MENU

थ्री स्टारलाई जिल्याउँदै आर्मी सेमिफाइनलमा

patan-college

शिवराज भट्ट शुक्रवार, पुस २८, २०७४ 593 पटक पढिएको

Share This

635-x-85

सुदूरपश्चिम खप्तड गोल्डकप

 

धनगढी : राष्ट्रिय टोलीका खेलाडीले भरिएको थ्री स्टार क्लबलाई जिल्याउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको खेलमा आर्मीले थ्री स्टारलाई २-१ गोलले हरायो। थ्री स्टारले झापा-११ लाई ३-१ गोलले हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो। थ्री स्टारविरुद्ध सशक्त प्रदर्शन गरेको आर्मीले फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी र अग्नि रूपन्देही-११ बीचको विजेतासँग खेल्नेछ।

आर्मीले खेलको सुरुआतमै खाता खोलेको थियो। छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा १-० ले अगाडि रहेको आर्मीका लागि ४९औं मिनेटमा सुमन अर्यालले गोल गर्दै अग्रता दोब्बर बनाए। तर, त्यसको चार मिनेटपछि थ्री स्टारले एक गोल फर्काएको थियो। दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको थ्री स्टारले लगातार गोलको मौका बनाएर पनि थप गोल फर्काउन सकेन। १४ महिनापछि फुटबलमा फर्किएको थ्री स्टारलाई आर्मीको रक्षा पंक्तिले निस्तेज बनायो।

आर्मीका कप्तान भरत खवास म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले मौसमका कारण शतप्रतिशत खेल्न नसके पनि जित निकालेकोमा खुसी व्यक्त गरे। ‘मैदानको अनुभव नभएकाले सुरुमा राम्रो खेल्न सकेनौं। दोस्रो हाफमा थ्री स्टारले गर या मरको अवस्थामा दबाब दियो। हाम्रो रक्षापंक्तिले गोल बचाउने गरी खेल्यो। थ्री स्टारजस्तो बलियो टोलीलाई रोक्न सक्नु ठूलो कुरा हो’, न्यौपानेले भने।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले रक्षकको गल्तीले सुरुआतमै गोल खाँदा हार खेप्न बाध्य भएको बताए। ‘खेलको अन्त्यतिर गोल गर्ने मौका चुकाउनु अर्को गल्ती भयो। सामान्य गल्तीले दुई गोल खाएपछि खेलमा फर्कन गाह्रो भयो। दोस्रो हाफमा राम्रो फुटबल त खेल्यौं, गोल भएन’, केसीले भने।

शुक्रबार मनाङ र रूपन्देहीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2