MENU

शौक, शायरी र मुशायरा

patan-college

- सुरेन्द्र काफ्ले शुक्रवार, पुस २८, २०७४ 347 पटक पढिएको

Share This

635-x-85

 

कोइ दामन से हवा देता है क्या
फिर भड्क उठा है शीला कुछ तो है
शौक साब इम्तिहाँ माना नही
मुस्किलो मे खुल के हँस्ना कुछ तो हैं।

८० वर्षमा टेके अब्दुल लतिफ शौक। तर गजल, शायरी गुन्गुनाउने मुशायरा कार्यक्रम सुन्नेबित्तिकै कुदिहाल्छन् उनी। अहिले पनि उनी निरन्तर साहित्य सिर्जनामा क्रियाशील छन्। नेपालगन्जको सुन कालिगढको परिवारमा १९९५ सालमा जन्मिएका उनले २००९ सालदेखि गजल लेख्न थालेका हुन्। यस बीचमा शौकको जीवनमा निकै आरोहअवरोह आए तर उनको गजल लेख्ने सोख भने अझै हराएको छैन। उनको कलम दौडिरहेको छ निरन्तर।

शौकले कति गजल लेखे, मन नपरेर च्याते, फाले। त्यसको गन्ती नै छैन। तर, चुनिन्दा करिब तीन सयभन्दा बढी गजल समेटिएको दुईवटा डायरी नै हरायो उनको। उनी भन्छन्, ‘पाण्डुलिपि हराएपछि छोराछोरी हराएझैं लाग्यो।’ उनी आफूमात्रै लेख्दैनन्, अरूलाई लेख्न प्रेरणा पनि दिन्छन्। उनले २०३३ सालदेखि हालसम्म अनवरत रूपमा गुल्जार ए अदबको अध्यक्षका रूपमा नेतृत्व प्रदान गर्दै आएका छन्। चार दशकदेखि गुल्जार ए अदबमार्फत नियमित मासिक गजल गोष्ठी गर्दै आएका छन्।

यसबाहेक भेरी साहित्य समाजको केन्द्रीय उपाध्यक्ष, मध्यपश्चिम गजल प्रतिष्ठानको अध्यक्ष रहँदै संघसंस्थाका माध्यमबाट पनि भाषा साहित्यको सेवा गर्दै आएका छन् उनले। उनी नेपालमा मात्रै होइन, भारतमा हुने अधिकांश कवि गोष्ठीमा पनि सहभागी हुने गरेका छन्। बहुभाषिक कवि गोष्ठीदेखि बेलाबेलामा मुशायरासमेत आफैं सञ्चालन गर्दै आएका छन्। शौक नेपालमा मात्र नभएर भारतको बहराइच, कानपुरदेखि लखनउसम्म चर्चित छन्। मुशायरामा उनलाई अत्यन्त सम्मानका साथ हेर्ने गरिन्छ। उनी उर्दु साहित्यका धरोहर हुन्।

अब्दुल लतिफ शौकले चार दशकदेखि ‘गुल्जार ए अदब’ मार्फत नियमित मासिक गजल गोष्ठी गर्दै आएका छन्।

 

भारतीय साहित्यकार सारिक रब्बानीले शौकको गजलको भारतमा चर्चा हुने गरेको बताउँछन्। उनले भने, ‘भारतमा हुने ठूल्ठूला मुशायरा र गजल गोष्ठीमा शौकको शायरीको प्रशंसा हुने गरेको छ। उहाँ नेपालको मात्र होइन, भारतको पनि सम्मानित शायर हो।’

प्रायः उर्दु भाषामा कलम चलाउने साहित्यकार शौकले ‘महकते जखम’, ‘मताए शौक’, ‘लब्जो के मोती’ र ‘शिसकने की सदाहा’ गरी हालसम्म चारवटा गजलसंग्रह प्रकाशित गरिसकेका छन्। अहिले पनि शौकको डायरीमा ४०÷५० वटा हस्तलिखित गजल छन्। ती नहराऊन् भनेर सिरानीमै राख्छन्। ‘म नमरुन्जेल मेरो लेखन मर्दैन’, गजलकार शौक भन्छन्।

शौकका अनुसार आफू मात्रै होइन, भेरी साहित्य समाजका केन्द्रीय सदस्य मुस्तुफा अहसन कुरेसी लगायतको निरन्तरताले पनि उर्दु शायरहरूको मनोबल उच्च राख्न सहयोग मिलेको छ। कुरेसीले आर्थिक अभावमा धेरै उर्दु साहित्यकारको कृति घरमा नै थन्किरहेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सभा सदस्य हरिप्रसाद तिमिल्सिना शौक मुलुककै अग्रणी गजलकार रहेको बताउँछन्। शौकका गजलमा देशभक्तिको भावना, सामाजिक विसंगतिप्रति व्यंग्य, शान्ति, सामाजिक सद्भाव र निम्न वर्गप्रतिको सहानुभूति पाइने गरेको तिमिल्सिनाको ठहर छ।

तिमिल्सिनाले उर्दु साहित्यका हस्ती शौकलाई हालै भएको नेपाल प्रज्ञा प्रतिष्ठानको ३२औं प्रज्ञा सभाले एक लाख राशिको प्रज्ञा मातृभाषा पुरस्कारबाट पुरस्कृत गरेको जानकारी दिए। ८० वर्षको उमेरमा बल्ल शौक पहिलोपटक राज्यबाट सम्मानित भएका हुन्। पुरस्कार पाएपछि खुसी हँदै उनले साहित्यकारको मनोबल बढाउन सम्मानले भरथेग गर्ने बताए। बिदाइमा उनी गुन्गुनाए,
मै तंग आ गया हुँ सवालो के जवाफो से
मर भी गया तो कब्रमे फुर्सद नही मिली
अच्छा हुवा की बचके चले आए शौक तु
रस्ते मे तुमको कोई कयामत नही मिली।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2