MENU

नानीबाबुलाई सत्यमोहन जोशीको चिठी

patan-college

सत्यमोहन जोशी आइतवार, पुस २३, २०७४ 962 पटक पढिएको

Share This

635-x-85

देखेसुनेका कुरा टिप्ने गर

प्यारा भाइबहिनी

 नमस्कार।

 

आज म तिमीहरूलाई आफ्नै अनुभव सुनाउँदै छु।

पाँच वर्षको हुँदासम्म पनि मेरो बोली नफुटेपछि घरमा औडाहा भएछ। भक्तपुरको सूर्यविनायकमा दर्शन गराएपछि बोली फुट्छ भन्ने मान्यताअनुसार दर्शन गराउन लगिएछ। यो वि.सं. १९८२ सालको कुरा हो।

पछिसम्म पनि नेपाली बोल्न जान्दिनथेँ। सुरुमा मलाई पाटनकै पाठशालामा भर्ना गरिएछ। नेपाली नजानेकै पीरले केही दिनमै जान छोडिदिएँ। टोलमा सबै नेवारी बोल्थे। पछि पिताजीले केही सिकाउनु भयो। त्यसपछि म दरबार हाइस्कुलमा भर्ना भएँ।

मेरो पढाइ खासै राम्रो थिएन। जेनतेन कलेजमा पुगेँ। २००१ सालतिर बीए पढ्दै गर्दा ‘औद्योगिक, व्यापारिक समाचार संग्रह अड्डा’ खडा भयो। त्यहाँ नियुक्त गरिएका पाँच कर्मचारीमा म पनि परेँ। मेरो कार्य क्षेत्र तनहँ र लमजुङ तोकियो। म नेवारी मात्र बोल्ने, सहरभन्दा बाहिर ननिस्केको, त्यहाँ यातायातको सुविधा पनि नभएकाले समस्या आइलाग्यो। तर ममा केही गर्छु भन्ने दृढ विश्वास थियो।

गुरुङ गाउँमा पुग्दा प्रायः शून्यजस्तै लाग्यो। दोस्रो विश्वयुद्ध चलिरहेको थियो। उमेर पुगेका केटाहरू घरमा थिएनन्। गोरखपुरबाट आएर लडाइँमा लैजाँदा रहेछन्। उनीहरू घर फर्किने कुराको टुंगो हुँदैनथ्यो। गाउँको अवस्था सामान्य थियो।

त्यहाँ मेलापात, हाटबजार, पर्वपूजा आदिमा गीत गाउने चलन रहेछ। त्यसबाट म ज्यादै प्रभावित भएँ। गाउँमा रमाउँदै गएँ। त्यसबेला एउटी महिलाले गाएको गीत अहिले पनि याद छ...

गाई पाल्यो वनको बाघलाई

छोरो पाल्यो जर्मनको धावालाई

आज भोलि रेलीमै किन हो किन

मन त मेरो रेलीमै डाँडाको बतास।

मैले सुनेका जति गीत सार्न थालेँ। २००३ सालमा शारदा पत्रिकामा त्यहीमध्येका केही गीत पठाएँ। पछि त्यो छापिएछ। शारदाका अन्तरंग सम्पादक गोपालप्रसाद रिमालसँग भेट भयो। उनले खुसी हुँदै भने, ‘नयाँ कामका लागि तपाईंलाई धन्यवाद छ। यी गीत कुन समयमा, कसले, कसरी गाएको हो स्पष्ट खुलाउँदा अझ राम्रो हुन्छ।’ यो कुराले मलाई बाटो देखाइदिए जस्तै भयो।

२०१३ सालमा मदन पुरस्कार गुठीको सूचनाअनुसार मैले पनि ‘हाम्रो लोक संस्कृति’ नामक किताब दर्ता गराएँ। प्रतिस्पर्धामा आउँछु भन्ने विश्वास थिएन। मेरो किताब मैले सुनेका तिनै लोकगीतको संग्रह मात्रै थियो। २०१४ सालमा मेरो किताबले पुरस्कार पायो। पहिलो पटक मेरो टिपनटापन काम लाग्यो। आजको लोकसाहित्यको आधार नै त्यही टिपनटापन हो भन्ने मलाई लाग्छ।

२०१५ सालको निर्वाचनपछि नेपाली कांग्रेसको सरकारले ‘पुरातत्व र संस्कृति विभाग’ नामक अड्डा खडा ग¥यो। २०१६ सालमा उक्त विभागको डाइरेक्टर मलाई बनाइयो। मैले पुरातत्व शब्द सुनेकै थिइनँ। वीर पुस्तकालय पनि त्यसै अड्डाअन्तर्गत पर्दो रहेछ। त्यहाँ माटाको भाँडामा पुराना मुद्रा संकलन गरेर राखेको रहेछ। मैले पाँचौं शताब्दीका राजा मानदेवको मानाङ्क मुद्रादेखि राजा महेन्द्रको पालाका मुद्राको इतिहास समेटेर किताब निकालेँ। यसले पनि २०१९ सालमा मदन पुरस्कार पायो। दोस्रो पटक मेरो टिपनटापन काम लाग्यो।

२०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञको रूपमा नियुक्त भएँ। नयाँ काम गर्ने उत्साह छँदै थियो। नेपाली भाषाको व्युत्पत्ति थलो कर्णाली अञ्चलको सिन्जा उपत्यकामा गएर भाषा र संस्कृतिमाथि अनुसन्धान गर्ने प्रस्ताव सुनाउँदा सबैले खिल्ली उडाए। स्वाभाविक पनि थियो, त्यहाँ पुग्न मात्रै महिनौं लाग्थ्यो।

त्यसपछि विहारीकृष्ण श्रेष्ठ, चुडामणि बन्धु, स्थिरजंगबहादुर सिंह र प्रदीप रिमाल रहेको समूह बनाएँ। हामीले २०२७ सालमा करिब ६ महिना सिन्जामा बसेर अनुसन्धान गर्‍यो। कर्णाली लोकसंस्कृतिअन्तर्गत पाँच खण्डमा इतिहास, भौगोलिक दृष्टिकोण, जनजीवन, भाषा, साहित्य संगीत र कलानामक पाँच कृति प्रकाशित गर्‍यौं। पछि यी पाँचै कृतिले २०२८ सालमा मदन पुरस्कार पाए। तेस्रो पटक पनि मेरो टिपनटापन काम लाग्यो।

यिनै कृति र अनुसन्धानका आधारमा मलाई काठमाडौ विश्वविद्यालयले महाविद्यावारिधि उपाधि दियो। त्रिमूर्ति निकेतनको पहलमा नेपाल सरकारले मलाई ‘वाङ्मय शताब्दी पुरुष’ उपाधिले पनि सम्मान गरेको छ। भाइबहिनीहरू, तिमीहरू पनि काम लाग्ने कुरा टिपनटापन गर्ने बानी बसाल्नु ल।

तिमीहरूलाई माया गर्ने 

सत्यमोहन जोशी

(संस्कृतिविद् जोशीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2