MENU

छाउविरुद्ध जागरण

patan-college

अन्नपूर्ण बुधवार, पुस २६, २०७४ 351 पटक पढिएको

Share This

635-x-85

महिनावारीजस्तो नियमित र सामान्य शारीरिक प्रक्रियाबारे समाजमा रहेको अन्धविश्वासकै कारण किशोरी र युवतीहरूले बारम्बार ज्यान गुमाउनु दुःखद हो। सुदूरपश्चिमको अछाममा ‘छाउगोठ’ मा सुतेकी एक युवतीको आइतबार भएको मृत्युले ‘छाउपडी’ र ‘छुई’ लगायतका अन्य विभेदी प्रथाहरू निर्मूल पार्न भएका सरकारी प्रयास अझै निस्प्रभावी रहेको बुझिन्छ। ‘छाउगोठ’ महिनावारी (छाउ) भएका महिलालाई राख्न बनाइएको सानो गोठ हो।

विज्ञान र मानव ज्ञानले संसारमा अकल्पनीय परिवर्तन गरिसकेको आजको समयमा पनि मान्छेलाई जनावर झैं व्यवहार गरिने यस्तै कुप्रथाका कारण संसारमा हाम्रो दुर्नाम भइरहेको छ। दुई वर्षपहिले नै सरकारी अगुवाइमा ‘छाउगोठमुक्त’ घोषणा गरिएको अछामको भैरवस्थानलगायतका ठाउँमा छाउपडी प्रथा नहट्नुले यो कुप्रथाले पश्चिम नेपालको समाजमा डरलाग्दोसँग जरो गाडेर बसेको बुझिन्छ। गत जेठ र साउनमा छाउगोठ बस्दा सर्पको टोकाइका कारण एक किशोरी र अर्की युवतीले ज्यान गुमाएका थिए। ‘छाउ नबार्दा देउता रिसाउलान्’ भनेर छाउ बार्नेहरूलाई सम्झाउन त कठिन छँदैछ, यस भेगका शिक्षित मान्छेसमेत सामाजिक बहिस्कारको डरले महिनावारीका बेला आफ्ना किशोरी छोरीहरूलाई गाईवस्तुको गोठ या छाउगोठमा बस्न बाध्य पार्छन्।

संसारभर महिलाहरू ‘जोखिम’ मा छन्, किशोरीहरू झन् जोखिममा। दक्षिण एसियाका मुलुक र त्यो पनि कम जागरण र शिक्षा भएको पश्चिम नेपालमा छाउ र छुई मात्रै होइन, सबैखाले अन्धविश्वासका कारण महिला, किशोरी र बालबच्चा सबैभन्दा उच्च जोखिममा छन्। छाउगोठमा बस्दा निसास्सिएर अनि सर्पको टोकाइ र चिसोले मर्ने त छँदैछ, यदाकदा ती युवती र किशोरी बलात्कारको जोखिममा समेत पर्छन्। कहिलेकाहीं प्रहरी र प्रशासनको साथमा तामझामयुक्त कार्यक्रम गरेर गैरसरकारी संस्थाले छाउगोठ त भत्काउँछन्, तर आम मान्छेको अन्धविश्वास भत्काउन नसक्दा प्रतिरोध र प्रश्न गर्न नसक्ने महिला र किशोरीहरू बारम्बार पीडित बन्न बाध्य छन्।

पश्चिम नेपालको ‘छाउ अन्धविश्वास’ पश्चिममा मात्र सीमित छैन, धेरै नेपालीका घर र भान्छासम्म जोडिएको छ। किनकि अहिले पनि ‘भगवान्’ रिसाउने वा परम्परा छोड्न नहुने नाममा ‘छुई’ बार्ने चलन धेरैजसो आर्य समाजमा विद्यमान छ। कतिसम्म भने विदेशी अत्तर लगाएर बेलुकी बारमा गएर विदेशी रक्सी खाने ‘सहरीया परिवार’ मा समेत छुईजस्तो कुरीति अझै जारी छ। पश्चिम नेपालमा ‘मरे पनि मरिन्छ, छाउ त बार्नुपर्छ’ भन्छन्, बाँकी भागमा परम्परा र प्रथाका नाममा यो विभेद जारी छ। छाउ बार्दा हुने गरेका सबै ‘हत्या’ प्रहरी–प्रशासनसामु पुग्दैनन्। अवस्था कति डरलाग्दो छ भने छाउगोठमा हुने बलात्कारलगायतका कतिपय मुद्दा गाउँकै अगुवाले मिलापत्रमै टुंग्याइदिन्छन्।

प्रकृतिले सम्भावित गर्भावस्थाको तयारीका लागि निर्माण गरेको ‘हर्मोनजन्य’ प्रक्रिया र प्रतिक्रियाको नाम हो महिनावारी। तर यति स्वाभाविक र पवित्र प्रक्रियाका लागि किशोरी र महिलालाई ‘दोषी’ र ‘पापी’ करार गर्दै उनीहरूलाई बेग्लै राख्नु, छोइछिटो गर्नु गम्भीर अपराध हो। छाउपडी भत्के पनि गोठमा छाउपडी कायम राख्नु, गोठ नरहे पनि बरन्डामा छाउपडी रहनुले कठोर कानुनी व्यवस्था र प्रभावकारी शिक्षा र जागरणले मात्र यो हट्न सम्भव देखिन्छ। महिनावारी हुँदा हर्मोनको उतारचढावका कारण मानसिक तनाव बढ्छ।

बरु यस्तो अवस्थामा आफ्ना दिदीबहिनी तथा भाउजू–पत्नीलाई हरिया सागपात, ताजा फलफूल र कालो चकलेटजस्ता खाद्य खुवाएर ‘छुई’ मा सहयोग गर्नु आवश्यक हुन्छ। महिनावारीको समयमा यस्तो खाद्यले हर्मोनजन्य असन्तुलन हटाउने पोषणविद्हरूको राय छ। नियमित रूपमा महिनावारी स्वस्थ जीवनको संकेत पनि हो। पश्चिमा समाजमा ‘ह्याप्पी पिरियड’ भन्दै महिनावारीमाथि गर्व गर्ने चलन छ। त्यसैलाई आधार मानेर आफन्तको महिनावारीमा खासगरी युवापुस्ताले ‘शुभ महिनावारी’ भन्दै उत्सवका रूपमा त्यसलाई मनाउन थाले छाउ र छुईजन्य गलत धारणा समाजबाट हटाउन झनै सहज हुने थियो।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2