MENU

थोमस अल्बा एडिसन : आविष्कारको अर्को नाम

patan-college

नरेन्द्रकुमार नगरकोटी आइतवार, पुस २३, २०७४ 1332 पटक पढिएको

Share This

635-x-85

प्रेरक व्यक्तित्व

नानीबाबुहरू,

‘तिमी फेल भयौ’ भनेर कसैले भनेको छ ? तिमीले चाहेजस्तो काम हुन नसकेको पनि छ ? आफूले एक चित्तले गरिरहेको काममा अभिभावक वा शिक्षकको चित्त नबुझेर काम नै छाड्नुपरेको पनि छ कि ! सम्झ त, तिमीले सुरु गरेको कुनै काममा एक दुईपल्ट सफल भएनौ भने के गर्छौ ? हिसाब गर्दा मिलेन भने तिमीहरू के गर्छौ ? कुनै परीक्षण गर्दागर्दै सामग्री नै बिग्रियो भने के गर्छौ ? अझै सोच त, के तिमी एक हजार पल्टसम्म एउटै कामलाई सफल पार्न निरन्तर लागिरहन सक्छौ र ?

आज एक जना यस्तो व्यक्ति आफ्नो कथा भन्न खोजिरहेका छन् जसले असफलताबाट कहिल्यै हार खाएनन्। अनि कहिले निरास पनि भएनन्। सुरु गरेको काम बनेन भनेर काम गर्न छाडेनन्। बरु फरकफरक तरिकाले काम गरिरहे। ती अथक व्यक्ति हुन् थोमस अल्बा एडिसन।

भाइबहिनीहरू,

मेरो नाम थोमस हो। सन् १८४७ फेब्रुअरी ११ मा अमेरिकाको ओहियो सहरमा मेरो जन्म भयो। आमा न्यान्सी म्याथ्यु इलियट र बा स्यामुएल ओग्डेन एडिसनको म सातौं र कान्छो छोरो हुँ। म सानैदखि जिज्ञासु स्वभावको थिएँ। जिज्ञासु त तिमीहरू पनि छौ नि हैन त !

स्कुलमा भने मलाई ‘गोबर’ नै भन्थे। यसले केही सिक्न सक्दैन भन्थे। ढिलो काम गर्ने भएर लाटो पनि भन्थे। ज्वरो आएको कारण म कान कम सुन्ने भएको थिएँ। यसले गर्दा पनि मलाई समस्या हुन्थ्यो। स्कुल जानु मेरो लागि राम्रो भएन। त्यसैले म त्यस्तै तीन महिना जति मात्र स्कुल गएँ। मेरो अध्ययनको बाँकी जिम्मा मेरी आमाले लिनुभयो। घरमै पढ्न, लेख्न सिकेँ। गणित, विज्ञानका आधारभूत कुरा जानेँ। आमाको सहयोगमा मैले नाम चलेका लेखकका धेरै पुस्तकहरू पढेँ। कत्ति पुस्तक त आमाले पढेरै सुनाउनुहुन्थ्यो। यसरी मेरो पढाइ स्वअध्ययनमै आधारित हुन थाल्यो। धेरै पुस्तक पढ्ने बानीले मलाई ज्ञान र विज्ञानप्रति अझै नजिक बनायो।

मेरी आमा त्यस समयको उत्कृष्ट शिक्षक हुनुहुन्थ्यो। मैले आमाबाट नै आजको थोमस बन्ने साथ र प्रेरणा पाएको हुँ। म आज जे छु यसको श्रेय मेरी प्यारी आमालाई जान्छ। घरमै रासायनिक प्रयोगशाला बनाउन सघाउने मेरी आमाप्रति म नतमस्तक छु। स्कुलको वातावरणमा हुर्किन कठिनाइ हुँदा आमाले साथ नदिनुभएको भए म केही गर्न सक्दिनथेँ जस्तो लाग्छ।

त्यसो त प्रतिभा भनेको मेहनतले नै खारिने हो। प्रतिभाशाली हुन एक प्रतिशत प्रेरणा र ९९ प्रतिशत परि श्रम चाहिन्छ। लगावले मानिसलाई अघि बढाउँछ। मैले पनि १२ वर्षको छँदा नै रेलमा पत्रिका बेच्ने काम गरेँ। यसबाट मैले व्यवसाय कसरी गर्ने भनेर सिकेँ। मेरो रुचि वैज्ञानिक आविष्कार गर्नु थियो। मैले त्यसमा पसिना बगाएँ। यसैबाट व्यावसायिक काम अघि बढाएँ। आफ्नो रुचिलाई व्यावसायिक बनाउन सक्दा आनन्दपूर्वक काम गर्न सकिने रहेछ।

बल्ब छ नि, तपाईंहरू बिजुली बत्तीको चिम पनि भन्नुहुन्छ होला। अहिले तपाईंले ट्याक्क स्विच थिच्दा झलल्ल बल्छ। हो, त्यसको आविष्कार त हजारौं पल्टको प्रयासपछि मात्र सफल भयो। म र मेरा रिसर्च गर्ने साथीहरू मिलेर झन्डै तीन हजारवटा डिजाइन परीक्षण ग¥यौं। मैले भन्ने गरेको छु, म हजारौंपल्ट फेल भएको होइन। यो बल्बको आविष्कार हजारौं चरणको आविष्कार हो।

म दिनको चार घन्टा मात्र सुत्थेँ। कुनै परीक्षण सक्किन लागेको छ भने त ७२ घन्टासम्म पनि निरन्तर काम गर्थें। प्रायः ‘वर्कसप’मा नै १८ घन्टासम्म बिताउँथेँ। फोनोग्राफ, मोसन पिक्चर क्यामेरा, इलेक्ट्रिक बल्बलगायत मैले एक हजारभन्दा धेरै आविष्कार गर्न सकेँ। अमेरिकामा मात्र १०९३ आविष्कारको ‘पेटेन्ट’ मेरो नाममा छ। बेलायत, फ्रान्स र जर्मनीमा पनि मेरो नाममा ‘पेटेन्ट’ छन्। म २१ वर्षको हुँदा मैले बनाएको भोट रेकर्डिङ मेसिनले पाएको ‘पेटेन्ट’ मेरो पहिलो सफलता थियो। मैले मेन्लो पार्कमा औद्योगिक अध्ययनका लागि पहिलो प्रयोगशाला स्थापना गरेको थिएँ। आविष्कारबाट भएको अधिकांश कमाइ मैले प्रयोगशाला बनाउन र आविष्कारकै काममा खर्च गरेँ।

भाइबहिनीहरूलाई कत्ति धेरै कथा सुनाउन मन थियो। तर आजलाई यत्ति।

०००

थोमस अल्बा एडिसन आविष्कारको अर्को नाम हो। ‘म फेल भएको होइन, काम नलाग्ने हजार बाटाहरू पत्ता लगाएको हुँ’ भन्ने उनको १९३१ अक्टोबर १८ मा ८४ वर्षको उमेरमा निधन भयो।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2