकाश आस्था

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2