MENU

‘जालगेडी’ फिल्ममा कर्णाली जीवन

patan-college

कृष्णराज सर्वहारी शुक्रवार, पुस २८, २०७४ 1162 पटक पढिएको

Share This

635-x-85

‘कालोपोथी’ चर्चित भएपछि मीन भाम छोटा सिनेमा र डकेमेन्ट्रीका पर्याय भएका छन्। आफ्नै गाउँठाउँका जनजीवन पस्किन्छन् उनी। मीनलाई सहायक निर्देशकको रूपमा सघाउँदै निर्देशकको रूपमा उदाएका छन् उनकै भतिजा राजेशप्रसाद खत्री (३०)।

काका मीनसँग थुप्रै छोटा सिनेमामा काम गरिसकेपछि राजेशले पनि आफ्नै निर्देशनमा छोटो सिनेमा बनाउने योजना बुने। कथासहितको योजना काका मीनलाई सुनाउँदा काकाले उनको योजनामा पानी हालिदिए। हौस्याउनुको साटो निराश पार्दै काकाले भने, ‘यसका लागि त पूरै घरबार त्याग्न सक्नुपर्छ। जोगीझैं फिरन्ता हुन सक्नुपर्छ। दुई दिनको रामछाया होइन सिनेमा। तिमीमा त्यो आँट देख्या छैन मैले। त्यसैले सिनेमा बनाउने सपना छोड्देऊ भो।’

काकाले किन त्यसो भनेका होलान्। राजेशले धेरै दिन गम खाए। तर, भित्री मनले उनलाई सिनेमा बनाउन उचालिरह्यो। अन्ततः उनले ‘जालगेडी’ नामक १४ मिनेटको छोटो सिनेमा बनाए। सम्पादनसहितको काम सकिएपछि काका मीनलाई देखाए। मीन उनको काम देखेर चकित परे। उनलाई लाग्यो, अब भने केही गर्छ यो भतिजले। अन्ततः ‘जालगेडी’ बनाउन साढे सात लाख खर्च भएकोमा साढे तीन लाखको जोहो मीनले नै गरिदिए। ‘जालगेडी’लाई विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पुर्‍याउन सहयोग गरे। कोरियामा भएको बुसान चलचित्र महोत्सवमा ‘जालगेडी’ उत्कृष्ट टप टेनमा परेको छ। हालैको पन्ध्रौं काठमाडौं किम्फ महोत्सवमा छोटो चलचित्रको उत्कृष्ट पुरस्कार पनि यही ‘जालगेडी’ ले हात पार्‍यो।

पन्ध्रौं काठमाडौं किम्फ महोत्सवमा ‘जालगेडी’ले छोटो चलचित्रको उत्कृष्ट पुरस्कार हात पार्‍यो। कर्णालीको जीवनशैली नै ‘जालगेडी’को मुख्य कन्टेन्ट हो।

‘जालगेडी’को सफलतासम्म आइपुग्न राजेशले धेरै पापड पेलेका छन्। उनी सन् २००८ मा कर्णाली नाट्य समूहमा आबद्ध भए। सोही कर्णाली नाट्य समूह र कर्णाली कला केन्द्रले गुरुकुलको सहआयोजनामा काठमाडौंको नाटक महोत्सवमा ‘कर्णाली दख्खिन बग्दो छ’ नाटक मञ्चन गर्‍यो। निर्देशक थिए, सुनील पोख्रेल। उक्त नाटकमा राजेशले सानो बच्चादेखि स्थानीय बासिन्दा, धामीझाँक्रीसम्मको भूमिका निभाए। सो नाटक बनाउज ४५ दिनको तालिमले उनमा जोस भरियो। ‘कर्णाली दख्खिन बग्दो छ’ नाटकको टिम लिडर मीन भाम थिए। सो नाटकको सफल मञ्चनपछि राजेशको नेतृत्वमा सन् २०१० ‘सुइना कर्णाली’ नाटक काठमाडौं नाटक महोत्सवमा मञ्चन भयो। उनले यसमा सहायक निर्देशकको काम पनि गरे।

पुरानो बानेश्वरको गुरुकुल नाटक घर उजाडिएपछि राजेश पनि उक्लिए कर्णाली। श्रीमती अनि दुई छोराको जिम्मेवारी पनि काँधमा थियो। उनले थियटर सपना त्यागेर मुगुमा शिक्षक सेवाको तयारीमा लागे। २०७१ सालमा स्थायी शिक्षकमा नाम पनि निकाले, उनले। साना भुराभुरीलाई साउँ अक्षर चिनाउँदे उनको दिन बित्न थाल्यो। दिमागमा नाटक, सिनेमाको भूत भने सवारै थियो। कसले पो निकाली देला मलाई यो गहिरो खाडलबाट, उनलाई यस्तो लाग्थ्यो। किनकि नाटक, सिनेमासँग जोडिन नपाउँदाको हुटहुटीले उनलाई एक प्रकारको डिप्रेसन हुन थालेको थियो। अन्ततः उनी ‘कालो पोथी’ सिनेमामा प्रोडक्सन म्यानेजर भए। ‘कालो पोथी’को सफलताले उनलाई पुनः गुरुकुलमा नाटक गर्दाको ऊर्जा प्राप्त भयो। त्यही ऊर्जाले ‘जालगेडी’ बनाउने पृष्ठभूमि तयार भयो।

सुरुमा काका मीन भामले नपत्याउँदा आफैंले हेर्नको लागि भए पनि सिनेमा बनाउँछु भन्ने लागेका राजेशको ‘जालगेडी’ अहिले अन्तर्राष्ट्रिय बजारको फड्को मार्दैछ। कोरियाको बुसान फिल्म फेस्टिभलको टप टेनमा परेको यो ‘एकादेश’ र ‘फ्रिभग’ फिल्म फेस्टिभलमा सहभागी भइसक्यो। ‘बर्लिन’ फिल्म फेस्टिभलमा पनि सहभागिताको लागि एप्लाई गरिएको छ। र, यो सबैको व्यवस्थापन मीनले नै गरिदिएका छन्। निर्देशक राजेश भन्छन्, ‘जालगेडी बनाउनु अघि र बनाइसकेपछि काका मीनले मलाई हेर्ने दृष्टिकोण पूरै परिवर्तन भएको छ। म उहाँको जाँचको ट्रायलमा पास भएको छु।’

राजेशको घर मुगुको भामबाडा हो, जहाँ मुगु सदरमुकाम गमगढीबाट मात्र १५ मिनेटमा पुगिन्छ। उनले पहिले पढाएको स्कुल लुम गाउँ, जहाँ उनले ‘जालगेडी’को छायांकन गरे, त्यहाँ पुग्न सदरमुकामबाट दुई घण्टा मार्चपास गर्नुपर्छ। अहिले उनी बौद्धिष्ट, क्षेत्र उच्च हिमाली भेगको स्कुलमा पढाउँछन्, त्यहा पुग्न सदरमुकामबाट पूरै दुई दिन हिँड्नुपर्छ।

सितिमिति मान्छे उक्लिँदैन हिमाल। त्यसैले, हिमालको मैलिक कथा क्यामरामा कैद गरेर नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छन्, राजेश। उनी भन्छन्, ‘अहिले छोटा चलचित्रमा हात हालेको छु तर अन्तिममा जाने त फिचर फिल्म नै हो।’

जालगेडी’ र ‘चम्फा’

‘जालगेडी’मा कुइरे पर्यटक गाउँ आउँदा स्कुले केटाकेटी स्कुल सुनसान पारेर अनि गोठाला केटाकेटी गोरु हेर्न छोडेर कुइरे हेर्न दौडिन्छन्। त्यही क्रममा गोरु हेर्न नसक्दा जालगेडी (शर्मिला खड्का) को गोरु भीरबाट लड्छ। त्यही गोरु रुंगेर उनी राति अबेरसम्म टोलाएर बस्छिन्। गाउँलेहरू राँको बालेर खोज्न जान्छन्। संघसंस्थाको विकृति कसरी गाउँ पस्दैछ र गाउँलेहरूलाई आफ्नै ढंगले गरिरहेको काममा अल्मल्याउँदै छ भन्ने देखाउन खोजेका छन् निर्देशकले।

अर्को २० मिनेटको छोटो सिनेमा ‘चम्फा’को पनि पूरै पटकथा तयार पारेका छन् राजेशले। छायांकनको काम मात्रै बाँकी छ। विवाहमा मनोरञ्जनको रूपमा गुडिया नचाइन्छ। गुडिया गीतका तालमा नाच्छ। बालविवाहको विषय उठाइएको यसमा महिलालाई गुडियाको रूपमा अथ्र्याइएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2