MENU

मार्क्सवादमाथि चिन्ता

patan-college

नेत्र एटम शनिवार, पुस २२, २०७४ 503 पटक पढिएको

Share This

635-x-85

 

प्रवेश
अमर गिरी समकालीन नेपाली साहित्य, संस्कृति, समाजको पुनर्संरचनाको विचारधाराका विमर्शहरूमा सक्रिय व्यक्तित्व हुन् । कविता, समालोचना र सांस्कृतिक चिन्तनमा उनको उपस्थिति निकै गम्भीर र अर्थपूर्ण रहन्छ । साहित्य र सांस्कृतिक विमर्शका कृतिहरू ‘समय, समाज र संस्कृति’ तथा ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’पछि उनको ‘भूमण्डलीकरण र साहित्य’ नामक समालोचनाको किताब भर्खरै भृकुटी एकेडेमिक पब्लिकेसन्सबाट प्रकाशित भएको छ । यो साहित्यको अन्तर्विषयक विवेचना भएको गहन एवं प्राज्ञिक समालोचनाको संग्रह हो । यसमा साहित्यको वैचारिक आधार के हो, अहिलेको साहित्य कसरी सतहीपनतिर गइरहेको छ र त्यसबाट निकासका निम्ति हामीसँग रहेको कुन सौन्दर्यशास्त्रीय उपकरण उपयोगी छ भन्ने प्रश्नको निर्भीक उत्तर प्राप्त हुन्छ ।

भूमण्डलीकरणले विभिन्न क्षेत्रमा पारेको प्रभाव, पहिचानको गलत दिशा, पुँजीवादी बजारले साहित्यलाई उपभोग्य वस्तु बनाइरहेको सन्दर्भ, सांस्कृतिक अध्ययनको आधार, नारीवादको भविष्य, बहुभाषिक नीतिको व्यावहारिकता आदिबारे यसमा व्यापक छलफल गरेर मार्क्सवादका आधारमा निष्कर्ष दिइएको छ । यसमा रहेको शार्दूल भट्टराईको लामो तर सुन्दर भूमिकाले ग्रन्थका विषयको यथार्थ परिपे्रक्ष्य बुझ्न, विमर्शमा सहभागी हुन र सही दिशाबोध गर्न सहयोग गर्ने देखिन्छ ।

कृतिगत अवधारणाको विमर्श

‘भूमण्डलीकरण र साहित्य’मा ११ वटा समालोचना छापिएका छन् । ‘भूमण्डलीकरण र सांस्कृतिक आक्रमण’मा भूमण्डलीकरणलाई पुँजीवादी परियोजनाको एउटा अंगका रूपमा व्याख्या गरी यसलाई समरूपीकरण, बजारीकरण, उपभोक्तावाद, वर्णशंकर संस्कृति, पश्चिमीकरण, विखण्डन र विसर्जन, व्यक्तिवादका अवधारणाबाट परिचित गराइएको छ । यस्ता विकृत सन्दर्भबाट हाम्रो मौलिक संस्कृतिको पहिचान र यसका उदात्त मूल्यहरूलाई जोगाई समाजलाई अग्रगामी बनाउनका निम्ति भूमण्डलीकरणका विरुद्धको संघर्षलाई यसमा अपरिहार्य ठहर्‍याइएको छ । ‘भूमण्डलीकरण, उपभोक्तावाद र साहित्य’ शीर्षकको अर्को लेखमा अहिलेको भूमण्डलीकरणको प्रभावमा लेखक कसरी बजारको बिकाउ वस्तु हुँदै छ भन्ने सन्दर्भलाई स्पष्ट पारिएको छ।

समालोचक भन्छन्, ‘उत्तरआधुनिकतावादी लेखकहरू बजारवादका सबैभन्दा बढी प्रचारक र निराशावादका सबैभन्दा बढी समर्थक हुन्छन् । उनीहरूको विचारमा सबै प्रकारका लेखकहरू बजारमा बेचिनका निम्ति नै बसेका छन् र बेचिनु नै उनीहरूको नियति हो । यदि यस्ता लेखकहरूसँग साहित्यिक लेखन स्वेच्छा र स्वतन्त्रतापूर्वक निर्वाह गरिने कर्तव्य हो भनेर भनियो भने उनीहरूले यसको प्रतिवाद गर्दै स्वेच्छाले कसैले केही लेख्दैन, बजारको मागअनुसार लेख्छ भन्ने छन् । ...उनीहरूका विचारमा आनन्द पनि लेखेर ‘पैसा कमाउनु र खर्च गर्नु’ (उपभोक्तावाद) मा छ (पृ.१२०) ।’

यसले हाम्रो नेपाली साहित्यको वर्तमान माहोलको कुरूप परिदृश्य खडा गरेको छ । यसै प्रसंगको पूरकका रूपमा ‘साहित्य र बजार’ शीर्षकको लेख पनि यसमा संकलित छ । यसमा हाम्रा प्रकाशक, बजार, मिडिया र पाठकको अन्तर्सम्बन्धलाई पुष्टि गर्ने साहित्यको बजारीकरणका केही अभिलक्षण देखाइएको छ, जस्तै— हल्का विषयवस्तु, यौन, रहस्य र रोमाञ्चलाई प्राथमिकता, अर्थहीन प्रयोगलाई महत्व, प्रेमको बजारु पक्षलाई स्थान, साहित्यको उपभोक्ता मूल्य हेरेर सामाजिक भूमिकाको अस्वीकृति, साहित्यको प्रचारमा अतिशय जोड, कमजोर कृतिलाई प्रचारका माध्यमबाट उत्कृष्ट साबित गर्ने प्रयास तथा लेखक, प्रकाशक र मिडियाको साँठगाँठबाट कृतिलाई स्थापित गर्ने धूर्तता । यसले गर्दा साहित्यमा गहिरो यथार्थबोध, जीवनबोध, संवेदना, स्वप्न हराउँदै गएर राम्रा मानिएका साहित्यकार पनि बजारमा बिक्ने लोभमा आज आफ्नो स्व र श्री गुमाउँदै बजारको कठपुतली बनिरहको निष्कर्ष यसमा पाइन्छ ।

अधिकांश समालोचनामा लेखकले मार्क्सवादको भ्रष्टीकरण भइरहेको विषयमा अत्यधिक चिन्ता र त्रास प्रकट गरेका छन् ।  

आफ्नो अनुहारको यस्तो विद्रूप दृश्य ऐनामा हेरी उत्सव मनाउँदै गरेको साहित्यकार बिनापीडा र बिनालज्जा हौसिरहेको देखेर उनी भन्छन्, ‘स्रष्टा आज आफूलाई सेलिब्रेटी र आफ्नो साहित्यलाई विज्ञापन बनाउन तयार छ । ...वस्तुतः सेलिब्रेटी आफैं बनिन्न, बनाइन्छ । बजारलाई सेलिब्रेटी चाहिन्छ । सेलिब्रेटीको काँधमा चढेर बजार मात्र व्यापार गर्दैन, मिडिया पनि व्यापार गर्छ (२९६) ।’ बजारीकरणको यस्तो कार्यलाई प्रतिवाद गर्नुको साटो कति मार्क्सवादीहरू त्यसैमा लाम लागेको देखेर लेखक आश्चर्यचकित छन् र बजार प्रतिरोधी संस्कृतिको आवश्यकता औंल्याएका छन् ।

‘मार्क्सवादी साहित्य सिद्धान्त’ शीर्षकको लामो लेख यसमा रहेको पूर्णतः सैद्धान्तिक विमर्श हो । यसले साहित्यसम्बन्धी शास्त्रीय मार्क्सवादी प्रस्थापनाहरूलाई नै छलफलका साथ प्रस्तुत गरेको छ । विचारधारात्मक अधिरचनाका रूपमा साहित्यका विभिन्न पक्षको परिचर्चा गर्दै यसमा उनले साहित्यको क्षमता र वर्गसँगको सम्बन्धबारे यस्तो धारणा बनाएका छन्, ‘साहित्यले विचारधारात्मक रूपमा शासकहरूलाई टिकाउन र समाप्त गर्न पनि सक्छ । यसले वर्गीय शोषण र थिचोमिचोलाई टिकाइराख्न भूमिका निर्वाह पनि गर्न सक्छ, सर्वहारा वर्गलाई जगाउन, उनीहरूमा चेतनाको विकास गर्न, उनीहरूलाई संगठित गर्न र आन्दोलित बनाउन पनि सक्छ । साहित्यले निर्वाह गर्ने विचारधारात्मक, संज्ञानात्मक र सौन्दर्यात्मक भूमिकाका कारण यो सबै सम्भव हुन्छ (पृ.७७) ।’ यसले साहित्य भनेको सभ्यताका क्रममा आर्जित मानवीय, समाजिक र पद्धतिगत रूपान्तरणको महत्वपूर्ण आधार हो भन्ने स्पष्ट विचार दिएको छ ।

‘मार्क्सवाद, पहिचानको राजनीति र साहित्य’ यस ग्रन्थको निकै महत्वपूर्ण प्राज्ञिक विमर्श हो । लहड र विभिन्न प्रभावमा हुइँकिँदै र कचपल्टिँदै नेपाली समाजमा चर्चित बनेको पहिचानको डिस्कोर्सलाई उनको यस लेखले गहनतापूर्वक पर्गेलेको छ । केही अन्तर्राष्ट्रिय संस्थाहरूले विश्वभरि नै पुँजीवादको नयाँ हतियार बनाएर जटिल एवं पेचिलो मुद्दाका रूपमा यसलाई उठाए पनि र केही मार्क्सवादीले प्रसार गरे पनि उत्तरआधुनिकतावाद र सांस्कृतिक अध्ययनको प्रभावका कारण मूलतः यो मार्क्सवादविरोधी रहेको ठहर उनको छ । उनी लेख्छन्, ‘पहिचानको राजनीतिको मुख्य ध्येय जे भनेर व्याख्या गरिए पनि भाषा, संस्कृति, इतिहास आदि जस्ता यस राजनीतिका आधारहरूले यसलाई मुक्तिका मुख्य विषयहरूसँग पृथक् गर्छन् र पहिचानका प्रतिमानहरूलाई मुख्य बनाउँछन् । वर्गमा आधारित राजनीतिलाई विखण्डन गर्ने अभीष्टसहित प्रक्षेपित विचारहरूबाट निर्मित पहिचानको विमर्श बोकेर हिँड्न आज कैयौं मुलुकका आदिवासी जनजाति, महिला आदि विवशजस्तै देखिन्छन् (१३१) ।’

यसको प्रमुख कारण हो नश्लवादबाट सामाजिक विखण्डनबाट पुँजीवादीहरूलाई हुने अन्तहीन शोषणको लाभ । त्यसैले एकीकृत भएर समग्र मुक्तिका निम्ति प्रयास गर्नेहरूका निम्ति पहिचानको राजनीति र साहित्य सही मार्गचित्र हुनै सक्दैन, यसलाई मार्क्सवादकै आधारमा मात्रै गम्भीरतापूर्वक समाधान गर्न सकिन्छ भन्ने उनको विश्वास यसमा पाइन्छ ।

‘रूप र सारमा उत्तरआधुनिकतावाद’ शीर्षकको लेखमा बजारले चम्काएको उत्तरआधुनिकतावादको रूपलाई सारमा हेर्दा खोक्रो, प्रतिगामी र मानवताका निम्ति विकृत चिन्तन ठहर्‍याइएको छ । उत्तरआधुनिकतासम्बन्धी उनको अध्ययनको निचोड यस्तो छ ः ‘यसले गर्ने गरेको लघु वृत्तान्तहरूको पक्षपोषणमा मुक्तिको मार्ग प्रतिविम्बित हुन्न, त्यसको विखण्डन प्रतिविम्बित हुन्छ । यसको उदारवाद, लोकतन्त्र, समाजवादप्रति विश्वास पनि छैन र यससँग यसले उत्पन्न गर्नसक्ने रिक्ततालाई पूरा गर्ने कुनै वैकल्पिक बाटो पनि छैन । ...यसले गर्ने गरेको सीमान्तीकृतहरूको पक्षपोषण यहाँनेर कृत्रिम र पाखण्डपूर्ण देखा पर्दछ (पृ.२२३) ।’ यसैगरी ‘नारीवादी आन्दोलन र साहित्य चिन्तन’ लेखमा नारीवादलाई पनि उत्तरआधुनिकतावादको दलदलमा फसेर नारीमुक्तिको अवधारणालाई कुरूप पार्ने दिशाहीन वैचारिकता मानिएको छ । नारीवादको भविष्य सामन्तवाद र पँजीवादका विरुद्ध चल्ने संघर्षको एउटा अंगका रूपमा मात्र सुरक्षित हुन सक्ने र नारीपुरुषको एकताबार्ट नारी मुक्तिको सपना पनि सार्थक हुन सक्ने हुँदा साहित्यमा पनि यस्तै विचार उपयुक्त हुने निष्कर्ष प्रस्तुत गरिएको छ ।

‘सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा’ शीर्षकको समालोचनाले अहिले साहित्यिक अध्ययनमा अलि प्रचलनमा रहेको विमर्शलाई गहन ढंगले छलफलमा ल्याएको छ । वास्तविक आधार र पद्धति नबुझी नयाँ शब्दावली पाउनासाथ त्यसैको बहकाउमा लागिहाल्नेहरूका निम्ति यस लेखले सांस्कृतिक अध्ययनका केस्राकेस्रा केलाई यसको अन्तर्यमा रहेको विरूपतालाई छर्लंग पारिदिएको छ । प्रतिनिधित्व, संयोजन, शक्ति, विचारधारा, प्रभुत्व, पहिचान, पाठ, डिस्कोर्स, लोकप्रिय संस्कृति आदि सांस्कृतिक अध्ययनका आधारहरूको परिचय दिई यसका प्रकार र अध्ययन पद्धतिहरूको परिचर्चा भएको छ । त्यस्तै, ‘सांस्कृतिक चिन्तनमा ग्राम्सी’ लेखमा चाहिँ ग्राम्सीको जीवनी र चिन्तनलाई जोड्दै उनलाई रचनात्मक र आलोचनात्मक सांस्कृतिक सोच प्रदान गर्ने सक्षम मार्क्सवादी विचारका रूपमा स्थापित गरिएको छ ।

‘एक्काइसौं शताब्दीको विश्वसन्दर्भ र नेपाली साहित्य’ विश्वको राजनीतिक, सांस्कृतिक, आर्थिक, साहित्यिक आदि सन्दर्भहरू केलाई हाम्रो वास्तविक अवस्था देखाइएको लेख हो । यसमा नेपाली साहित्यकारहरू दुर्गणहरूको अवलम्बन गरेर कसरी सतहीपनमा मक्ख पर्दैछन् भन्ने संकेतसहित सही मार्गदर्शन गराइएको छ । नेपाली साहित्यको बाधकका रूपमा हाम्रो निम्छरो चिन्तन, अतिशय भावुकता, आलोचनात्मक विवेकका न्यूनता, अध्ययनका दरिद्रता, गहिरो दृष्टिकोणको अभाव, छिपछिपे, एकांगी र पाठ्यपुस्तकीय समालोचना, प्रचारप्रियता, बिना श्रम सफलता प्राप्त गर्ने लालसा, उपभोक्तावादी प्रवृत्ति अधकल्चो विश्वदृष्टिकोण आदिलाई मानेका छन् । यसको समाधानको उपाय पनि छ, ‘नेपाली साहित्यले सामन्तवाद र समकालीन पुँजीवादको तिखो आलोचना र सबै किसिमका उत्पीडनहरूबाट मुक्तिको स्वप्नसहित जीवन र जगत्को कलात्मक पुनर्सिजन गर्न सक्नुपर्छ । यसले आफ्नो स्व र माटोको सुगन्धलाई बचाउन सक्नुपर्छ (१८२) ।’ त्यस्तै, ‘बदलिएको सन्दर्भ र भाषासाहित्य’ लेखमा चाहिँ नेपाली भाषाको वर्चश्वको विरोध र बाह्य गुलामीको पनि प्रतिराध गर्दै नेपालका सबै भाषासाहित्यको मूल्यको पहिचान र तिनको संरक्षणका निम्ति प्रयत्न गर्नुपर्ने आवश्यकता देखाइएको छ । भाषिक र सांस्कृतिक विभेदको अन्त्य भएको नेपालका निम्ति नेपाली भाषा र साहित्य भन्दा नेपालभित्रका सबै राष्ट्रभाषाको अस्तित्वलाई लिइनुपर्ने उनको जिकिर छ ।

‘भूमण्डलीकरण र साहित्य’ ग्रन्थका विषयगत चिन्तनहरू समकालीन संस्कृति र साहित्यका महत्वपूर्ण प्रभाग हुन् । यिनमा लेखकले निकै सचेतता अवलम्बन गरी विषयका चुनौतीहरूलाई पार लगाउन सकेका छन् । यो उनको अध्ययन र निर्भीकताको परिणाम हो । विमर्शलाई यसको उपादेयता र गम्भीरताअनुरूप प्राज्ञिक र मर्यादित बनाउन पनि सकेका छन् । यसबाट विषयका गम्भीर अध्ययेता र शोधकार्यमा संलग्न बौद्धिक समुदायले निकै लाभ लिन सक्छ तर अरूका अवधारणामा छलफल गर्दागर्दै पाठकले ग्रन्थकारको चिन्तनको छनक न्यून रूपमा मात्र पाउने समस्या केही लेखमा देखिन्छ । विश्व राजनीतिका लामालामा सैद्धान्तिक बहसलाई अलिक छोट्याएर नेपाली प्रसंग र मुद्दाहरूमा बढी छलफल भएको भए पाठकले अझै अपनत्व अनुभूत गर्थे होलान् भन्नेचाहिँ अन्तिमबाहेक अरू लेख पढ्दा लागिरहन्छ ।

भय र निकास

यस कृतिका अधिकांश समालोचनामा लेखकले मार्क्सवादलाई मूल विचारधाराका रूपमा लिई विषयलाई प्राज्ञिक ढंगले निष्कर्षमा पुर्‍याएका छन्, यसमा उनले सफलता पनि पाएका छन् । तर, सबैजसो लेखमा उनले मार्क्सवादको भ्रष्टीकरण भइरहेको कुरामा अत्यधिक चिन्ता र त्रास भने प्रकट गरेकै छन् । हरेक सिद्धान्त, पद्धति, व्यवस्था आदिमा युगीन आवाज, प्रविधि र चिन्तनअनुरूप मि श्रण, संशोधन र परिमार्जन र विकास भइरहनु भौतिकको नियम नै हो । कुनै वाद वा सिद्धान्त विशुद्ध रूपमा शाश्वत रहिरहनुले भन्दा यो जीवन र जगत्लाई अझै सुन्दर र समुन्नत बनाउन हुने उपयोगिताले नै त्यसको औचित्य र महत्व देखिन्छ । ग्राम्सीले झैं हामीले पनि कारागारको यन्त्रणादायी परिस्थितिका बीच पनि प्रतिरोध र परिवर्तनको स्वप्न देख्ने हो अनि उत्पीडनको विचारधारात्मक रूपलाई पर्याप्त नवीनतासहित व्याख्या गर्ने हो ।

त्यसैले समालोचनामा यस्ता सैद्धान्तिक तर्क, विवाद र विमर्शलाई मात्र भन्दा पनि हाम्रो साहित्य र संस्कृतिमा उक्त विचारधारा र व्यवहारलाई न्यायपूर्ण सामाजिक प्रणालीको व्यवस्थापनमा कसरी सिर्जनात्मक ढङ्गले उपयोग गर्न सकिन्छ भन्ने मौलिक प्रस्थापनाप्रति नै लेखक अधिक अभिमुख हुनु उपयुक्त होलाजस्तो लाग्छ ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2