MENU

धनतिर महादेवका तीनै आँखा

patan-college

डा. तारानाथ शर्मा शनिवार, पुस २२, २०७४ 2052 पटक पढिएको

Share This

635-x-85

विमर्श

महाकवि लक्ष्मीप्रसादले एक ठाउँ लेखेका छन् :हातका मैला सुनका थैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले ! के उनले ठीक लेखेका हुन् त ? के धन हाम्रा हातको मैलो मात्रै हो ? अनि के साग र सिस्नु मात्रै खान पुग्नेहरू आनन्दी छन् त ? के धन नहुनु नै सन्तुष्टि हो ? अनि के आज बिनाधन साग र सिस्नुजस्ता अति सामान्य ठानिने भोजन पनि सहज प्राप्त छन् त ?

यी यस्ता प्रश्न हुन्, जसका उत्तरमा भौतिकवाद र अध्यात्मवादको रहस्य लुकेको छ । तपाईं छक्क पर्नुहोला र प्वाक्क सोध्नुहोला ः कसरी नि ? यसका उत्तरको खोजमा यो लेख समर्पित छ । यो प्रश्न जति सजिलो छ उति नै रहस्यमय पनि छ, किनभने यस सामान्य सोधाइमा पनि भौतिकवाद र अध्यात्मवादको गहनतम रहस्य लुकेको छ । तपाईँ छक्क पर्दै सोध्नुहोला : अनि के आज विनाधन साग र सिस्नुजस्ता अति सामान्य खाद्यवस्तुमै ब्रह्माण्डका रहस्यात्मकताको उत्तर लुकेको छ त ? साग र सिस्नुजस्ता अति साधारण कुरा मात्र खान पाउनेहरू आनन्दी छन् ? के देवकोटाले ठीकै लेखेका हुन् त ? के धन हातको मैलो मात्र हो ?

म सानैदेखि ‘धन देखेपछि महादेवका तीन नेत्र’ भन्ने उखान किन चल्यो होला भनेर छक्क पर्थेँ । हाल आएर समयको बज्र शिरमा दुर्दान्तसित बज्रन थालेपछि म छियाछिया भएको जीउ र पट्ट फुटेको छाती लिँदै बल्ल बुझ्न लागेको छु । धन हुनेहरू किन पोक्किँदा रहेछन्, सम्पत्तिको मात चढेपछि मानिसहरू किन पात्तिँदा रहेछन् र नगदनारायणको तातो ताप्न पाएपछि लँगौटीका जुम्राहरू पनि शिरमा पुग्न पाएँ भन्ने भ्रममा किन पलाप्पिँदा रहेछन् ? अब आएर पो म थाहा पाउन थालेको छु ।

थाहा त मैले पाउन थालेँ तर देवकोटाले चाहिँ किन वास्तवमा पैसा भनेको हातको मैलो हो भने ? अनि किन जताततै र हरेक कुरामा भौतिक सम्पत्तिको अत्यन्त आवश्यकता देख्तादेख्तै पनि धेरै जना बुझ्झकीहरू धन भनेको सबै कुरा होइन भनेर हामीलाई सिकाउँछन् ? कतिपय सन्न्यासीहरू त पैसा, लत्ताकपडा र भवन तथा जग्गा जमीनको त के कुरो, समस्त भौतिक वस्तुहरूलाई नै बेकामे, तुच्छ र नचाहिँदा कुरा मान्छन्, जीवनलाई मायाको जालमा अल्झाइराख्ने घृणित र हेय वस्तु ठान्छन् । यो सब किन ? क्रिस्तानहरूको पनि पवित्र धर्मग्रन्थ बाइबलले त कहाँसम्म लेखेको छ भने हात्तीजस्तो विशाल जनावरसमेत सियाको प्वालमा धागो छिरेझैँ छिर्न सक्ला रे, तर धनी मान्छे भने स्वर्गको ढोकाबाट कुनै स्थितिमा पनि छिर्न सक्तैन रे । किन यसरी धन बटुल्ने कामलाई पाप र धनीलाई पापी ठानिएको हो ?

जान्ने बुझ्नेहरू जतिसुकै कुर्लुन् आजका सम्पूर्णजसो मानिसहरू भने पुच्छर ठाडो पारे धनैका पछिपछि दुगुरिरहेका छन् । यी मानिसहरू न बाइबललाई विश्वास गर्छन् न त देवकोटाको उपर्युक्त सिलोकलाई नै श्रद्धा गर्छन् । ती त धनलाई श्री मान्छन्, लक्ष्मी मान्छन् र परम पूजनीया आमा मान्छन् । ती साँच्चै भन्ने हो भने लेखनाथलाई मान्छन् र उनसँगै नाच्तै गाउँछन् ः

त वर्गका अन्तिम वर्ण खालि
लिई दुइटा बन भाग्यशाली

त वर्गका अन्तिम दुई वर्ण ‘ध’ र ‘न’ मिलेर बनेको ‘धन’ भन्ने शब्द लिएर धनी बन्नु भाग्यशाली हुनु हो भनेर ठोकुवा गर्ने नेपाली कवि शिरोमणि लेखनाथ पौड्यालको वाणीलाई पत्यायो भने महालक्ष्मी माताको सेवा गर्ने हुट्हुटी पाइन्छ भन्नेहरू यस संसारमा असंख्य छन् ।

र अब गाँठी प्रश्न तेस्र्याउन सकिन्छ : ‘अब भन्नुहोस् साग र सिस्नु खाएर जीवनलाई सार्थक, सन्तुष्ट र सुखी बनाउन सकिन्छ कि, पैसा सोहोरेर विपुल धनराशि जोडी भाग्यशाली बन्न सकिन्छ ? मेरा विचारमा यी दुवै बाटाहरू एकोहोरा र अव्यावहारिक, असमर्थनीय र अपुग तथा अतिवादी र अवैज्ञानिक छन् ।

सर्वप्रथम हामी पहिलो अतिवादका भनाइको छिनोफानो गरौँ । धन कमाउनु पाप हो रे, धनी हुनु पापी हुनु हो रे । उसो भए ठूल्ठूला मन्दिरहरू बनाउनचाहिँ के हो नि ? हजारौं लाखौं जनता तर्ने विशाल पुलहरू, हिँड्ने गुड्ने लामालामा र फराकिला चिल्लाचिल्ला सडकहरू, पढ्ने सुन्दर र भव्य विश्वविद्यालयका भवनहरू तथा अस्पतालहरू, पुस्तकालयहरू र संग्रहालयहरू सबै नै पापकर्मका प्रतीक हुन् त ? धन नभई, पैसा नभई र भौतिक सरसामान नजुटाई मानवीय सभ्यताका चिह्न स्वरूप यस्ता जननिर्माणका कार्यहरू सम्पन्न हुनसक्ने थिएनन् ।

कतिपय धनी मानिसले परोपकार हुने ठूलाठूला निर्माणका कार्यमा आफ्नो कमाइ सस्नेह र सहर्ष लगाएका छन् । त्यस्ता काममा लाग्ने दानीहरूलाई पापी वा अधर्मी भन्न मिल्दैन । दरिद्र हुनु र साग मात्रैमा रमाउनु धर्म होइन । अभावको सन्तुष्टि नकारात्मक र विकृत हुन्छ, कृत्रिम हुन्छ । कतिपय साग र सिस्नामा मात्र रमाउँछौँ भन्नेहरू पनि ‘बाहिरबाहिर लोकाचार, तर भित्रभित्र पोको पार्’मा लागेका हुन्छन् । हाक्काहाक्की धन कमाउने भन्दा लुकीचोरी पैसा थुपार्नेहरू कता हो कता षड्यन्त्रकारी र पापी हुन्छन् ।

वास्तवमा भौतिक अस्तित्वबिना आधारभूत ज्ञान पनि हुन सक्तैन । हाम्रा आँखा छन्, त्यसैले हामी देख्न सक्छौँ । हाम्रा कान छन्, त्यसै हुनाले हामी सुन्न सक्छौँ । हाम्रो मुख छ, त्यसैले हामी बोल्न सक्छौँ, खान सक्छौँ, पिउन सक्छौँ । नाकले सुँघ्नु र सास फेर्नु स्वाभाविक, भौतिक र जैविक प्रक्रिया हो । शरीर छ, त्यसै हुनाले हाम्रो दिमाग छ । दिमाग भएकैले सोच्न सकिन्छ । भौतिक शरीरलाई स्वस्थ र सबल राख्न यसका आवश्यकताहरूको पूर्ति गर्नैपर्छ । नाकले मीठो बास्ना मन पराउँछ । मुख स्वादिलो खान खोज्छ, शरीर पोसिलो भोजन रुचाउँछ । कानलाई पनि राम्रो र रमाइलो सुन्न मन लाग्छ । आँखा रमाइलो दृश्य हेर्न र देख्न चाहन्छन् । यस्तो चाहनु र इच्छा गर्नु पाप होइन, स्वाभाविकता हो ।

त्यसै हुनाले सारा भौतिक सुबिस्ताहरू र साधनाहरूलाई चटक्क त्यागेर साग र सिस्नाको नारा लगाउँदै जंगल पस्नु प्रकृतिको विरोधमा जानु हो । संसारको सृष्टिलाई चलाइराख्न गार्हस्थ्य जीवन नबिताई हुँदैन । गृहस्थी चलाउन पैसा नभई हुँदैन । त्यसै हुनाले पैसा कमाउनुपर्छ । राम्रो लगाउनु, मीठो खानु र सुबिस्तासाथ बाँच्नु मानव जीवनको स्वाभाविक आवश्यकता हो । जीउ रहे मात्र केही गर्न सकिन्छ । जीउलाई मारेर, सृष्टिका निरन्तरताको विरोध गरेर र सुखसमृद्धिलाई त्यागेर खरानी घस्न खोज्नु सभ्यता होइन, मानवता होइन ।

दोस्रो अतिवादचाहिँ अलिक निठुरी छ । पैसा बटुलेर थुपार्नु मात्र यसको लक्ष्य देखिन्छ । पैसा भए ऐश हुन्छ र पैसाले जे पनि किन्न सकिन्छ यस अविवादको धारणा छ । हो, पैसा चाहिन्छ तर पैसाको पछि अन्धो भएर दुगुर्नाले केही उपलब्धि हुँदैन । मानिसले जीवनमा खोज्ने कुरो शान्ति हो, सुख हो र समृद्धि हो । पैसा मात्रै थुपारेर जीवन सफल हुन सक्तैन ।

मानिस अरू प्राणीहरूभन्दा बेग्लै भएको कारण विवेकले गर्दा हो । विवेक नै यस्तो अनुपम र अमूल्य तत्व हो जसले गर्दा मानिस अरू सबै प्राणीभन्दा माथि छ । विवेक भएकैले ऊ यस संसारलाई, यसका नियमहरूलाई र यस संसारका सृष्टिकर्तालाई बुझ्ने प्रयत्न गर्न सक्छ र बुझ्न पनि सक्छ । यस विराट् ब्रह्माण्डमा पृथ्वी ग्रह नै अति सूक्ष्म बालुवाको कणसमान नगण्य देखिन्छ । अनि यसै नगण्य पृथ्वी ग्रहरूपी कणको परम सानो थोप्लाको रूपमा मानव आफ्नो चुरीफुरी देखाउँछ । त्यसो भएर पनि यो सामान्य र सूक्ष्म मनुष्य मापाको छ । विवेकशील यो मनुष्य जन्तु आफ्नो अस्तित्वलाई बुझ्न सक्छ ।

मानिसभित्र विवेक भर्ने तत्व आत्मा हो । हुन त हाम्रो सनातन मनीषीहरूले समस्त प्राणीमा आत्माको स्थापना गरेका छन्, तापनि किन मनुष्यभित्रको आत्माले मात्र आफ्नो शरीरमा विवेक भरेको छ र अरू प्राणीहरू कर्मेन्द्रियप्रति मात्र सचेत छन् र अविवेकशील छन् तिनले व्याख्या गरेका छैनन् । आत्मा नै विवेकको मुहान हो भने क्रिस्तानहरूको भनाइ बढी सत्यको नजिक देखिन्छ किनभने उनीहरूका भनाइअनुसार मान्छेभित्र मात्र आत्मा हुन्छ, अरू प्राणीहरूभित्र आत्मा छैन, हुँदैन । सके क्रिस्तानहरूले अरू प्राणीहरूलाई निसङ्कोच काटेर खाएको पनि ती मानवेतर जन्तुहरू आत्महीन हुन्छन् भन्ने विश्वासले होला । जे होस्, मान्छेमा आत्मा छ र विवेक पनि छ । आत्मा र विवेक एकै तत्व भए पनि र बेग्लाबेग्लै कुरा भए पनि मान्छे ती दुवैबाट सिँगारिन पाएकाले सृष्टिको सम्राट् हुन सकेको छ ।

मानवजीवनमा शरीरको सुख मात्रले पुग्दैन । शरीरलाई सबल, सफल र सार्थक बनाउन राम्रो स्वास्थ्य अवश्य चाहिन्छ, सुबिस्ताले युक्त, मक्ख र आनन्दित तुल्याउन भौतिक साधनहरूको आवश्यकता पर्छ र यी सारा आवश्यकताहरूको पूर्तिका लागि पैसो चाहिन्छ । शरीरका यी भौतिक आवश्यकता आधारभूत कुरा हुन्, तर तिनको मात्र प्राप्तिले मान्छे पूर्ण सन्तुष्ट, सुखी र समृद्ध बन्न सक्तैन । मान्छे अन्तर्मुखी हुन्छ, ऊभित्रतिर हेर्छ, किनभने उसको साँचो अस्तित्वभित्र छ, उसैभित्र छ । मान्छे सूक्ष्म छ ब्रह्माण्डका तुलनामा परमाणुसमान छ, तर वास्तवमा मानवभित्रै विशाल ब्रह्माण्ड अटाउँछ, किनभने मानव नै ब्रह्माण्डकी काटीकुटी प्रतिकृति हो । अझ सजिलोसित भन्ने हो भने यो समस्त विश्वब्रह्माण्डको विशालताका जनक परमब्रह्म जतासुकै ढाकेर बसेका छन् र उनको सानोभन्दा सानो अंश हरेक मानिसभित्र आत्मा भएर अवस्थित छ ।

मान्छेभित्रको आत्मा परमपिता परमेश्वरको प्रतिनिधि हो । मान्छेले आफूभित्रको त्यस प्रतिनिधिलाई चिन्यो भने उसले ईश्वरलाई चिन्यो, ब्रह्माण्डलाई चिन्यो, शाश्वत सत्यलाई चिन्यो । जब मान्छे आफूभित्रको आत्मालाई चिन्न सक्षम हुन्छ र जब ऊ त्यस आत्मालाई उनै ईश्वरको अंश भनेर जान्दछ, उसले समस्त विश्वभरिका मानिसलाई चिन्न सक्छ र आपैmँसरह मान्न सक्छ । संसारको प्रत्येक मान्छे आफूभित्र ईश्वर बोकेर हिँडिरहेको हुन्छ । यस ज्ञानले मानव मात्रलाई समान स्नेहभावले व्यवहार गर्न सिकाउँछ । त्यति मात्र होइन, मान्छेभित्र आत्माका रूपमा ईश्वर बस्ने हुनाले मान्छे ईश्वरीय शक्तिद्वारा सम्पन्न हुन्छ । यही भित्री चेतना नै अध्यात्म हो ।

शरीरलाई पुष्ट पार्न पौष्टिक आहारा, राम्रो पार्न राम्रा लुगा र सुविधा दिन सुबिस्ताजनक भौतिक साधनहरू चाहिएजस्तै उसको विवेकलाई सक्रिय तुल्याएर ईश्वरीय शक्तिले सम्पन्न र समृद्ध बनाउन आध्यात्मिक साधनाको आवश्यकता पर्छ । आध्यात्मिकताले भित्री चेतना दिन्छ । समाजसेवा, स्नेह र परोपकार आध्यात्मिक ज्ञानका रश्मि हुन् । आफूलाई ईश्वरको अङ्गका रूपमा चिन्नु र अरूलाई पनि तिनै परमात्माको अंशका रूपमा स्वीकार गरेर निःस्वार्थ व्यवहार गर्नु नै मानव जीवनको सार्थकता हो । यस उपलब्धिका लागि भौतिकवाद र अध्यात्मवादको समन्वय हुनुपर्छ । यही मेल, यही समन्वय र यही ज्ञानलाई मानव मात्रको हितका लागि सहर्ष अघि बढाउनु हाम्रो मूल लक्ष्य हुनुपर्छ । परोपकार, पर्यावरणको सुरक्षा र अभिवृद्धि, भौतिक र आध्यात्मिक स्रोत र शक्तिको सदुपयोग, ज्ञानको विस्तार तथा समस्त मानव जातिमा पारस्परिक प्रेम हाम्रा अभीष्ट हुनुपर्छ ।

त्यसै हुनाले परि श्रम गरेर, प्रतिभालाई काममा लगाएर र दुव्र्यसनलाई त्यागेर धन कमाउनु सभ्य मानवीय कार्य हो, तर यसरी कमाएका धनको सदुपयोग हुनुपर्छ । अर्कालाई ठगेर, समाज, राष्ट्र र विश्वलाई नराम्रो र अहित हुने गरेर तथा लुटेर र चोरेर धन कमाउनु भने ठाडै अपराध हो, पाप हो । यस्ता पाखण्डीको धनले समाजलाई कुनै फाइदा हुँदैन । पाखण्डीका कमाइको अपराधी प्रवृत्तिबाट तर्सेर लक्ष्मीमाताको आशीर्वादबाट नै तर्सँदै साग र सिस्नुको दुहाइ दिनु भने एक प्रकारको मानसिक विकृति हो, जीवन र जगत्को उत्तरदायित्वबाट पलायन हो, नकारात्मक दृष्टि हो ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2