MENU

रियल म्याड्रिड क्वार्टरफाइनलमा

patan-college

एजेन्सी शुक्रवार, पुस २८, २०७४ 584 पटक पढिएको

Share This

635-x-85

म्याड्रिड : जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रिक्वार्टरफाइनलको बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा दोस्रो डिभिजनको क्लब नुमान्सियासँग २-२ को बराबरीमा रोकिए पनि रियल कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो।

प्रतियोगिताको पहिलो लेग खेलमा ३-० ले विजयी भएका कारण रियल ५-२ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्न सफल भयो। घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा नुमान्सियाले रियललाई सुरुदेखि नै दबाबमा राखेको थियो। दोस्रो लेग खेलमा रियलले आफ्ना अधिकांश दोस्रो रोजाइका खेलाडीलाई नै मैदानमा उतारेको थियो।

घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा प्रशिक्षक जिनेदिन जिदानको टोलीका लागि ११औं मिनेटमा लुकास भासक्वेजले पहिलो गोल गरेका थिए। पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि नुमान्सियाका लागि गुइलेर्मोले जवाफी गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो। यसैगरी ५९औं मिनेटमा भासक्वेजले नै रियललाई पुनः २-१ को अग्रता दिलाएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि गुइलेर्मोले नै पुनः जवाफी गोल फर्काएका थिए।

यसैगरी इतिहास रच्दै लेगानेस पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। ८९ वर्षको इतिहासमा लेगानेस पहिलो पटक कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको हो। दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी भिल्लारियलसँग उसैको मैदानमा २-१ गोलले पराजित भए पनि लेगानेस अगाडि बढ्न सफल भयो। दुवै लेग खेलको नतिजा २-२ को बराबरी भएपछि लेगानेस ‘अवे गोल’ का आधारमा अगाडि बढेको हो। यसअघि घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा लेगानेस १-० गोलले विजयी भएको थियो। यसैगरी गत वर्षको उपविजेता आल्भेस पनि क्वार्टरफाइनलमा पुग्न सफल भयो।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2